संसदीय सुनुवाईमा उपस्थित हुन ट्रम्पलाई निम्तो

अमेरिकी सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुनुवाईका लागि बोलाएको छ । ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सदनले उनलाई पहिलो पटक सुनुवाईका लागि बोलाएको छ ।
सदनले ट्रम्पलाई सुनुवाईका लागि संसदीय समितिमा डिसेम्बर ४ (मंसिर १८ गते बुधबार) उपस्थित हुन भनेको छ।
तल्लो सदनको न्यायीक समितिका डेमोक्र्याटिक अध्यक्ष जेरोल्ड नाडलरले ‘राष्ट्रपति ट्रम्पलाई सुनुवाईमा उपस्थित हुन वा अनुसन्धानको प्रक्रियाबारे गुनासो गर्न छोड्न’ भनिएको बताएका छन् ।
ट्रम्प सुनुवाईमा उपस्थित भएमा उनले बयानका लागि आएकाहरुसँग प्रश्न गर्न पाउने छन्।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ। त्यसकै लागि अनुसन्धान भइरहेको हो । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन्।
राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।
जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।
यसअघि संघीय अदालतका न्यायाधीशले ह्वाइट हाउसका अधिकारीले संसद समक्ष बयान दिनु पर्ने फैसला गरेका थिए । ट्रम्प प्रशासनका अधिकारीले भइरहेको अनुसन्धानमा सहयोग गरिरहेका थिएनन् ।
अदालतको निर्देशनात्मक आदेश विशेष रुपमा ह्वाइट हाउसका पूर्व काउन्सिल डन म्यागानमा लागु हुनेछ।
सन् २०१६ को चुनावमा रुसले दखल दिएको सम्बन्धमा भएको अनुसन्धानको क्रममा उनलाई सुनुवाईको लागि बोलाइएको थियो । अमेरिकी संसदले उनलाई गएको मे मा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो तर उनले अस्वीकार गरेका थिए ।
अब अदालतले निर्देशनात्मक आदेश जारी गरेपछि भने उनी उपस्थित हुनु पर्नेछ । तर अदालतको आदेश विरुद्ध अपिल गर्ने तयारी भएको न्याय विभागका प्रवक्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
सन् २०१८ को अक्टोबरमा पद छोडेका डनलाई गएको मेमा संसदको न्यायीक समितिले बयानका लागि बोलाएको थियो । सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा अनुसन्धान गरिरहेका विशेष काउन्सिल रोबर्ट मुलरलाई निष्कर्ष बिहीन प्रतिवेदन तयार पार्न दबाब दिएको भन्ने सम्बन्धी प्रश्नको जवाफ खोज्ने क्रममा न्यायीक समितिले बोलाएको थियो ।
गएको महिना न्यायीक समितिकै पहलमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान सुरु भएको छ । सुरुमा युक्रेनलाई दिएको दबाब कारक रहेको भए पनि अहिले सन् २०१६ को चुनाव पनि कारण बनेर आएको छ, ट्रम्पमाथिको महाअभियोग अनुसन्धानमा ।
ट्रम्पले सन् २०१६ को चुनावमा रुसले नभई युक्रेनले दखल दिएको भन्ने आधार हिन तथ्य स्थापित गर्न दबाब दिएको दाबी संसदीय समितिमा बयान दिएकाहरुले बताएका छन् ।