गढीमाईका पुजारी भेट्दा…

बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा मंसिर महिनामा मेला लाग्ने गर्छ। निउलेश चौधरी उक्त मन्दिरमा पुजारीको रुपमा बस्दै आएका छन्। पुस्तौं पुस्तादेखि गढीमाईमा पूजारीको रुपमा रहेका निउलेशका परिवारका पूजारीमा उनी १२औं पुस्तामा पर्छन्।

निउलेश मात्रै नभई उनको बुवा शिवचन्द प्रसाद चौधरी पनि सँगै बस्छन्। शिवचन्द प्रसाद चौधरी भने गढीमाईका मूल पुजारी हुन्। उमेरले भर्खरै २३ बर्ष पुगेका निउलेश विगत ४ बर्षदेखि गढीमाईमा पूजारीको रुपमा बसिरहेका छन्।

सधैंजसो शनिवार भिँड रहने कलैयाको गढीमाई मन्दिरमा पाँच बर्षमा एकपटक हुने मेलामा भने छुट्टै रौनक हुने गरेको छ। अरु दिन मन्दिरमा कहिल्यै बलि नचढ्ने भए पनि मेलाको बेलामा जम्मा दुई दिन खसी, बोका, परेवा, सुंगुर, रांगालगायत पशुपंछीको बलि चढाईने गरेको छ।

मेलामाभित्र  राखिएको बत्ती आफै बलेपछि काली माता आह्वानलाई स्वीकारेर आएको पूजारी बताउँछन्। त्यसपछि बाहिर  सजाएर राखिएका बत्तीहरु बाल्न सुरु गरिन्छ। त्यसैगरी फलफूल, खीर र चिनियाको बतासा जस्ता खानेकुराहरू भोग लगाएर गढीमाई मातालाई आमन्त्रण गर्दा माताले कसैले नदेख्ने गरेर ती भोग लगाएका खानेकुराहरू खाने गरेको विश्वास रहेको छ।

यसरी भयो गढीमाई मेलाको सुरुवात


एउटा सानो गाउँ थियो जहाँ २०-२५ वटा घरहरू मात्र थिए। ती घरमध्ये एउटा घर भगवान चौधरी नाम गरेको मान्छेको थियो । एकदिन उनको घरबाट चोरी भयो । चोरीपछि उनको घरमा गाउँका सबै मानिसहरू भेला भएर उक्त चोरलाई तत्काल समाते।

चोरलाई मानिसले कुटपिट गर्दागर्दै मारिदिए। प्रहरीले सोेध्दाखेरि कोही पनि बोलेनन्। उक्त घटनाको जिम्मेवारी भगवान चौधरी आफैंले लिए। उनलाई हत्कडी लगाएर काठमाडौंको जेल ल्याईयो।

त्यसैवखत भगवान चौधरी जेलमा सुतिरहेको समयमा सपनामा आएर गढीमाई माताले ‘तिमी मेरो नजरमा महान छौ’ भन्नुभयो । यति भनिसक्दा चौधरी निकै नै डराए । चौधरीले आफूले उक्त सपनामा देखेको महिला चिन्न नसकेको कुरा बताएपछि माताले आफ्नो दर्शन दिनुभयो।

उहाँले आफू गढीमाई रहेको र पाँच बर्षमा एकपटक आउने जानकारी दिनुभयो । ‘तिम्रो गाउँ र तिम्रो समस्याहरूको समाधान गर्न म यहाँ आएकी हुँ । मलाई तिम्रो गाउँ लग म सबैको दुख हटाईदिन्छु’ भन्नुभयो। त्यति नै बेला भगवान चौधरीले तपाईको लागि म के गर्नसक्छु त भनेर प्रश्न गर्दा गढीमाईले म कालीको रुप हुँ र मलाई बलि चाहिन्छ भनेर बताउनुभयो। बलिमा उनले पाँचवटा रांगा मागिन्।

चौधरीले आफू गरिब रहेको र रांगाको बलि दिन कठिन भएको बताएपछि माताले चौधरीलाई आफ्नो गाउँ लिएर जान अनुरोध गर्नुभयो । जेलमा रहेका चौधरीले कसरी हजुरलाई लिएर जाउँ भन्ने प्रश्नमा माताले भन्नुभयो, ‘ढुक्क भएर बस तिमी मलाई गाउँमा लिएर जान्छु मात्रै भन अरुकुरा म मिलाउँछु।’

यति भनिसकेपछि माताले आफू उभिएको स्थानको धुलो आफूले लगाएको पगरीमा बाँध्न लगाउनु भयो । त्यति गर्नासाथ चौधरीको हात र खुट्टामा बाँधिएको बेरीको साथै जेलमा लागेको ताला पनि आफैं खुल्यो । काठमाडौंदेखि हिँड्दै चौधरी सिमरी भन्ने ठाउँमा पुगे। त्यहाँ पुगेपछि भगवान चौधरीले भने, ‘भगवान् म बुढो भईसकें अब कसरी हिडूँ  ? म हिड्न सक्दिन ।’

यति भन्दा माताले भन्नुभयो, ‘तिमी केही चिन्ता नगर तिमी हिँड्दै जाउ तिमीलाई केही समस्या आउँदैन।’ उनले एकपटक आराम गर्नदिनु भनेपछि माताले आराम गर्ने अनुमति दिनुभयो। चौधरी त्यहाँ गएर आराम गर्दा पगरी र आसन त्यही राखे। त्यसपछि फेरि त्यहाँबाट हिँड्दै अहिले गढीमाई भएको ठाउँमा माताले आसन दिनुभयो। यसरी गढिमाई माताको उत्पति भएको हो भन्ने कथन छ। त्यसैले भक्तजनहरुले शुद्ध मनले मातासँग केहीकुरा मागेमा त्यो पूरा हुने विश्वास मानिसमा रहेको छ।

सिमरीमा भएका थारु थरका वृद्ध हजुरबुवालाई गढीमाईको पाँच वर्षमा लाग्ने मेलामा सप्तमीका दिनमा चढाइने बलिको लागि बोलाइन्छ । हरेक बर्ष उनी पाँच दिन अगाडि नै गढीमाई मन्दिरमा आईपुग्छन्। उनले आफ्नो शरिरबाट केही थोपा रगत दिन थालेपछि बलि चढ्न सुरु हुन्छ। गढीमाई मन्दिरमा सबैभन्दा पहिला पुजारीकै रगत चढाउने चलन छ।

सबैभन्दा रोचक कुरा त यो छ कि गढीमाईमा बलि दिने समयमा रांगाहरु भारतको बोर्डरमा छोडिदिएपछि आफैं गढीमाई मन्दिरसम्म आइपुग्छन्। बलि दिनको लागि बरियापूरमा विशेष मानिस छन् जसलाई समितिले तोकेको हुन्छ। आफूले मागेको कुरा पूरा भएपछि मानिसले भाकल गरे अनुसार बलि चढाउने गरेका छन्। बलि चढाइएको ठाउँमा रगतमाथि झिँगा बस्दैनन्।

मंसिर १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्