दाङमा ६६ प्रतिशत मत खस्यो, वडाध्यक्षको मतगणना आजै

फाइल तस्विर

दाङ– दाङ निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेससभा (२)मा रहेका कुल ६८ हजार ७ सय १९ जना मतदातामध्ये ४५ हजार ७ सय १९ मत खसेको छ।

जसमा ३० हजार १ सय २८ पुुरुष र २५ हजार ५ सय ९० महिला मतदानमा सहभागी भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। खसको मत संख्याको आधारमा ६६.५२ प्रतिशत मत खसेको हो।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१६ मा ४ हजार ४ सय ५३ मतदाता मध्ये ३ हजार २ सय २६ जनाले मात्रै भोट हालेका छन्।

बिहान ७ बजेदेखि जारी मतदान प्रकृया बेलुका ५ बजेसम्म चलेको थियो। मतदान सकिए लगत्तै मतपेटिका सुरक्षित साथ घोराही ल्याउन थालिएको छ।

घोराहीमा दाङ देउखुरी जिल्ला अदालत र जिल्ला समन्वय समितिमा मत गणना गरिनेछ।

वडा अध्यक्षको मत गणना शनिबार रातिदेखि शुरु गर्ने तयारी छ। प्रदेश सभा सदस्यको हकमा भने आइतबार बिहानबाट गरिने निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेससभा सदस्यतर्फ १२ राजनितिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धामा छन् भने घोराही १६ मा पाँच राजनितिक दल र दुई स्वतन्त्र गरी सात जनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन्।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्