नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिभावकत्व लिएका चिवतनको भरतपुर २८ का अरुण माझी मुसहर बस्ने छानो खसेका घर, जसको भित्ता पनि छैन ।
लाज मानेको अभिभावकत्व

चितवनमा ‘प्रचण्डका छोरा’ को यो कन्तबिजोग

अरुणाले राम्रोसँग सुकाएको भूरा माछा मसिनो हुने बनाएर पिसिन्। ठूलो लोहोरो मज्जाले घुमाउँदै लसुन र हरियो खुर्सानी पनि मसिनो हुने गरी पिसिन्। सिलौटो भरि चटनी तयार भयो।

जुठेल्नो पल्तिरको बोटबाट टिपेको खुर्सानी देख्दैमा पिरो लाग्थ्यो। चटनीलाई कचौरामा हालिन्। सिलौटो सिनित्त पारेर सोहोरिन् र कचौरा लिएर भित्र पसिन्।

नारायणी नदीको किनारको बस्ती, बर्दाहा जंगलको आडमा छ, अरुणा माझी मुसहर बस्ने घर । चितवनको भरतपुर महानगरपालिका २८, दद्रहनीको यो घरमा बेलुकाको खाना तयार भएको थियो।

बेलुकाको खानका लागि चटनी पिस्दै गरेकी अरुणा माझी मुसहर, उनी अरुणकी दिदी हुन् ।

दिनभरि लगाएर मारेको केही माछा लिएर साझापुर बेच्न जानु अरुणाकी हजुरआमाको नियमित धन्दा बनेको छ। अरुणाका बुवा राजकुमार केही समयपहिले दुर्घटनामा गम्भीर घाइते भएका थिए। निधारमा गम्भीर चोट लागेका राजकुमार ११ दिनको अस्पताल बसाइपछि बल्ल घर फर्किएका थिए।

झण्डै वर्षदिन अघि भन्दा यो घरको रुप केही फेरिएको थियो। केही चर, केही ह्वाङ्ग। तर समग्रमा उदेक लाग्दो तर दुःखद नै थियो अवस्था।

२०७५ सालको पुसमा हामी पहिलो पटक अरुणलाई खोज्दै जाँदा उनकी दिदी अरुणा र बुवा राजकुमारसँग भेट भएको थियो।

अरुण तिनै बालक हुन्, जो केही सीमित मध्ये पर्छन् जसले देश हाँकिरहेका नेताहरुको संरक्षण पाए। र केही चर्चामा पनि आए।

सरकारले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्यसहित हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान गर्ने गरेको छ। २०७५ वैशाखको भर्ना अभियान भिन्न र भव्य थियो। कारण त्यो वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न नेताहरुले औपचारिक रुपमा केही बालबालिकाको अभिभावकत्व लिएका थिए। प्रचार ठूलो थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिभावकत्व लिएका चिवतनको भरतपुर २८ का अरुण माझी मुसहर।

सोही क्रममा अरुण माझी मुसहरको अभिभावकत्व नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले लिएका थिए। प्रचण्डले अरुणसँगै भरतपुर महानगरपालिका २८ को साझापुर माध्यामिक विद्यालयमा अर्का बालक पत्रुस मुसहरको पनि अभिभावकत्व लिएका थिए।

त्यसपछि उनीहरुको परिचय फेरियो। र बने ‘प्रचण्ड पुत्र’। उनीहरुलाई स्कूलमा साथीहरुले प्रचण्डको छोरा भन्न थाले।

‘प्रचण्ड पुत्र’ को परिचय पाएका अरुणको अवस्था भने खासै फेरिएको देखिएन । वा भनौँ ‘प्रचण्ड’ थियो उनका समस्याहरुको राप । उनी नियमित स्कूल आएका थिएनन् । कारण खोज्दै जाँदा गएको पुसमा उनको अवस्था छर्लंग भएको थियो ।

मुश्किलले अडिएको छानो मात्रै, भित्ता बिहीन घरका बासिन्दा थिए उनी । खानेकुरा शून्य प्रायः थियो । स्कूल भन्दा के खाने, कसरी रात काट्ने त्यो कटेरोमा, त्यो उनको प्राथमिकता या चुनौति बनेको थियो ।

यो पटक केही आश लाग्यो अनि टुट्यो

छानो खसेको घरमा बस्न बाध्य छन् अरुण र अरुणा ।

८ महिनापछि हामी फेरि गएको अशोजमा अरुणको घर गएका थियौँ । महानवमीको अपरान्ह थियो । जताजतै दसैँको रौनक, सबै परिवारसँग रमाएका । विभिन्न परिकार पाकेका थिए, प्रायः का घरमा ।

तर दसैँ अरुण र अरुणाको बस्तीबाट टाढै रह्यो । उनीहरुको घरमा सन्नाटा थियो।

८ महिना अघि भित्ता बिहीन घर परबाट हेर्दा यो पटक अलि फरक देखिन्थ्यो । बाटोबाट हेर्दा बार बेरिएको देखिन्थ्यो । लाग्यो, ‘घरमा भित्ता आए छ, शायद आनन्दले निदाउन सके होलान् ।’

तर भ्रम टुट्न बेर लागेन । नजिकै पुगेपछि वास्तविकता उदांगियो । काँसले केही भागमा बारिएको रहेछ । चरबाट घामका किरण भित्र छिरेका थिए । भित्ता जस्तो देखिने काँसको बार नाम मात्रैको भित्ता थियो । आधा जति चाहिँ खुल्लै थियो ।

यो पटक उनीहरुको घरको आधा छानो खसेको रहेछ । बर्खा यहि खसेको छानोमा बिताएका हुन् अरुण, अरुणा र उनकी हजुरआमाले । बुवा राजकुमारको भर हुँदैन, उनी कहिले घर आउँछन्, कहिले आउँदैनन् । उस्तै परे बाटोमै लड्छन् । बिचको धुरी खाँबोबाट पश्चिम तिरको भागको छानो खसेको घरमा रात बिताउनुको विकल्प छैन उनीहरुसँग ।

उही करो फुक्लेको कराई…

कराईमा पाकेको भातको सितन छेउमा राखिएको कचौरामा रहेको चटनी हो ।

आधा छानो खसे पनि आधा घरले आकाश छेकेको छ । उनीहरुको बास त्यहि आधा भागमा समेटिएको छ अहिले ।

घर बाहिरको सिलौटोमा पिसेको चटनी अरुणाले धुरी खाँबोको आडमा रहेको ढुंगे चुलो नजिकै राखिन् ।

चुलोमा निभ्न लागेका केही अगुल्टा थिए । आगो ओझिइ सकेको छ । चुलोमाथि उही करो फुक्लेको कराई राखिएको छ । त्यही कराइमा उनले हामी अघिल्लो वर्ष जाँदा भात पकाउँदै थिइन् । यसपटक भने उनले चाँडो गरिछन्, भात पाकिसकेको थियो । कराईमा पाकेको भात स्टिलको थालले छोपिएको थियो ।

महानवमीका दिन अरुणाले भाइ, हजुरआमा र भर्खरै अस्पतालबाट फर्किएका बुवाका लागि कराईमा भात र सितनका लागि चटनी बनाएकी थिइन् ।

अरुण साथीहरुसँग खेल्दै थिए, दिदीले काम गरेको हेर्दै पनि । उनीहरुलाई हजुरआमाको पर्खाई थियो पाकेको भात र तयार भएको चटनीको स्वाद लिन ।

चिसो भूईँमा ओछ्यान

रात बिताउने ओछ्यान

चुलोसँगै केही थोत्रा र मैला लुगाहरुको झोक थियो । सबै लुगाहरु लगभग उस्तै पुराना र थोत्रा । उस्तै मैला पनि ।

बिचको धुरी खाँबोको अर्को पट्टि, चुलो भन्दा केही पर ओछ्यान लगाइएको थियो । बोरामाथि पुरानो थाङ्ग्नो ओछ्याइएको । त्यहि बिस्तारा थियो उनीहरुले रात कटाउने । भूईँको चिसो र माथिबाट सित र पानी हरेक दिनको नियती थियो उनीहरुको ।

अहिले पनि उनीहरुको घरको अवस्था उस्तै छ । दसैँदेखि अहिलेसम्म केही फेरिएको छैन । अरु छानो केही थप खसेको छ, घर भित्रबाट देखिने आकाश अरु फैलिएको छ । त्यसैले उनीहरु आफ्नै घर भित्र थप खुम्चिएका छन् ।

स्कूल छोडेका छैनन्


घर मन बराल्ने छ । तर उनीहरुको लगन भने आश लाग्दो । अरुण र अरुणाले स्कूल छोडेका छैनन् । अरुण पास भएर दुई कक्षामा गएका छन्। अरुणा पनि पाँचमा पुगिन् । सकेसम्म नियमित स्कूल जाने गरेको उनीहरुले बताए । तर घरमा खाने कुरा नभएर कहिले बिहान नखाई जानु पर्छ । हजुरआमाले काम नपाउँदा बेलुका खान नपाएका रातहरु धेरै छन्।

चाहेर पनि अरुण र अरुणा नियमित रुपमा स्कूल जान सकेका छैनन् । साझापुर माध्यामिक विद्यालयको व्यवस्थापन समितिकी अध्यक्ष लालु अधिकारीलाई पनि उनीहरुको समस्या थाहा छ । तर जति प्रयास गरे पनि केही गर्न नसकेको उनले बताइन् ।

उनले भनेको ‘जति प्रयास गरे पनि’ को अर्थ स्पष्ट थिएन । घरमा बलियो भित्ता र घाम–पानी छेक्ने छानो भए अरुण र अरुणालाई केही सहज हुने थियो, त्यसका लागि प्रयास गरेको उनले दाबी गरिन् ।

अवस्था यस्तै रहने र समस्याहरु थपिँदै जाने हो भने अहिले स्कूल आइरहेका उनीहरु लामो समय स्कूल आउँछन् भन्नेमा अध्यक्ष अधिकारीलाई शंका छ ।

यता अरुणको अभिभावकत्व लिएका प्रचण्ड पार्टीमा थप बलियो बनेका छन् । उता उनका ‘पुत्र’को घर थप भग्नावशेष र भविष्य अन्यौलको मार्गमा छ ।

अभिभावकको अर्थ संरक्षक या पालनकर्ता हुन्छ बालबालिकाका लागि । उनीहरुको अध्ययनका लागि स्कूल पोसाक, पुस्तक र कापी कलम मात्रै काफी हुँदैन । त्यसका लागि वातावरण पनि चाहिन्छ, जुन ‘प्रचण्ड पुत्र’ अरुण र उनकी दिदी अरुणाले पाएका छैनन् अझै पनि ।

मंसिर १४, २०७६ मा प्रकाशित