प्रधानमन्त्री ओलीलाई भेट्न उपसभामुख तुम्बाहाम्फे अस्पतालमा

शिवमाया तुम्बाहाम्फे। फाइल तस्बिर।

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा स्वास्थ्य लाभको कामनाका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फे अस्पताल गएकी छन् ।

उपसभामुख तुम्बाहाम्फे प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामनाका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएकी हुन् ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको छ । स्वास्थ्यमा सुधार आउँदै गएपछि प्रधानमन्त्री ओलीलाई दिइएको ‘लाइफ सर्पोट सिस्टम’ क्रमिक रुपमा कम गर्दै लगिएको डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै प्रेस संयोजक सूर्य थापाले भने, ‘प्रधानमन्त्री ज्यूलाई सावधानीका लागि भेन्टिलेटरमा राखिएको हो । अहिले उहाँको स्वास्थ्यमा हिजो भन्दा धेरै सुधार आएको छ । उहाँलाई दिइएका लाइफ सपोर्टहरु क्रमिक रुपमा हटाउँदै लगिएको छ ।’

स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको छ।

मंसिर ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्