जोसे मोरिन्हो आएपछि लगातार जित यात्रामा टोटनह्याम

जोसे मोरिन्होले प्रशिक्षकको जिम्मेवारी सम्हालेयता टोटनह्यामले लगातार जित दर्ता गर्दै आएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जोसेको टिम टोटनह्यामले बोर्नमाउथलाई ३–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि डेल अलीले दुई तथा मोउसा सिसोकाले एक गोल गरे । बोर्नमाउथका लागि दुवै गोल ह्यारी विल्सनले गरेका हुन् । अलीले २१ र ५० औँ तथा सिसोकोले ६९ औँ मिनेटमा गोल गरेका हुन् ।

३–० ले पछि परेको बोर्नमाउथ त्यसपछि खेलमा फर्किने प्रयासमा देखियो । उसका लागि विल्सनले ७३ औँ मिनेटमा पहिलो गोल गरे । इन्जुरी समयको छैटौँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे पनि हार टार्न भने सकेनन् ।

जोसेको प्रशिक्षणमा लगातार तेस्रो जित दर्ता गरेको टोटनह्याम १४ खेलबाट २० अंकसहित पाँचौँ स्थानमा पुगेको छ । शनिबार राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले बर्नलीलाई २–०, वेष्टह्यामले चेल्सीलाई १–० तथा साउथह्याम्पटनले वाट्फोर्डलाई २–१ ले पराजित गरेको छ ।

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्