विद्यार्थीलाई किनमेल सिकाउन विद्यालयमै ‘टकसप’

ललितपुर – पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई बजार सम्बन्धी सामान्य ज्ञान दिनका लागि स्कूलमै ‘टकसप’ कार्यक्रम सञ्चालन गरिएको छ ।
ललितपुरको सानेपास्थित रेडियन्ट रिर्डस एकेडेमीमा शुक्रबार विद्यार्थीहरुको मनोबल बढाउनका लागि तथा बजारमा कसरी सामान किनमेल गरिन्छ भनेर ज्ञान दिनका लागि कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो तीन वर्षदेखि सो कार्यक्रम गरिँदै आएको छ ।
कक्षा नर्सरीदेखि कक्षा दुईसम्मका विद्यार्थीहरुको मुख्य सहभागिता रहेको एक दिने कार्यक्रममा विद्यार्थीहरुले घरमा दैनिक उपयोग हुने सामानहरु तथा विभिन्न चित्रकला प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरुले विभिन्न स्टेशनरी सामान, तरकारी, फलफुल, स्कुलको ड्रेस लगायत सामान बेच्न राखेका थिए भने अभिभावकहरुले किनमेल गरेर विद्यार्थीलाई हौसला प्रदान गरे ।
स्कुलका संस्थापक प्रधानाध्यापक डि. के. ढुङ्गानाले प्रयोगात्मक विधिमा आधारित उक्त कार्यक्रमले विद्यार्थीहरुलाई स्कुल भित्रै बजारको ज्ञान दिने बताए।
उनका अनुसार पढाई लेखाईको दैनिकी भन्दा फरक खालका कार्यक्रमले विद्यार्थीहरुमा सामान छान्ने, सामानको मोल गर्ने तथा विभिन्न व्यवहारिक काम गर्ने हौसला मिल्ने गरेको छ । यसले गर्दा विद्यार्थीहरुमा ज्ञान, सिप र संस्कारको पनि विकास हुने उनको भनाई छ ।