कास्कीमा १२ हजार मत गनिसक्दा रवीन्द्र मिश्रको ‘साझा पार्टी’लाई कति मत?

साझा पार्टीकी उम्मेदवार रजनी केसी । तस्बिरः ईश्वर देवकोटा देश सञ्चार

पोखरा – कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म कास्की २ का ११ वडामध्ये ३ वटा वडाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । पोखरा ३३, २१ र २० को मत गन्ने काम सकिएको उनले बताए ।

हालसम्मको मतपरिणाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई अगाडि देखिएकी छन् । उनले ८२६५ मत प्राप्त गरेर पहिलो स्थानमा अग्रता कायम राखेकी छन् । मुख्य प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेल ३६८२ मत पाएर दोस्रो स्थानमा छन् ।
३ वटा वडाका कुल १२ हजार ६ सय २६ मत गन्ने काम सकिएको हो । जसमा वैकल्पिक राजनीतिक शक्ति भनिएको रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले ९० मत पाएको छ ।

साझाबाट पोखराकी रजनी केसी उम्मेदवार छन् । समाजवादी पार्टीले भने साझालाई उछिनेको छ । समाजवादीका उम्मेदवार धर्मराज गुरुङले ३ वटा वडाबाट १ सय ७२ मत पाएका छन् ।

त्यस्तै, अर्काे वैकल्पिक राजनीतिक शक्ति भनिएको विवेकशील नेपाली दलकी उम्मेदवार जमुना शर्माले १० मत पाएकी छन् । उनी स्वतन्त्रबाट चुनावमा सहभागी भएकी हुन् । उनको चुनाव चिह्न ‘गुलाफको फूल’ हो ।

कास्की २ मा ११ वटा वडा छन् । शनिबार सम्पन्न निर्वाचनमा उक्त क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । अहिले वडा १६ र १७ को मतगणना हुँदै छ ।

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्