महिला अधिकारकर्मी बन्दना राणाासँग महिला हिंसाबारे अन्तर्वार्ता

‘हामी मुखले धेरै अगाडि छौँ, कामले धेरै पछाडि’

सिड कमिटिकी उपाध्यक्ष तथा अधिकारकर्मी बन्दना राणा । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – ‘गुनासो गर्न, भएन भन्न सजिलो छ। काम गर्न भने त्यति सजिलो छैन, गुनासो गर्न जस्तो सहज त पक्कै पनि छैन। आश लाग्दा काम भएका छन् र गर्व गर्ने आधारहरु पनि छन् धेरै हदसम्म।’

महिला अधिकार र महिलामाथि लैंगिक आधारमा हुने हिंसा न्यूनीकरणको प्रयासका सम्बन्धमा नेपालको अवस्थाबारे कुराकानी गर्ने क्रममा लामो समयदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशील रहेकी अधिकारकर्मी बन्दना राणाले बताएको सार हो यो।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) की उपाध्यक्ष हुन् बन्दना राणा। सिडमा रहेर काम गर्ने क्रममा विश्वका विभिन्न देशमा महिला अधिकार तथा उनीहरुमाथि हुने हिंसाको अवस्थाबारे नजिकबाट थाहा पाने अवसर पाएकी छन् राणाले। उनले ६० भन्दा बढी देशको अवस्थाको मूल्यांकन गर्ने मौका पनि पाएकी छन्।

महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्य गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सिडकी उपाध्यक्ष बन्दना राणा । तस्बिर : बर्षा शाह/देश सञ्चार

‘ती अधिकांश देश भन्दा नेपालको अवस्था धेरै राम्रो पाएँ र गर्व गर्न लायक लाग्यो’, अधिकारकर्मी राणाले भनिन् । संवैधानिक तथा कानूनी रुपमा अवस्था राम्रो रहे पनि ‘ग्राउण्ड रियालिटी’ भने त्यस अनुरुपको छैन।

‘महिला अधिकारको सुनिश्चितता र हिंसा न्यूनिकरणका लागि संवैधानिक–कानूनी आधारहरु छन्, तर त्यसको कार्यान्वयन अति न्यून छ र हाम्रो समस्या यही नै हो’, बन्दना राणाले आफ्नो अनुभव र मूल्यांकनको सार सुनाइन् ।

कार्यान्वयन मात्रै होइन, प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यसको अनुगमन पनि गर्ने हो भने महिला अधिकारी र उनीहरुमाथि हुने हिंसा अन्त्य गर्न कानूनी व्यवधान धेरै हदसम्म समाप्त भएको राणाले बताइन्।

बन्दना राणाले सिड कमिटिमा रहेर विश्वका ६० भन्दा बढी देशमा महिला अधिकार तथा हिंसा न्यूनिकरणका लागि भएका प्रयासहरु अध्ययन गरिकसेकी छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

‘यसका लागि व्यवस्थाहरुबारे थाहा दिइनु पर्छ, बोल्ने वातावरण बनाइनु पर्छ र भएको व्यवस्था प्रयोग गरेर मैले न्याय पाउँछु भन्ने विश्वास हिंसा प्रभावितहरुमा स्थापित गर्न सक्नु पर्छ’, राणाले भनिन्, ‘अनि मात्रै हिंसा रहित नेपाली समाजको कल्पना सम्भव हुन्छ। यसका लागि सबैभन्दा बढी स्थानीय तहका प्रतिनिधि तथा स्थानीय सरकारका सरोकारवालाहरुलाई जानकार गराइनु पर्छ।’

सिड उपाध्यक्ष बन्दना राणासँग महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर हामीले गरेको कुराकानीको सार हो यो।

प्रस्तुत छ, अधिकारकर्मी बन्दना राणासँग देश सञ्चारका टंक ढकालले गरेको विस्तृत भिडियो कुराकानीः

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्