हुम्ला टिपर दुर्घटनाः क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले शव बुझे

सिमकोट ७ को लाग्ना खोलामा दुर्घटना भएको टिपर। तस्बिर: राजन रावत/देश सञ्चार

सिमकोट-बुधबार हुम्लामा भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेका आफन्त र  टिपर मालिकबीच क्षतिपूर्ति दिने सहमति भएको छ। टिपर मालिकले मृतकका आफन्तहरुलाई साढे तीन लाख रुपैयाँ क्षतिपूर्ति  पचास हजार किरिया खर्च दिने सहमतिपछि मृतकका आफन्तले शव बुझेका छन्।

नेपाल खाद्य संस्थानको अनुदानको खाद्यान्‍न ढुवानी गरिरहेको टिपर बुधबार दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे थियाे। केरुङबाट तिब्बती मार्ग हुँदै हिल्साबाट सल्लीसम्म गाडीमा ढुवानी भएको खाद्यान्न सल्लीबाट सिमकोट ढुवानी गर्ने क्रममा सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को लाग्ना खोलामा टिपर दुर्घटना भएको थियाे।

मृतकका आफन्तहरुले क्षतिपूर्ति नपाएसम्म शव नउठाउने भन्दै विरोध जनाएका थिए। जिल्ला अस्पतालमा शवकाे पोष्टमार्टम गरिसक्दा पनि क्षतिपूर्तिको माग राख्दै उनीहरुले शव बुझ्‍न मानेका थिएनन्।

मृतकका आफन्तले पाँच लाख नगद र किरीया खर्च माग गरेका थिए। गाडी मालिकले त्यति दिन नसक्ने बताएपछि साढे तीन लाखमा सहमति भएको हाे। दुर्घटनामा ज्यान गुमाएकाहरुकाे बिहीबार नै अन्तिम संस्कार गरिएको छ।

मंसिर १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्