कास्की–२ उपनिर्वाचन

‘बम’को त्रास छिचोल्दै उत्साहजनक मतदान !

मतदानमा सहभागि मतदाताहरु। तस्बिर: ईश्वर देवकाेटा/ देश सञ्चार।

पोखरा – उपनिर्वाचनका दिन पोखरा १६ अर्मला जुम्लेटीस्थित शान्ति माध्यमिक विद्यालयको मतदानस्थल एकाबिहानै अशान्त बन्यो। हप्तादिन यतादेखिको निरन्तर नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको पहरा छिचोल्दै अज्ञात समूहले बम राख्यो।

त्रास फैलाउने र मतदातालाई मतदान स्थलसम्म आइपुग्न नदिन उक्त समूहले योजनावद्ध रुपमा बिस्फोटक पदार्थ राखि छाड्यो। शनिबार अर्थात् मतदान सुरु भइसकेपछि झन्डै साढे सात बजेको आसपासमा मतदान स्थलको गेटभन्दा १० मिटर छेउमै पड्किएको बिस्फोटक पदार्थले शान्त अवस्था एकाएक बिथोल्यो। शान्ति माविको मतदानस्थलमा उभिएका मतदाता तितरबितर भए।

उक्त क्षेत्र पोखरा महानगर नै भएपनि ग्रामीण स्तरकै छ। त्यहाँ एक साताअघि देखि नै सबै सुरक्षाका फौज परेड चलाइरहेका थिए। तर कसरी बिस्फोट भयो एकाएक शंसय फैलियो। निरन्तर खटिइरहेका एक शसस्त्र प्रहरी आफैं चकित परे। उनले भने, ‘मतदानस्थलको गेटभन्दा १० मिटर पर कसरी बिस्फोट भयो !’निर्वाचन कार्यक्रम नै भाड्न लागिपरेको अज्ञात समूहको बिस्फोट गराउने र मतदाता तर्साउने योजना फेल भयो। झन्डैं १२ बज्नै लाग्दा एकाएक उर्लिएको मतदाताको हुलले मतदानस्थलमा खटिएका कर्मचारीसहितका विभिन्न दलका प्रतिनिधिको अनुहार उज्यालियो।

बिहान बम बिस्फोट भएपछि अशान्त मच्चिएको उक्त स्थलमा युवा, महिला मात्रै होइन वृद्धबृद्धाको पनि उपस्थिति राम्रो देखियो। पोखरा १६ कुरेचौर निवासी ९१ वर्षीय राधाकृष्ण आचार्यले पनि आफन्तकै बुइँ चढेर भएपनि मतदान गरी छाडे।

अशक्त, वृद्धा, अपाङ्गता भएका व्यक्तिलाई सहायता दिई लाइनमै बस्नु नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएकोे थियो। छोरा र लौरीको सहारामा मतदानस्थलसम्म आइपुगेका कुरेचौरकै ८२ वर्षीय शिवप्रसाद आचार्यले पनि छोटो समयमै मतदानको काम सके।

मतदान स्थल वरीपरी उत्सवको माहोल देखिन्थ्यो। ३ वटा केन्द्रमा मतदान गर्ने मतदातामध्ये पुरुषभन्दा महिलाको संख्या बढी छ। सोहीकारण पनि महिलाको लाइन लामै भयो। त्यही मेसोमा छेउमै बसेर सुन्तला र बदाम बेच्नेहरुले ‘हाट बजार’को झलक दिए।

‘एक हप्ता अघिदेखि मतदानस्थलको सुरक्षाका लागि यहीँ छौँ,’ ड्युटीमा खटिएका शसस्त्र प्रहरीले भने, ‘अचानक बिस्फोटको आवाजले हामीलाई नै आश्चर्य बनायो।’ उक्त मतदानस्थल सुरक्षा दृष्टिले संवेदनशीलमा राखिएको थियो।

सोही अनुसार फौज परिचालन भएपनि बिस्फोट हुँदा शान्ति माविमा बिहानको त्रस्त माहोलले मतदाता नआउने हुन् की भन्ने शंसय फैलाएको उनले बताए। सेनाको डिस्पोजल टोलीले दुईमध्ये एक नपड्किएको स्टिलकाे बट्टा चेक गर्दा खालि रहेको पाएको थियो। शान्ति माविमा ३ केन्द्रका जम्मा ३ हजार ७ मतदाता छन्।

मतदातालाई त्रस्त बनाउन मतदान सुरु हुँदै गर्दा पोखरा ९ नयाँबजारको नवप्रभात माविमा पनि बम बिस्फोट भएको थियो। मतदान गर्ने पेटिका भन्दा झन्डै १५ मिटरको दूरीमा बिस्फोट हुँदा मतदान नै केही समय स्थगन भई पुनः सुरु गरिएको थियो। पछिल्लो अपडेट अनुसार नवप्रभात माविको एउटा केन्द्रका ९ सय ६० मतदाता मध्ये ५ सय ३८ मत खसिसकेको छ।

एकै समय आसपासमा पोखरा ३३ स्थित सरस्वती टिका मावि चिर्गादी नजिकै बम बिस्फोट भएको थियो। दिउँसो १२ बजे आसपास पोखरा १६ चण्डिका आधारभूतस्थित मतदानस्थल नजिकै बिस्फोट भयो। छुटाछुट्टै समयमा बिस्फोट गराइएका घटनाको प्रकृति एउटै छ। मतदानस्थल भित्र वा अति नजिकको दूरीमा बिस्फोट भएको देखिन्छ।

बिस्फोटका कारण हालसम्म कुनै पनि क्षति नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

‘उपनिर्वाचन भइरहेका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा मतदानको काम शान्त र सुरक्षित रुपमा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘कुनै–कुनै मतदान केन्द्रको क्षेत्रमा छिटफुटका घटना भएका हुन्। त्यसले मतदान प्रक्रियामा असर पारेको छैन।’

कास्की क्षेत्र २ मा पोखरा महानगरका ११ वडा छन्। ३२ मतदानस्थलका ८२ केन्द्रमा शान्तिपूर्वक मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिृकत महेन्द्र सुवेदीले जानकारी दिए। दिउँसो ४ बजेसम्मको अपडेट अनुसार कास्की २ मा ६० प्रतिशत मतदान भएको उनले बताए। यहाँ ७१ हजार ८ सय ७१ मतदाता छन्।

सबै तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्