उच्च सुरक्षाबिच धनपालधान–२ मा वडाध्यक्षका लागि मतदान हुँदै

मोरङ – मोरङको धनपालथान गाँउपालिकाको वडा २ मा अध्यक्ष पदका लागि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । शनिबार बिहान ९ बजेसम्म सो वडाका दुई मतदान केन्द्रमा ५ सय मत खसेको बताइएको छ।

वडा नम्बर दुईमा कुलमा ६ जना उम्मेदवारबिच प्रतिस्पर्धा रहेको छ। नेपाली कांग्रेसका नारायण साह, नेकपाबाट पंकज मण्डल, सिके राउतको जनमत पार्टीबाट चनरादेवी मण्डल, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पासवान, नेपाल लोकतान्त्रिक पार्टीबाट इचनारायण मण्डल र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तर्फबाट ज्योति पासवानको उम्मेदवार रहेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच सहकार्य रहेको छ। समाजवादी पार्टीले कांग्रेस नेता साहलाई समर्थन गरेको छ। त्यसैगरि अर्कोतर्फ नेकपाले स्थानीय पंकज मण्डललाई उम्मेदवार बनाएको छ। राजपाका चन्दानन्द मण्डलले उम्मेदवारी फिर्ता लिएका थिए।

गाविस भवन अमाही र जनता मावि मैजेवरियाती गरी दुईवटा मतदान केन्द्र रहेको छ। वडा नम्बर दुईमा ४ हजार ७४ मतदाता संख्या रहेको छ।

तत्कानीन एमालेतर्फबाट जित हात पारेका वडाध्यक्ष बलराम भगतको गतवर्ष जेठमा सर्पले डसेर मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो।

वडाको दक्षिणतर्फ भारतीय सीमा क्षेत्र भएकोले निर्वाचन अवधीभर पैदलयात्रुसमेतमा रोक लगाइएको छ। निर्वाचन अवधीभर सुरक्षाका लागि प्रहरीलाई प्रमुख नाका अमाहीमा राखिएको छ।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्