‘कठै ! तीन मास्टर’ छाउपडी प्रथाविरुद्धकाे सन्देश

काठमाडाैँ– छाउपडी प्रथाविरुद्ध सन्देश दिने नाटक ‘कठै ! तीन मास्टर’ बुधबार राजधानीमा प्रदर्शन गरिएकाे छ।

विजयराज आचार्यको कथामा आधारित तथा पुष्पराज अवस्थीद्वारा निर्देशित उक्त नाटक ‘नेशनल स्कुल थिएटर फेस्टिभल २०७६’ का अवसरमा कुञ्ज थीएटर, बानेश्वरमा  मञ्चन गरिएकाे हाे।

कैलालीको अत्तरियास्थित एभरेष्ट एकेडमीको प्रस्तुति रहेको नाटक नेपाली समाजमा जरा गाडेर बसेको छाउपडी प्रथाले मान्छेको जीवनमा पारेको असरसँग सम्बन्धित रहेको नाटकका निर्देशक पुष्पराज अवस्थीले बताए।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट बसाइ सरेर तराईका जिल्लामा आइसकेपछि पनि धर्म र संस्कारका नाममा महिनावारी हुँदा कसरी महिलाहरुलाई प्रताडित गरिन्छ भन्ने बारेमा नाटक केन्द्रित छ।

‘कठै ! तीन मास्टर’मा एभरेष्ट एकेडेमीका विर्द्यार्थीहरुकाे अभिनय छ।  नाटकमा आस्था भट्ट, आशिका पण्डित , सन्तु भट्टराई, नेहा सिंह, प्राञ्जल गुरागाईँ, करन थापा, हेमन्त भट्ट र सुदिप जोशीले कलाकारका रुपमा अभिनय गरेका थिए। बालबालिकाको अभिनयले दर्शकहरु भावुक भएका थिए।

यस्तै, बुधबारनै सुरेश पाेर्तेलकाे लेखन/निर्देशन रहेकाे नाटक ‘थान’ मञ्चन भएकाे छ। लिम्बु परम्परा अनुसार मृतकबाट छुटकारा पाउन झाँक्री राखी आत्मा बाेलाउने संस्कारलाई नाटक ‘थान’ले बाेलेकाे छ।

नाटक ‘कठै ! तीन मास्टर’ प्रदेश ७ काे प्रतिनिधित्व गर्दै सहभागी भएकाे हाे भने ‘थान’ प्रदेश–१ काे। फेस्टिभल तिन दिनसम्म चल्नेछ।

मंसिर १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्