पुस्तक सम्वाद

पुरस्कार पाएको १० रुपैयाँले हौसाएका यी साहित्यकार

साहित्यकार रामलाल जोशी २०३१ सालको फागुन १७ गते डोटीको कानाचौरमा जन्मिएका हुन्। पिता हरिभक्त जोशी र माता तुलसीदेवी जोशीको जेठो, सन्तान जोशी पेशाले शिक्षक हुन्। उनी १४ वर्ष शिक्षक पेसामा आवद्ध रहे। उनी धनगढीकै पञ्चोदय उच्चमाविमा नेपाली विषयका शिक्षक थिए।

उनी ६ वर्षको हुँदा उनका पिताले संसार छोडे, अक्षर राम्ररी पढ्न जान्ने भएपछि उनले बाबाले आफ्नो डायरीमा लेखेको कविता पढेका थिए। यसपछि उनलाई साहित्यमा चाख लाग्यो। उनी आफू साहित्यमा यसरी अगाडि बढ्न आमाको कठोर संघर्षको प्रतिफल मान्छन्। उनले नेपालीमा स्नातकोत्तर गरेका छन्।

२०५७ सालमा ‘हत्केलामा आकाश’ गजलसंग्रहपछि उनको कुनै पनि पुस्तक सार्वजनिक भएको थिएन। त्यसपछि उनले २०७२ को चैतमा ‘ऐना’ कथासंग्रह सार्वजनिक गरेका थिए। यो उनी लिखित दोस्रो कृति हो। जोशी लिखित कथासंग्रह ‘ऐना’ ले २०७२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। यसमा १९ ओटा कथाहरु छन्। यस्तै उनी लिखित तेस्रो कृति ‘सखी’ २०७५ सालमा प्रकाशनमा आएको थियो।

२०४५ सालमा राजा विरेन्द्रको जन्मोसव कार्यक्रम उनको विद्यालयमा आयोजना भएको थियो। कविता सुनाएपछि उनलाई दुई जनाले १०-१० रुपैयाँ पुरस्कार पाए, यसले उनलाई उत्साह भयो । उनी अरु कार्यक्रममा सहभागी हुन थाले। विद्यार्थीकालमा जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भए, विद्यार्थी साहित्य प्रतिभा प्रतिष्ठानले विद्यार्थी साहित्य प्रतिभा पुरस्कार प्राप्त गरे।

यस्तै पहलमान सिंह स्वार स्मृति प्रतिठानले पनि उनलाई सम्मान गर्‍यो। यस्तै नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरस्कारबाट पनि उनी पुरस्किृत भइसकेका छन्।

रामलाल जोशीले आफ्नो पढ्ने बानीका बारेमा देश सञ्चारकी सुजाता खत्रीसँग कुराकानी गरेका छन्।

१) कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

केही समय अगाडि पढेको किताब कल्याणी धरती हो। तत्काल पढ्ने काम ठप्प छ। हिजो आज म विश्व नेपाली साहित्य महोत्सवको तयारीमा छु। यही सालको फागुन ६ देखि १२ सम्म धनगढीमा महोत्सव हुने भएकोले यसमा व्यस्त छु ।

२) कुन समयमा पढ्नुहुन्छ ?

पढन उपयुक्त समय प्रायः एकान्त अवस्था हो त्यो जुनसुकै बेला पनि हुनसक्छ। म प्राय राति पढ्ने गर्छु। राती भए अरुले डिस्टर्ब गर्दैनन्, कसैले बोलाउन आउँदैनन्, कसैको फोन आउँदैन। पढाईमा डुब्न पाइन्छ।

३) कस्तो खालको पुस्तक र लेख मन पर्छ ?

मानिसले धेरैजसो पुस्तकमा आफ्नै प्रतिबिम्ब देख्न चाहन्छ, आफ्नै वरपर भएका घटना र परिवेश हेर्न चाहन्छ। तस्बिर खिचेर हेरेजस्तै त हो नि।
त्यसैले मलाई कुनै पनि समाजको यथार्थ चित्रण गरिएको पुस्तक र त्यस्ता समाजशास्त्रीय दृष्टिले लेखिएका लेख रचना मन पर्छन् । मैले पढेका बसाई उपन्यास, महेश विक्रम शाहका पुस्तक, गुरुप्रसाद मैनाली ‘नासो’ यस विधामा उत्कृष्ठ लाग्ने पुस्तकहरु हुन्।

४) मन पर्ने लेखक को हुनुहुन्छ ?

मन पर्ने त्यस्ता धेरै लेखकहरु छन्, विशेश्वेरप्रसाद कोइराला , गुरुप्रसाद मैनाली, रमेश विकल, कविहरुमा लेखनाथ पौडेल , माधव घिमिरे , भुपी शेरचन आदि । उहाँहरुको पुस्तकका लेखन शैली, लेखन परिसार उत्कृष्ट हुन्छन्। यस्ता किताबमा विचार र दर्शनको ओझ पुगेका हुन्छन्, अनुसन्धान धेरै हुन्छन्।

५) पढ्ने वातावरण कसरी बन्यो र प्रेरणा कसरी मिल्थ्यो ?

मेरा माता पिताको भूमिका सबैभन्दा महत्वपूर्ण छ। बाबा नभए पनि, घरमा दु:ख थियो। तर आमाले अभाव भएपनि महशुस हुन दिनुभएन। दु:ख, टेन्सन भन्दा टाढा राख्नुभयो। प्रेरणा बुबाबाट पाए, आमालाई मैले स्याबासी पाएको मन पर्थ्यो।

उहाँले वातावरण बनाइदियो भयो। अनि म हौसिए। रुचि सानैदेखि साहित्यमा थियो । कथा, कविताका किताब मन पर्थे। पढदा पढ्दै लत लाग्यो। पछितिर साहित्यिक गतिविधि, सक्रियता र साथीभाइको सङ्गतले पनि पढ्ने वातावरण बन्यो।

६) पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ ?

विपीको नरेन्द्र दाइ उपन्यास र केही कथाहरुमा आफ्नो जीवनका बाल्यकालीन घटनाहरुको झल्को पाउँछु। विपीको नरेन्द्र दाईमा ‘म’ पात्र छन् यीनी नदीको किनारमा, बनमा खेल्छन्।

बाल्यकालमा मेरो घर छेउमा सुन्दर छेडी खोला थियो, माछा मार्ने ताल थिए, पाले वन, रानी वनमा,मा हामी दगुरेका छौँ। जयराज, शिद्धराज, लछ्छीराम अनि अरुसँग बालुवामा मडारिएका छौँ। मलाई नरेन्द्र दाईले बाल्यकालमा फर्काएको छ।

७) मन परेको किताब कुन हो ?

मन परेका किताबहरु धेरै छन् गौरी, मुनामदन, तरुणतपसी, सुम्निमा, खबुज द्रोपती , द्रोणकी आत्मकथा आदि । ‘गौरी’ ७ कक्षामा हुँदा सुनेको अनि ठूलो भएपछि फेरी पढ्न मन लाग्यो र पढे। यी पुस्तक राम्रा छन्।

८) पुस्तक दोहोर्याएर पढ्ने बानी छ ?

कैयौँ पुस्तकहरु दोहोर्याएर पढेको छु।तर सबै पुस्तक दोहोर्याएर पढ्दिन। मैले ‘मुनामदन’ र ‘गौरी’, ‘नासो’ का धेरै कथा अनि ‘सुम्निमा र नरेन्द्र दाइ’ पढेको छु। यी किताबमा दृष्यहरु आइरहन्छन्। किताब पढेर धित नमरेसी फेरि पढ्छु।

९) पढ्नै पर्ने पुस्तकहरु ?

संसारका सबै पुस्तक पढ्न लायक र पढ्नै पर्ने हुन्छन् ।तथापि पढ्नै पर्ने केही पुस्तक, मनु शर्माको द्रोणकी आत्मकथा बेन्यामिनको खबुज, डा. प्रतिभा रायको द्रोपती वीपी कोइरालाका सुम्निमा ,तीनघुम्ती, मोदिआइन , सत्यकेतु विद्यालङ्कारको चाणक्य , जर्ज अरबेलको एनिमल फर्म आदि।

१०) पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

शान्त, एकान्त र प्रकृतिको काखमा या नदीको किनार या आफ्नै सुनसान कोठा पढ्नका लागी उपयुक्त ठाउँ हुन् । यस्ता ठाउँमा पुग्दा मन प्रफुल्लित हुन्छन् र मन प्रफुल्लित भएसी पढ्न मज्जा आउँछ।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्