सिद्धबाबालाई ती महिलाले फेसबुकमा पठाएकी थिइन् अनेकौँ म्यासेज

विराटनगर- एक अनुयायीबाट बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदासजीलाई ती महिलाले हरेक दिनजसो फेसबुक म्यासेन्जरमा म्यासेज लेख्ने गरेको खुलेको छ।

स्रोतका अनुसार ती महिलाले हरेक दिनजसो सिद्धबाबालाई उत्तेजक तथा प्रेमको अनुयय गरेर म्यासेज पठाउने गरेकी थिइन्।

गत वर्षको दसैँताकादेखि अनुयायीका रुपमा ती महिलाले सिद्धबाबालाई म्यासेज लेख्ने गरेको स्रोतले जानकारी दिएको छ।

महिलाले पटकपटक लेखेका म्यासेजको सिद्धबाबाले सामान्यतया: जवाफ नदिएको र बेलाबेला सामान्य जवाफ फर्काएको देखिएको छ। बेलाबेला सिद्धबाबाले आफूबारे प्रकाशित समाचार र तथा सामग्रीहरुको लिंक पठाउने गरेको म्यासेज रेकर्डमा देखिएको छ।

महिलाले लेखेको एक म्यासेजमा छ-  मेरा आँखाअगाडि देख्दा पनि छुन पाउनु छैन किन? मेरो भावलाई किन चोरेको? तेही भावको आनन्दमा डुब्नसमेत नदिने? … अब त दया गरिस्यो… त्यो दिव्य अनुभूति अनि अँगालोमा हजुर हुँदा मेरो के हाल होला? हे प्यारे कहिले सकिन्छ प्रेमको गलिको यात्रा? हेरिस्यो है अब धेरै सहने छैन.. तीन महिनापछि म मरेको खबर पढ्न तयारी गरे हुन्छ। सपनामा कात्तिकमा आइज भन्ने देखेको छु। त्यत्तिञ्जेल कुर्छु, नत्र मर्दिन्छु…

त्सस्तै अर्को म्यासेजमा महिलाले लेखेकी छन्- … केही त गरिस्यो, हरेक रात हजुरसँग बितोस्, हैन भने मर भनिस्योस्, पखिस्योस् न, जुन दिन हजुरको चरण छुन पाउँछु, च्याप्प अँगालोमा हालेर छोड्दै छाड्दिन, ‌ओठमा चुमिहाल्छु, मेरो चाहना पूरा गरेपछि जति गाली गरे नि गरिस्यो…

सिद्धबाबासँग करिब एक वर्षदेखि प्रेम र शारीरिक सम्पर्कको अनुयय ती महिलाले गरिरहेको म्यासेजबाट बुझिन्छ।

सिद्धबाबाले दुई साताअघि महिलालाई लेखेको म्यासेजमा उल्लेख छ- बहिनी, तिमीले म प्रति बारम्बार सामिप्य रहनलाई मेरो चरण छुनेदेखि आलिङ्गन गर्ने कुरा समेत लेखेर हामीजस्ता त्रिदंडी साधुहरुको मर्यादा, शीष्टता र संस्कारलाई पटकपटक जुन ढंगले चोट पुर्‍याइरहेकी छौ, त्यसबाट ममात्र होइन, हाम्रा सबै भक्तजनहरुमा ठूलो पीडाबोध भएको छ… मलाई आलिंगन गर्ने र चरण स्पर्श गर्ने तिम्रो बारम्बारको अनुरोधलाई मेरो परम्पराविपरीत भएका कारणले मैले नकारेको अवस्थामा तिमीमा उत्पन्न भएको नकारात्मक भावलाई राम नाम जपेर नियन्त्रण गर…

प्रहरीले सिद्धबाबालाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले ‍अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलका अनुसार सुनसरी प्रहरीले म्याद थप गरेर यस मुद्दामा अनुसन्धान सुरु गरेको छ। ती महिलाको जाहेरीमा प्रहरीले सिद्धबाबालाई पक्रन जिल्ला अदालतबाट अनुमति लिएको हो।

सिद्वबाबा भने विराटनगरस्थित विराट अस्पताल प्रालिमा उपचारका लागि भर्ना भएको बताइएको छ। अस्पताल स्रोतका अनुसार उनलाई डिलक्स रुममा राखिएको छ। प्रहरीले उनको निगरानी गरिरहेको जानकारी दिएको छ।

गत शुक्रबार सिद्धबाबाले आश्रममा अनुयायीहरुसँग आफूलाई एक महिलाले फसाउन खोजेको बताएको एक अनुयायीले बताए। अर्का अनुयायीले सिद्धबाबा कृष्णदासजीको फोन उनका नजिकका भक्तजनसँग हुने र ती भक्तजनले ती म्यासेजहरु हेर्न सक्ने दाबी गरे।

चतरामा गत वर्ष फागुनमा सम्पन्न श्रीराम तारक ब्रह्म महायज्ञको पूर्णाहुतिसँगै सिद्धबाबा कृष्णदासलाई जगतगुरु रामानन्दाचार्य पदवीबाट विभूषित गरिएको थियो। सिद्धबाबा कृष्णदासलाई महायज्ञमा उपस्थित चतुः सम्प्रदायका जगतगुरु सहितका शिर्षस्थ व्यक्तिहरुले उक्त पदवी प्रदान गरेका थिए। त्यसको करिब तीनमहिनापछि गत असार पहिलो साता उनले भारतको अयोध्याबाट जगद्गुरुको पदवी हासिल गरेका हुन्।

मंसिर १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्