'नथिया' र 'अर्की आइमाई'

’सिन्दुर लगाएर बेश्या बन्न सजिलो हुँदो रहेछ’

नथियाः सामली वादी, वादी समुदायमा जन्मिएकी एउटी महिलाको कथा हो।  छोरी भएर त्यो समाजमा जन्मिनुको सार्थकता उसले देह व्यापारमा लगाउने लगनशीलताले झल्काउँछ। नथिया, यौन, वेश्यावृत्ति र यो सबैमा रुमल्लिएको सामलीको जीवनको संघर्ष उसको शरीर र उसको आफ्नो शरीरसँगको सम्बन्धमा झल्किन्छ। महिलालाई बारम्बार उनीहरुको रुप, रङ, शरीरको बनोट, आकार र आकृतिमा सीमित राखेर हेर्ने आजको समाजको ऐना बनेको ‘नथिया’मा सामलीको जीवनका दर्दनाक कथाहरु प्रस्तुत गरिएको छ।

अर्की आईमाईः अमेरिकामा बसोबास गर्ने नेपालीसँग वैवाहिक सम्बन्धमा गाँसिएर एउटा सानो गाउँबाट अमेरिका पुगेकी पात्रको जीवनमा आधारित ‘अर्की आईमाई’ले नेपाली समाजको डायस्पोराको चित्रण गरेको छ। सित्तैमा घरका काम काज गर्ने र आफ्नो श्रीमानको शारीरिक आवश्यकता पूर्ति गर्ने भन्दाबाहेक र त्यो भन्दा माथि आफ्नो पहिचान खोज्ने प्रयत्नमा भास्सिएको पात्रको जीवनका अनुभवहरु यसमा समेटिएका छन्।

सरस्वती प्रतिक्षाको ‘नथिया’ र नीलम कार्की निहारिकाको ‘अर्की आइमाई’ केही दिनको अन्तरालमा पढिसक्दा मैले यी दुई एकदमै भिन्न पृष्ठभूमिमा लेखिएका उपन्यासबीच एउटा मधुर समानता पाएँ। दाङको पहाडी जीवन र अमेरीकाको सहरी चालढाल दुवैलाई बाँध्ने नेपाली समाजको यथार्थको झलकले मनै अमिलो बनायो।

‘सिन्दुर लगाएर बेश्या बन्न सजिलो हुँदो रहेछ’ – सामली

‘सिन्दुर लगाएर बेश्या बन्न सजिलो हुँदो रहेछ।’ – अर्की आईमाईकी पात्र

कति सरलै ‘बेश्या’ भनी दुई विवाहित महिलाले आफैँलाई सम्बोधन गरेका छन् यी दुई उपन्यासमा। कोसौँ टाढा तर एउटै काँचो धागोले बाँधिएका।

सिन्दुर। यौन।

बेश्या। यौन।

नेपाली समाजमा यौन सम्पर्कका बारेमा पढ्ने र पढाउने चलन छैन।

‘हैन, पाठ्यक्रममा छ’ भनी भन्नुहोला कतिले। छ नि, किन नहुनु?

‘स्वास्थ्य, जनसङ्ख्या तथा वातवरण’ भन्ने विषय मैले कक्षा सात देखि दस सम्म पढेकी हुँ नि तर पाठ्यक्रममा समावेश गरिएका पुस्तकहरुले यौनका बारेमा केही समावेश गरेनन्। रजस्वलाका प्रक्रिया र गर्भावस्थाका बारे त विषयवस्तु थिए, तर रजस्वलाबाट गर्भावस्थासम्म पुग्ने प्रक्रियाका बारे केही थिएन। महिला र पुरुषका यौनाङ्गका बारे त थिए तर यौन सम्पर्कका बारे केही उल्लेखित थिएन। अझ तथ्य उखेली भन्नु पर्दा, न रजस्वलाको पढाइ सन्तोषजनक हुन्थ्यो, न त अन्य कुनै ‘गुप्ताङ्ग’कै। तर यो लेखको विषय यसको गहिराइमा जाँदैन। यो लेखले सिन्दुर अनि सिन्दुरले प्रदान गर्ने आधिकारिकता खोतल्छ। यौन सम्पर्क गर्न प्रदान गरेको ‘सामजिक सर्टिफिकेट।’

‘नथिया’ र ‘अर्की आइमाई’ पढ्दा मनमा हजारौँ प्रश्नहरू आए। सबै प्रश्नलाई उछिनेर, एउटा प्रश्नले मेरो मस्तिष्कमा जरो गाड्योः ‘के नेपाली महिलाहरूलाई आफ्नो शरिर माथिको आफ्नो अधिकारका बारेमा चेतना छैन, हो?’

अङग्रेजीमा ‘कन्सेन्ट’, अर्थात नेपालीमा ‘सहमति’।

यौन सम्पर्कमा भाग लिने हरेक व्यक्ति आफ्नो स्व-इच्छाले, आफ्नो खुशीले मात्र भाग लिन्छ। कसैको इच्छाबेगर वा सहमतिबिना, कुनै पनि किसिमको शारिरीक, मानसिक तथा सामाजिक दबाबमा हुन गएको ‘सम्पर्क’ बलात्कार हो। नेपालको सर्वोच्च अदालतले सन् २००६ सालमै श्रीमतीको इच्छा विपरीत भएको शारिरीक सम्पर्कलाई बलात्कार ठहर्‍याएको छ। कानुनमा लेखिएको छ, कानुनी तहमा लागू पनि हुन्छ। तर के यो कानुन, यो अधिकारका बारे हाम्रा हजुरआमा, आमा, दिदी, बहिनी, भाउजू, अन्य महिलालाई थाहा छ त?

कतै हाम्रो समाजले सिन्दुरलाई प्राथमिकता दिने क्रममा हाम्रा नारीहरुबाट उनीहरुको स्वायत्तताको बलिदान त दिएन? विवाहको अग्निमा कतै महिलाको स्वतन्त्रताको आहुति त दिएनौँ हामीले?

‘बेश्या’ अर्थात एउटा व्यक्ति, प्रायः महिला, जो आफ्नो शरिर बेच्छे, पैसाका बदलामा कुनै अर्को व्यक्तिसँग शारिरीक सम्बन्धमा गाँसिन्छे। तर बेश्या भन्ने शब्दसँग उसको शरिर मात्र नभई उसको सामाजिक ईज्जत र आर्थिक अवस्था बाँधिएर आउँछन्। चक्कुको धारमा तेर्सिएको स्वतन्त्रता र सिस्नुपानीमा डुबेर स्वीकारीएको बाध्यता सबै रुमल्लिएर आउँछन्।

कति सरलै ‘बेश्या’ भनी दुई विवाहित महिलाले आफैँलाई सम्बोधन गरेका छन् यी दुई उपन्यासमा।कोसौँ टाढा तर एउटै काँचो धागोले बाँधिएका।

कस्तो विवशता यो? आफ्नै श्रीमानलाइ शरीर कसरी बेचे र श्रीमतीहरुले? – भन्नुहोला।

के बेचियो र? – भन्नुहोला।

इच्छा बेचियो।

आफ्नो स्वायत्तता बेचियो।

स्वाभिमान बेचियो।

सामाजिक इज्जत त कायम रह्यो तर अधिकार हनन भयो।

नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भे २०१६ का अनुसार २६% महिलाहरुले आफ्नो वैवाहिक कालमा शारीरिक, मानसिक वा यौन हिंसा भोगेका हुन्छन्। यौन हिंसाको प्रतिवेदित तथा आवर्तक उदाहरण हो, श्रीमानबाट श्रीमतीमाथि हुने हिंसा; श्रीमतीको इच्छा विपरीत श्रीमानले शारीरिक बल प्रयोग गरेर गर्ने यौन। विडम्बनाको कुरो त के भने, हरेक ३ मा २ महिलाले आफूमाथि भएको शारीरिक तथा यौन हिंसाका बारे न कसैलाई भन्छन्, न त रिपोर्ट नै गर्छन्। सोच्नुस्, कतै हाम्रै आमा, दिदी, बहिनी, भाउजू तथ्याङ्क का “२” त बनेका छैनन्?

शायद अब हाम्रो पाठ्यक्रम बदल्न आवश्यक छ, यौनका बारेमा खुलस्त कुरा गर्न जरुरी छ। अबका पुस्ताहरूलाई बलात्कृत हुनबाट जोगाउन जरुरी छ। पढाउन र बुझाउन आवश्यक छ।

विवाहित हुँदैमा, सिन्दुर पोतेले सजिँदैमा कुनै पनि महिलाले आफ्नो शरीरमाथिको आफ्नो अधिकार गुमाउँदिन। उसको शरीर उसको आफ्नो हो, त्यस माथिको उसको आफ्नो स्वायत्तता ऊ बाँचुन्जेल कायम रहन्छ। वैवाहिक सम्बन्धमा गाँसिए पनि, ‘नाइँ’, ‘अहँ’, ‘मन छैन’, सबै शब्दको मान्यता उत्तिकै कायम रहन्छ। यो उसको अधिकार हो र यसको कदर गर्नु हामी सबैको कर्तव्य हो।बिडम्बनाको कुरो त के भने, दुवै उपन्यासले हाम्रो सामजिक यथार्थको बयान गरेका छन्। यस कारण हामी आफू सचेत हुनु र अरूलाई सचेत गराउनु अत्यन्तै आवश्यक छ।

काठमाडौँस्थित प्रसूति गृहमा गर्भवती महिलाहरू माथि गरिएको अध्ययनका बमोजिम त्यहाँ प्रतिवेदित यौन हिंसाका केस मध्ये ४५% वैवाहिक बलात्कारका केस थिए।

वैवाहिक जोडीमा पनि बलात्कार हुन्छ। कसैको इच्छाविपरीत गाँसिएको शारीरिक सम्बन्ध बलात्कार हो। यी उपन्यास पढ्ने कत्ति महिलाहरुले यो वाक्य पढ्दा आफैँलाई उपन्यासका पात्रमा पाए होला अनि कतिलाई आफ्नै कथा कोरिएझैँ लाग्यो होला। यो अनुभूति हाम्रो समाजको अत्याचार र कमजोरीको प्रतीक हो। कुनै पनि महिला बेश्या बन्नु नपरोस्। हरेक महिलाले आफ्नो शरीर माथिको आफ्नो स्वयत्ततालाई निर्धक्क अँगालेर जीवन बाँच्ने स्वतन्त्रता प्राप्त गरून्।

यसका लागि यहाँहरु र मैले यौनमा स्वायत्तता वा अटोनोमीका बारे सबैसँग कुरा गर्न जरुरी छ। आमासँग कुरा गर्न जरुरी छ। बन्द कोठामा हुने वैवाहिक बलात्कारका बारे संवादद्वारा चेतना फैलाउन आवश्यक छ। यौनका बारे आफ्ना परिवारका सदस्यसँग कुरा गर्नु सजिलो विषय पक्कै हैन तर हाम्रा आमा र दिदीबहिनीलाई बलात्कृत हुनबाट जोगाउने यो सानो चेतना फैलाउन त्यो संकोचबाट माथि उठ्न जरुरी छ।

शायद अब हाम्रो पाठ्यक्रम बदल्न आवश्यक छ, यौनका बारेमा खुलस्त कुरा गर्न जरुरी छ। अबका पुस्ताहरूलाई बलात्कृत हुनबाट जोगाउन जरुरी छ। पढाउन र बुझाउन आवश्यक छ।

हाम्रा आमा, दिदीबहिनी, भाउजू, हजुरआमा, काकी, सबै महिलालाई उहाँहरुको आफ्नो शरीरमाथि रहेको आफ्नो स्वायत्तताका बारे चेतना जगाउन जरुरी छ।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्