जनताको मन जिते पो सरकार सफल होला!

प्रधानमन्त्रीको देश विकासप्रति नियतमा कुनै खोट छैन तर काम गर्ने तरिकामा केही परिवर्तन गर्न सके अवश्य पनि सरकार र देशको हित हुनसक्छ। आफूले सोचेजस्तो नभएर र जनताका गुुनासाको बिचार गर्दै प्रधानमन्त्रीले मन्त्रीहरु परिबर्तन गर्नुभएको छ। मन्त्रीमण्डलमा परिबर्तन गरिसकेपछि केही मन्त्रीहरुले प्रधानमन्त्रीलाई केही आक्षेप लगाए। हुन तआफू मन्त्रीमण्डलबाट बहिर्गमन हुँदाको पीडाको अभिव्यक्ति पोख्न पनि सकिन्छ। तर केही कुराहरु सत्य पनि हुनसक्छन्। निवर्तमान मन्त्री मात्रिका यादबले मैले उखुखेतीका किसानहरुको हितको ख्याल गर्दै अनुदानको रकम प्रत्यक्ष किसानलाई दिन खोजेको थिएँ तर त्यो फायल मन्त्रिपरिषदमा पेश हुन पाएन।

बन्द भएका जनकपुर चुुरोट कारखाना लगायतका पुराना उद्योगहरु फेरि शुरुवात गर्ने कार्यक्रम अघि बढाइएकोमा सम्बन्धित फायलहरु मन्त्रिपरिषदमा पेश नै भएन भनी मन्त्रीहरुले बाहिर आएपछि भनेका छन्। कृषिमन्त्री चक्रपाणि खनालले मैले भारतबाट आउने खसीबोका बन्द गरी नेपाली किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको थिएँ मन्त्रिपरिषदबाट पास गरिएन भने। शायद यस्ता गुनासाहरु समयमा कार्यान्वयन हुन सकेको भए देश र जनताले अवश्य पनि लाभ लिन सक्ने थिए।

बहिर्गमन भएका मन्त्रीमध्ये सबैले मन पराएका गोकर्ण बिष्टले आफ्नो मन्त्रालयमा बसेर बिदेश जाने श्रमिकका हितमा राम्रो कार्य गरेर जानुभएको छ। त्यस्तै लालबाबु पण्डितले कर्मचारी संयोजन गर्ने महत्वपूर्ण कार्य पूरा गर्नुभएको छ। शायद अरु मन्त्रीलाई यो काम गर्न कठिन हुुन सक्थ्यो। यी योग्य मन्त्रीहरु हटाएर निकै बदनाम भएर पनि नहट्ने खानेपानीमन्त्री बीना मगर हुन्। यस बारेमा धेरै पत्रपत्रिकामाआइसकेको छ।

जे होस्, अहिले पनि मन्त्रीमण्डलमा धेरै आसलाग्दा मन्त्रीहरु छन् जसले आफ्नो मन्त्रालयमा बसेर जनताको हितमा परिणाममुखी कार्य गर्न सक्छन्। तर प्रधानमन्त्रीले अहिले सबै मन्त्रीहरुलाई ६६ प्रतिशत कार्य पूरा नगर्ने विभागीय प्रमुख अयोग्य हुने भनेका छन्। मन्त्रीलाई जिम्मा लगाउँदा उसलाई आफ्नो मन्त्रालयको सम्पूर्ण अधिकार दिनुपर्छ। उसमाथि अनावश्यक हस्तक्षेप कदापि गरिनु हुन्न। मन्त्रीहरुले मन्त्रिपरिषदमा पेश गरेका जनहित र राष्ट्रहितका कुनै पनि प्रस्ताबहरु समयमा निर्णय गरेर फायल फिर्ता गर्नुपर्छ। तर कुनै पनि ब्यक्तिगत स्वार्थसहितका दलालका हितमा गरिएका कार्यहरु सार्बजनिक गरी जनतालाई समेत सुसूचित गराउनुपर्छ जसले गर्दा आम नागरिकले पनि व्यक्तिको सही मूल्यांकन गर्न पाउनेछन्।

यस्तै प्रकारले सरकारले अख्तियारलगायत सबै संबैधानिक अंगहरुलाई स्वतन्त्रपूर्बक आफ्ना कार्य गर्न सघाउनुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो कर्तब्य सरकारको हो। यस्का लागि मन्त्री र सचिवमात्र इमान्दार भए भने तलकाले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन्। महत्वपूर्ण मन्त्रालय परराष्ट्र मन्त्रालयका कर्मचारी अलि सक्रिय भएर राष्ट्रका महत्वपूर्ण बिषयमा ध्यान दिनुपर्छ।

प्रधानमन्त्रीज्यू, देशको बिकासमा सबभन्दा पहिला सबै जनताको बिश्वास जित्नआबश्यक छ।

सार्बभौमसम्पन्न तथा स्वतन्त्र देशको हितमा छिमेकी देश र अन्य मित्र देशहरुसँगको सम्बन्धलाई अझ प्रगाढ पार्न कर्मचारी तथा राजदूतको ठूलो हात हुुन्छ। त्यसका लागि हाम्रा कर्मचारी सकृय, सजग तथा इमान्दार हुुनआबश्यक छ। नेता जत्तिकै कर्मचारी पनि राष्ट्र जोगाउने र यस्को बिकास गर्ने कार्यमा समान जिम्मेवार छन्। इमान्दार र अनुभवी कर्मचारीले मन्त्रीलाई सही सल्लाह दिन सक्छन्। तर हाम्रा कमजोर मनस्थिति र अवसरबादी सोच भएका दलका कार्यकर्ता जस्ता कर्मचारीले आफ्ना व्यक्तिगत हितमा बढी जोड दिँदा पनि हामी सबैबाट हेपिँदै गएका छौं। कुनै पनि बिदेशी राजदूतहरु र प्रतिनिधिहरुले परराष्ट्रको सल्लाहसुझाव र प्रतिनिधिबिना प्रधानमन्त्री,मन्त्री, नेता तथा कर्मचारीलाई भेट्न नपाउने गरी कडा निर्देशन दिन आवश्यक छ प्रधानमन्त्रीज्यू।

यो ज्यादै महत्वपूर्ण र संबेदनशिल बिषय छ। यही नहुँदा हाम्रा कतिपय कर्मचारी बिदेशीको अनुदान खाएर उनीहरुको हितमा राष्ट्रघाती कार्यहरु गरिरहेका कुरा बाहिर आएका छन्।

गृह प्रसासनमात्र इमान्दार हुने हो भने बिदेशीले नागरिकता लिन सक्ने छैनन्। खुला सीमानाको फाइदा तस्कर, अपराधी तथा केही कर्मचारीले लिन सक्नेछैनन् । यस कुरामा गृहमन्त्री, सचिव तथाआइजिपीहरु इमान्दार र सक्षम हुन सके भने देशले निकै फाइदा लिन सक्छ। यस्तै सिमानाका जिल्लामा रहेका प्रशासक र प्रहरी निडर र इमान्दार नहुँदा हाम्रा धेरै जमिन मिचिएका छन्।

त्यसैले अब सरकारको प्राथमिकतामा आफ्नो सिमाना सुरक्षित पार्ने र कालापानीबाट भारतीय सेना फिर्ता गराउने प्रमुख कार्य बनाइयोस्। त्यस्तै इपिजीको सुझाब छिटो कार्यान्वयन गरी खुुला सिमाना नियन्त्रण गर्ने कार्ययोजना ल्याइयोस्। यस बिषयमा कुटनीतिक दवाव लगातार दिन आबश्यक छ।

प्रधानमन्त्रीज्यू, देशको बिकासमा सबभन्दा पहिला सबै जनताको बिश्वास जित्नआबश्यक छ। त्यसका लागि जनताका अत्याबश्यक आधारभूत बिषयमा सबै मन्त्रीहरुलाई निश्वार्थ भावले लाग्न निर्देशन दिइयोस्। सबै महानगरपालिका तथा नगरपालिकाहरुलाई आफ्ना शहर सफा सुग्घर र ब्यबस्थित बनाउनआबश्यक योजनासहित अघि बढ्न निर्देशन दिइयोस्। त्यस्मा पनि काठमाडौँ महानगरपालिकालाई यसबारे सचेत गराउनुपर्छ। काठमाडौँका मेयर आवश्यक कार्यहरु नगरी बारम्बार बिदेशमात्र दौडिरहेको खबरहरु आइरहेका छन्।

प्रधानमन्त्रीज्यूू तपाईँको स्वास्थ्य राम्रो नहुँदानहुँदै पनि निकै खटिएर राष्ट्र र जनताको हितमा लागिरहनु भएको छ। आफूले जिम्मा लगाएका कामहरु मन्त्रीहरुले गरे नगरेको निगरानी गर्न सबै पद्धतिमा राखिदिनुहोस्। सबै मन्त्रालय, बिभाग, कार्यलयहरु सिस्टममा चल्न थालेपछि देश पनि राम्रोसँग अघि बढ्छ। यदि सिस्टम नै बिग्रेपछि न बिकास न शान्ति सुरक्षा। त्यसैले पहिला देशलाई एउटा सही पद्धतिमा राखौँ।

मंसिर १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्