सुदूरपश्चिममा उपनिर्वाचन सम्पन्न, अधिकांश स्थानमा आजै मतगणना

धनगढी– सुदूरपश्चिमका विभिन्न जिल्लाका सात वडामा वडाध्यक्षका लागि शनिवार मतदान सम्पन्न भएको छ।

कञ्चनपुर, बैतडी, डोटी, अछाम र बाजुरा गरी पाँच जिल्लामा रिक्त रहेका सात वडामा निर्वाचन सम्पन्न भएको हो। सातै वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

कञ्चनपुरको पुनर्वास–३ मा भएको निर्वाचनमा भने नेकपा विजयी भएकाे छ। नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ।

उक्त वडामा भएका १ हजार १ सय ९९ मतदातामध्ये ९ सय २४ मत खसेको निर्वाचन अधिकृत गोपाल बास्तोलाले जानकारी दिए।

यस्तै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–१ छतारामा एक हजार ३९ जना मतदाता मध्ये सात सय २७ मत खसेको निर्वाचन अधिकृत भोलाराज रेग्मीले जानकारी दिए। उनका अनुसार ती मध्ये तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेका छन्। तीन सय १२ मत भने खसेन। रोजगारीका लागि भारतमा नोकरी गर्न गएकाले मत नखसेको बताइएको छ।

तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो। २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए। त्यहाँ आजै रातीबाट मतगणना गरिने बताइएको छ।

यसैगरी बैतडीको सुर्नया गाउँपालिका वडा नंम्बर १ मा ७०.७५ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालयले बैतडीले जानकारी दिएको छ। बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार ६ सय १९ मतदाता मध्य ४ सय ३८ ले मतदान गरेका छन्।

बैतडीकै दोगडाकेदार गाउँपालिका ४ मा ६०.७३ प्रतिशत मत खसेकाे छ। प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार सो वडामा १ हजार ८ सय ८ मतदाता मध्य १ हजार ९८ ले मतदान गरेका छन्। यस्तै बैतडीकै पुचौडी गाउँपालिका ४ मा ७० प्रतिशत मत खसेका छन्। १ हजार ९ सय ९ मतदाता मध्ये १ हजार ३ सय ३६ मत खसेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक पाण्डेले बैतडीका तिन वटै वडामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको बताउँदै सुर्नया गाउँपालिका १ मा आजै राति मतगणना हुने र बाँकी दुई वडामा आइतबार मात्र मतगणना हुने जानकारी दिए।

डोटीको आर्दश गाउँपालिका–२ मा २ हजार ४ सय ५९ मतदातामध्ये १ हजार ५ सय ९० ले मतदान गरेको प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए। उनका अनुसार निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएको र आजै राती मतगणना हुनेछ।

यसैगरी अछामको मेललेख गाउँपालिका वडा नम्बर ५ मा पनि शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीका अनुसार १ हजार ९ सय ४ मतदाता मध्य १ हजार ३ सय ४ जनाले मतदान गरेका छन्। उनका अनुसार आजै राती देखि नै मतगणना शुरु हुनेछ।

उपनिर्वाचनका लागि सुदूरपश्चिममा १२ मतदान स्थल र १५  मतदान केन्द्र तोकिएका थिए।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्