भिडियाेमार्फत आफ्नाे ठाउँ चिनाउनेलाई इनाम !

काठमाडाैँ– एकपल्ट निर्मल श्रेष्ठ पोखरा घुम्न निस्किए। फेवा, बेगनास, साराङ्कोट गइसकेका श्रेष्ठ यो पाली भने पोखराका यस्ता पर्यटकीय स्थल पुगे, जो अति सुन्दर थिए तर पर्यटकको घुम्ने लिस्टमा थिएनन्। मनै चसक्क भो, ‘यस्ता सुन्दर ठाउँको बारेमा कसैलाई थाहा छैन!’

हुन पनि कहिलेकाहीँ साना कुरामा पनि खुसी लुकेर बसेको हुन्छ। अनि मन खुसी भएपछि अनेक आइडिया फुर्छन्। श्रेष्ठलाई पनि दिमागमा आइडिया आइहाल्यो। यस्ता ठाउँको बारेमा जानकारी बाहिर ल्याउन उनले सिर्जनात्मक उपाय निकाले – पर्यटकीय ठाउँको ‘भिडियो कम्पिटिसन’।

उनीसँग यो जुक्तिलाई कार्यान्वयन गर्ने बाटो पनि थियो। २०७२ सालमा भूकम्पपछि उनी र उनीजस्तै युवाहरुले ‘वि विल राईज् फाउन्डेशन’ अर्थात ‘हामी उठ्ने छौँ’ संस्था दर्ता गरेको थियो। यही संस्थाको माध्यमले युवा जागरणमा विभिन्न क्रियाकलाप सञ्चालनको अनुभव भएका निर्मल र उनको टीमले यो काम गरिछाड्ने भनेर आँटे।

केही कठिनाई थियो, मापदण्ड कसरी बनाउने, कति लामो भिडियो बनाउने। निर्मलले भने, ‘५०० शब्दले व्याख्या गर्ने कुरा ५ सेकेण्डको भिडियोले प्रस्ट पार्छ भने हामीले लामो हैन, छोटो भिडियोमा धेरै कुरा देखाउन सक्नुपर्छ भन्ने मान्यता राख्दै समय पाँच मिनेट तोक्यौँ।’

निर्मलको टीमको उद्देश्य भिडियो बनाउनेमा मात्र सिमित थिएन। उनीहरुकाे उद्देश्य युवाहरुलाई उत्साही बनाउनु पनि थियो, सिर्जनशीलता विकास गर्नु थियो। यसको लागि युवालाई आकर्षिक गर्नु सबैभन्दा मुख्य चुनौति थियो। दाता पनि भेटियो। उनीहरुले पहिलो विजेतालाई एकलाख रुपैयाँ पुरस्कार दिने निर्णय गरे। अनि विभिन्न विधामा पुरस्कार दिने योजना बनाए।

आफ्नो ठाउँको बारेमा बताउन जसलाई पनि मन लाग्छ। त्यसमा पनि पैसा पनि पाउन सकिन्छ भनेपछि मान्छेलाई जाँगर चल्छ भन्ने उनीहरुको निष्कर्ष थियो। साथै कामको सम्मान भयो भने अझ उत्साह थपिएर आउँछ। कामलाई माया गर्न थालिन्छ। यो प्रतियोगिताले आफ्नो ठाउँको पहिचानका लागि युवा परिचालन गर्नु थियो।

‘तँ आँट, म पुर्‍याउँछु’ भन्ने उखान जस्तै भयो। धेरै मेहनत र प्रयासपछि ‘मेरो गाउँ मेरो ठाउँ भिडियो कन्टेस्ट २०१८’ को घोषणा भयो। १६ ओटा जिल्लामा गएर पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिए।

निर्मलको टोलीलाई प्रतियोगिताको बारेमा जनसमुदायले थाहा पाए की पाएनन् होला जस्तो लागेको थियो तर नजिता आयो अनपेक्षित। ‘मैले यति भिडियो आउला भनेर सोचेको पनि थिइनँ।’, निर्मल भन्छन्, ‘१०० दिनमा १३२ वटा भिडियो आएको थियो। यसमा ४७ वटा भिडियोलाई ८ विधामा छुट्याइएको थियो।’

यो गए वर्षको कुरा हो,

यो वर्ष पनि यो टोलीले यस्तै कार्यक्रम सुरु गरेको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कार्यक्रमको घोषणा गरेको छ। गएको वर्ष जस्तै यो वर्ष पनि उनीहरु भिडियो प्रतियोगी खोज्दैछन्। यो वर्ष पुरस्कार राशी पनि बढेको छ। पहिलो विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिइनेछ।

यो प्रतियोगितामा सहभागी हुनलाई मोबाइल प्रयोग गर्न पनि सकिन्छ। तर भिडियो एचडी क्वालिटीमा बन्नुपर्छ। यस्तै भाषा राम्रो, भिडियोको गुणस्तर पनि राम्रो भएमा यसले पुरस्कार पाउन सक्छ।

निर्मल भन्छन्, ‘यो प्रतियोगिताको मुख्य उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई सम्वर्द्धन गर्नु हो। जसमा युवाको सहभागिता रहनेछ।’

पहिलो प्रतियोगिता राम्रै भएकोले दोस्रोमा अझ धेरै साथ र सहयोग संस्थाले पाएको छ। गएको वर्ष पर्यटन विभागले मात्र सहयोग गरेको थियो, यो वर्ष नेपाल चलचित्र विकास बोर्ड, गैरआवासिय नेपाली संगठन अनि गण्डकी प्रदेश पनि जोडिएको छ।

यस्तै भ्रमण वर्ष २०२० कार्यक्रमले पनि थप ५ लाख पुरस्कार राशि थपिदिएको छ।

यति साथ र समर्थन पाएपछि आयोजक उत्साहित त हुने नै भए। अब उनीहरु अगाडिको कामको लागि पर्खिबसेका छन्। भिडियो डिसेम्बर एकदेखि १०० दिन भित्र मेरो गाउँ मेरो ठाउँको मेलमा पठाउन पर्नेछ। भिडियो जसले पनि पठाउन सक्नेछन्।

मंसिर १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्