व्यंग्य

अचम्मको रोग

तपाईँहरू सबैलाई थाहै छ, म पहिले जोगीजस्तै थिएँ । खाने, बस्ने, सुत्ने, उठ्ने कुनै ठेगान थिएन । धन सम्पत्तीको नाममा केही नभए पनि मन चाहिँ ठूलै थियो । न गतिलो थर थियो न बस्न र देखाउन हुने घर थियो न कमाउन सकिएन भन्ने कुनै डर थियो न आफ्नो कुनै फिक्स्ड दर थियो न कसैलाई मेरो भर नै थियो । मेरो कुनै काम पनि थिएन कुनै नाम पनि थिएन । मेरो बोली र ब्यवहार भने अरुको भन्दा अलि फरक खालको थियो।

अरु कुनै काम गर्न नजाने पनि र अरुले मलाई मान्छेको गिन्तीमा नमाने पनि म बोल्न चाहिँ पहिले देखि नै निकै खप्पिस थिएँ । आफूले जानेको वा नजानेको,आफूलाई थाहा भएको वा नभएको कुनै पनि विषयमा मिले पनि र नमिले पनि म घण्टौँसम्म एकटकले बोल्न सक्थेँ । बिना माइक नै म लामो समयसम्म बोल्न र जुन विषयको पनि आन्द्राभुँडी खोल्न सक्थेँ । मैले बोलेको सुनेर मानिसहरु मरीमरी हास्थेँ । मान्छेहरु हाँसे पनि मेरो मजाक उडाए पनि मलाई केही मतलब हुँदैन थियो । गाउँमा दुईचार जना उभिएको ठाउँ,चौतारो र चिया पसलमा मेरो गफ सुन्नेहरुको सँख्या बढ्दै गयो अनि मेरो गफको पारो पनि चढ्दै गयो ।

मेरो कुरा ध्यान दिएजस्तो गरेर सबैले सुने पनि कसैले मलाई एक पैसाको सापटी पत्याएनन् । कसैले पनि विश्वास गरेजस्तो मलाई नै पनि कहिल्यै लागेन तर यस्ता बकमफुसे गफ गरेर समय बिताउन हुँदैन भन्ने विचार मेरो मनमा कहिल्यै जागेन ।

आफ्नो र वरपरको गाउँमा उधारो खाएर नपचाएको पसल र मागेर नतिरेको फसल कसैको पनि बाँकि छैन होला भने पनि हुन्छ । गाउँमा जाँड–रक्सी खाएर होहल्ला, भैmझगडा, कुटपिट, गुण्डागर्दी, लुच्याइँ, फट्याइँ, लागु पदार्थको बेचबिखन, सोझासाझा जनतालाई भड्काउने र हरेक अवसरहरुमा एकअर्कालाई जुधाएर आफ्नाे फाइदाको लागि हलो अड्काउने काम धेरै नै गरियो। गाउँमै दुई चारजनाको टोली बनाएर हुनेखानेहरुका घरमा चोरी पनि गरियो अनि यस्तै सानातिना घटनाहरुमा पक्राउ भएर जेल पनि परियो ।

जेल परेर छुटेपछि वरिपरी सबैतिरकाले चिने । मानिसहरुले सुने पनि र नसुने पनि जुनसुकै विषयमा बोल्न राम्ररी जानेको, ठग्न राम्ररी जानेको, चोर्न राम्ररी जानेको, नतिर्ने गरी उधारो खान पनि राम्ररी जानेको, बलात्कारमा पनि धेरैचोटी अनुभव गरिसकेको, जेल परेर परिपक्व समेत भइसकेको आदि कारणले होला तल्लो तहमै भए पनि मलाई त चुनावमा उम्मेदवारको टिकट पो आइलाग्यो ।

मेरो सबै खुबी हेरेर जनताले मलाई अत्यधिक बहुमतले जिताए र मेरो विरुद्धमा उठ्नेहरुलाई टाउको उठाउन नसक्ने गरी बिताए । स्थानीय तहमा सानो पदाधिकारीबाट सुरु भएको मेरो चुनावी यात्राले कहिल्यै पछाडि फर्केर हेर्न परेन अनि कसैले पनि मलाइ अगाडि बढ्ने काममा बाधा गरेन । आप्mनो क्षमता, योग्यता र अनुभवले गर्दा मैले सिँढीहरु चढ्दै र अगाडि बढ्दै गइरहेको छु । मेरो यो सफलतामा आदरणिय जनताहरुको ठूलो साथ र सहयोग रहेको छ । मप्रति जनताको यत्रो माया र सद्भाव पाएर माथि माथि उक्लिँदै गएकोले मलाई पनि जे गर्छु जनताको लागि गर्छु र जनताको लागि आवश्यक परे भुतुक्कै भएर मर्छु भन्ने सम्म लागेको छ । जनताको सेवा गर्छु मात्रै भन्दा त यसरी मान्छेको उन्नति हुँदो रहेछ साँच्ची नै सेवा गर्ने हो भने के होला भनेर आपैmलाइ अचम्म लाग्छ र अब त जनताको सेवा गर्न सुरु गरौँ कि भन्ने भावना पनि मनमा जाग्छ ।

निकै समय अघिसम्म जोगी जस्तो भएको म केही वर्ष यतादेखि भोगी भएँ। भोगी हुने सिलसिलामा संसारमा भेटेसम्मका सबै सुख भोगियो, आफ्नो फाइदा हुने देख्दा कतिलाई आँखा चिम्लेर ढोगियो तैपनि भाग्यले आफ्नो सबै गाल जोगियो । भोगी भएको थोरै समयपछि नै म रोगी पनि भए“ । मलाई अचम्मको रोग लाग्यो, डर लाज घिन सबै भाग्यो, जे र जति देखे पनि हसुर्ने इच्छा जाग्यो । मेरो रोेग कस्तो–कस्तो, खै मलाई नै थाहा छैन । डाक्टर, वैद्य, झा“क्री कसैले पनि ठीक गर्न सकेनन् । आफ्नो रोग देखेर आफै जिल्ल परेको छु । आफ्नो ग्रे–कोटभित्र टन्न नोट राख्न नपाए बहुलाउने रोगले भेट्यो मलाई पनि । यसो बिचार गर्दा यो एउटा सरूवा रोग रहेछ कि क्या हो । किनभने आफू सरहका सबैलाई त्यस्तै रोग लागेको देखिन्छ । न औषधी खाएर निको हुन्छ न झारफूक लाएर कम हुन्छ । सत्ते भन्ने हो भने यो रोगले मलाई हत्ते नै पारिसक्यो र मलाइ नजिकबाट चिन्ने सबैजनाले मलाइ ठिक होला भन्ने आशा पनि मारिसक्यो । जस्तोसुकै झेली काम गरेर भएपनि डलर, यूआन, भारु र नेरुका पनि चानचुने होइन, ठेलीका ठेली हात नपरेसम्म मलाई ज्यादै औडाहा र छटपट भएर म पुरै पागल जस्तो हुन्छु ।

छिटो छिटो नोटको बिटो र ढिलो नगरिकन किलो का किलो सुन चाँदि प्राप्त भएपछि मात्रै मलाइ राहत हुन्छ । यो बेगर त मलाइ भोक पनि लाग्दैन,निद्रा पनि लाग्दैन, प्यास पनि लाग्दैन,काम गर्न जाँगर पनि लाग्दैन,कोहि मान्छे आफ्नाे जस्तो पनि लाग्दैन र यसको भोक मेरो मनबाट कहिले पनि भाग्दैन । यस्ता कुराहरुले मात्रै मलाइ केही राहत दिन सक्छन् । अरू कुनै उपाय छैन । त्यसैले यसलाई मैले अचम्मको रोग भनेको हुँ ।

सुरु–सुरुमा म त्यस्तो थिइनंँ भन्ने मेरो गुरूलाई पनि राम्ररी थाहा छ । पहिले मैले कुरै बुझेको थिइनँ । अलि–अलि सिक्ने र सानोतिनो काम गरेर टिक्ने गर्दै थिएँ । कसैले पनि त्यति वास्ता गर्दैनथे । ठीकै थियो । काम गर्ने जोस थियो र राम्ररी अढ्नुपर्छ भन्ने होस थियो । मेहनती थिएँ । संगठनको हितलाई नै आफ्नो मित बनाएको थिएँ । अलि–अलि गरेर ढलीमली गर्न सक्ने जान्ने–सुन्नेमा आएँ र काम पनि खुब गरेँ । कतिले पत्याए, कतिले लत्याए । काइदासँग काम गर्दा राम्रै फाइदा पनि गरीयो, काम गर्ने र कमाउनेमा पनि परियो अनि हुनेखानेमा पनि दरियो । सानै पद भेट्दा पनि हदसम्मको मजा लुटियो, मौकाअनुसार जुटियो, कुरा मिल्न नसक्दा फुटियो, मिल्न नसक्नेलाई चुटियो अनि मौका पर्दा कतिलाई भुटियो पनि ।

आफ्नो पद सानो भए पनि त्यसको मदको आनन्द चाहिँ मजाले लिएको थिएँ । कहिले काहिँ आफू राम्रोसँग जुट्न नपाउँदा बसिराखेको कुर्सी पनि छुट्न गयो । अनि कुर्सी छाडेपछि म बोल्न र विरोधी भएर मुख खोल्न मात्र थालें । कामसाम सबै बिर्सेँ । मेरा विरोधीहरूले चाहिँदो नचाहिँदो फलाक्यो भनेर धेरै कराए तर मैले कुनै चिन्ता लिइनँ । चिन्ताले चित्तातिर लैजान्छ भन्ने मलाइ राम्ररी थाहा छ । अरूले जस्तो सुकै र जेसुकै गरे पनि मैले बेठीकमात्रै देख्न थालेँ, यसैबाट विरोधीहरूलाई पनि गालेँ, परिस्थितिलाई आफ्नो अनुसार ढालेँ अनि दुई–चारजना हितैषी पनि पालेँ । मैले धेरै कराएर हो वा म भन्दा माथिका डराएर हो, मलाई फेरि राम्रै कुर्सी मिल्यो ।

कुर्सीमा बस्नासाथ र ठाउँमा पस्नासाथ म बोल्न ठ्याम्मै छाडेर सुन्नमात्र थाले । तलकाले जतिसुकै कुरा काटे पनि माथिकाले मेरो नबोल्ने बानीलाई खुब मन पराए, सक्नेले कराए अनि नसक्ने जति चाहिँ डराए । मलाई फेरि पनि फाइदै भयो । आफूले कोल्टो फेर्न पाउनासाथ मैले चुपचापसित पोल्टो भर्न चाहिँ छाडिनँ ।

बोल्न छाडेको मेरो बानीलाई माथिकाले राम्रो ठानी मलाई अझ ठूलो कुर्सी भिडाए । मैले सहर्ष स्वीकार गरेँ । माथिल्लो कुर्सी भेट्नासाथ मेरो बोल्दै नबोल्ने बानीमा अझ सुधार आयो । बोल्न त मैले पहिले नै छाडेको छँदै थिएँ । अबचाहिँ सुन्न पनि छाडेँ । जति सुकै सुन्न छाडे पनि आफ्नो कुर्सीबाट हुने आम्दानीलाई दोब्बर–तेब्बर गरी गुन्न भने छाडिनँ ।

सुन्न पनि के सुन्नु र किन सुन्नु ? गतिलो कुरो कतैबाट आए पो सुन्नु । सुनेर पनि मैले गर्न सक्ने केही होइन । जति सुन्यो, उति आफैलाई दुःख हुन्छ । कति जनाको के समस्या सुन्नु । सुनेर अरूको चित्त बुझाउन नसकेपछि एकछिन आफ्नो विरोधमा पित्त ओकल्छन्, कुरै सकियो । कुर्सीमा आफ्नो पकड बलियो छँदै छ, चुनावताका गरेका कुरा, ठूलै आम्दानीको बाटो हुने कुरा, सारै नजिकका मानिसहरूको कुराचाहिँ पूरा सुन्नै पर्‍यो ।

यसपछि मेरो कामलाई हेरेर वा मैले टक्र्याएको मामलाई हेरेर हो, मलाई त अझ ठूलो कुर्सीमा लगेर राखे बा ! मैले काम गर्न, बोल्न र सुन्न त पहिले नै छाडिसकेको थिएँ । यो कुर्सीमा बसेपछि त देख्न पनि छाडेँ । सुरूमा त मलाई डर पनि लाग्यो अन्धो नै भएँ कि भनेर । तर नोट, आ˚न्त, आ˚ूलाई सहयोग गर्ने केही ज्यादै नजिकका मान्छेहरू, विशेष खालका ब्यापारीहरू, ठेकेदारहरू र खानपिनको ब्यवस्था मिलाउने ब्यक्तिहरूलाई मात्र देख्न सक्ने भएछु । त्यसैले अलि ढुक्क भएको छु ।

यो भन्दा पनि ठूलो कुर्सी  फेला पर्‍यो भने मेरो कुन गति भई कस्तो मति लाग्ने हो भनेर आजैदेखि डर लाग्न थालिसक्यो मलाई त । भन्न त धेरैले यस्तो रीतिले चलाएको नीतिको छिटै मिति पुग्न बेर लाग्दैन पनि भन्छन् रे । तर यस्तो भएपछि केहि गर्न सकिने अवस्था नहुने रहेछ ? आफूलाई अद्भुत किसिमको हो कि अचम्मको रोग लागिसकेपछि गर्न खोजेर पनि के नै गर्न सकिन्छ र ?

मंसिर १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्