‘पुनर्जन्म’ पाएकाले मनाए ‘जन्म दिन’

नेपालगञ्ज – ‘खाली दिमाग सैतानका घर’ फुर्सदमा रहेका नेपालगञ्जका सहदेव श्रेष्ठलाई पनि मदिरारुपी सैतानले गाँज्नु गाँज्यो । नेपालगञ्जको चर्चित स्कूल एञ्जल्समा २५ वर्ष शिक्षक भएर सम्मानित जीवन बिताएका उनी त्यहाँबाट हटेपछि खाली मात्रै भएनन्, ‘अल्कोहोलिक’ नै भए ।

उनी साथीभाईको संगतले मदिराप्रेमी बने । नराम्ररी फसे । मदिराले उनको मात्रै होइन, घरपरिवारकै सम्मान गिरायो । एक समय यस्तो आयो कि ‘अब बाँच्दैन’ भन्नेसम्म भयो । आजित भएका घरपरिवारले उनलाई नवकिरण पुनस्र्थापना केन्द्रमा पठायो । एक महिनाका लागि पुनस्र्थापना केन्द्रमा पुगेका श्रेष्ठ त्यहाँको वातावरणले गर्दा पाँच महिना बसे । ‘

‘नवकिरणमा गएपछि मलाई यत्ति आनन्द र शान्ति मिल्यो कि म थप चार महिना बसे’, श्रेष्ठले भने, ‘नवकिरणले मेरो जीवन सुधारिदियो । मेरो दिमागबाट सैतानरुपी मदिरा भगाइदियो ।’

खेल शिक्षक हुँदै नैतिक शिक्षा पनि पढाए श्रेष्ठले । विद्यार्थीलाई नैतिक शिक्षा पढाउने उनी स्कूल छोडेपछि आफै अनैतिकजस्तै भए । ‘समयमै सुध्रिए, मदिरा छोडेको चौथो वर्ष पूरा भएर पाँचौ वर्ष प्रवेश गरेका श्रेष्ठले थपे, सुध्रिए । गुमाएको मानसम्मान, इज्जत फर्किदैछ ।’
नवकिरणमा बसेको दुई महिनापछि ६ वर्षकी छोरी एञ्जलिस उनलाई भेट्न नवकिरणमा पुगेकी रहिछन् । बुवासँग भेटिसकेपछि छोरीले नवकिरणका निर्देशक उत्तम खरेललाई सोधिछन्, मेरो बुवाले अहिले त रक्सी खानु हुँदैन नि ?’ ६ वर्षकी छोरीको यस्तो प्रश्नले श्रेष्ठलाई अझ लज्जित बनाएछ । श्रेष्ठले भने, ‘मैले मेरो परिवारलाई कति दुखित गराएको रहेछु भन्ने थाहा पाए । छोरीको त्यो प्रश्नले मेरो दिमाग नै खल्बलाइदियो । मदिरा छोड्न अझ प्रेरित ग¥यो ।’

नवकिरणमा ५ महिना बस्दा श्रेष्ठले आठ घण्टा पढ्नु पथ्र्यो । विद्यार्थीलाई पढाएर बसेका उनलाई आफै पढ्नु पर्दा अझ धेरै सिक्ने मौका मिल्यो । आज उनको घरपरिवारमा हाँसीखुशी फिर्ता भएको छ । ५० रुपैयाँ माग्दा ‘रक्सी खानालाई त होला नि ?’ भन्ने घरपरिवारले विश्वास गरेका छन् । ‘गुमेको विश्वास र सम्मान फिर्ता हुँदैछ’, श्रेष्ठले भने, ‘अहिले मैले इभल्व केयर होस्टेल चलाएको छु । राम्रै भइरहेको छ ।’

नवकिरणले शनिबार ‘सुध्रिएका’हरुको सामूहिक जन्म दिन मनाइदियो । श्रेष्ठले पनि चौथो जन्मदिन मनाए । यो वास्तविक उमेरको जन्म दिन होइन, सुध्रिएको वर्षलाई गनेर मनाइने जन्म दिन थियो ।

खजुराका विनोद कार्की ३९ वर्षका भए । उनले शनिबार नवकिरणमा ‘पहिलो जन्म दिन’ मनाए । अल्कोहोलिक कार्कीले मदिरा छोडेको एक वर्ष भएकाले पहिलो जन्म दिन मनाएका हुन् । नेपाली सेनाका भुपु हवल्दार मेजर कार्कीले १५ वर्षको हुँदादेखि नै मदिरा खान थालेका थिए । मदिरामा उनको लत यसरी बढ्यो कि नेपाल आर्मीको कडा अनुशासनले समेत छेकेन । डिउटी मिलाउने हवल्दार मेजर आफै मस्त हुने गर्दथे । ‘डिउटीमा रहदा पल्टिने गरी खादैनथे । तर, डोज कम हुने बित्तिकै थपिहाल्थे’, कार्कीले भने, ‘आधाबढी तलव त मदिरामै सिध्याउँथे ।’

कार्कीले बेलाबेलामा मदिरा छोड्ने प्रयास पनि गरे । तीन महिना रक्सी छोएनन् । छोरीको जन्म दिनमा फेरि ढल्ने गरी खाए । अति नै भएपछि उनी नवकिरण सुधार गृहमा आए । एक वर्षदेखि सुधार गृहमा बसेका उनी मदिरादेखि टाढा छन् । सुधार गृहमा आएर मदिरा छोडेको दिनलाई पुनर्जन्म भन्दै कोहलपुरका पूर्ण रानाले पनि शनिबार पहिलो जन्म दिन मनाए । गाडीमा कन्डक्टरको काम गर्ने रानाले १३ महिनादेखि मदिरा छोएका छैनन् । राना भन्छन्, ‘म अब सुध्रिए ।’

अल्कोहोलिकमात्रै होइन, लागु औषधमा चुर्लुम्म डुबेर त्यसलाई चटक्क छोडी आफै अभियान्ता बनेर हिडेका अभिराज क्षेत्री, रजत थापा, आशिष राई, उज्वल सुनार, रमेश पोखरेल (नाम परिवर्तन)ले शनिबार सामुहिक जन्म दिन मनाएका छन् ।

कोही पहिलो वर्ष त कसैले आठौं जन्म दिन मनाएका छन् । उज्वलको तेस्रो जन्म दिन थियो । तीन महिना उपचार केन्द्रमा बसेपछि लागु औषधी खाना छोडेका उनी अहिले लागु औषधीविरुद्धको अभियान्ता पनि हुन् । उनले १४ वर्षको उमेरदेखि लागु औषधी खाएका थिए । लगातार सात वर्ष खाए । उनले वास्तविक जन्म दिन परिवारसँग मन्दिर गएर मनाउँछन् । पुनर्जन्मको जन्म दिन बृहत रुपमा मनाउने गरेका छन् ।

२६ वर्षका रजतले पाँचौ जन्म दिन मनाए । खासमा उनी असार २० गते जन्मिएका हुन् । आठ वर्ष लागु औषधीमा भुलेका उनलाई वास्तविक भन्दा यो पुनर्जन्मको जन्म दिन प्यारो लाग्छ । बर्दियाका रमेशले छैठाँै जन्म दिन मनाए । साउन ३१ गते जन्मिएका उनलाई १५ वर्षको अध्यारो जीवन पार गरेकाले पुनर्जन्मको जन्म दिन राम्रो लाग्छ । शिक्षण पेशामा रहेकाले उनले वास्तविक नाम नभन्न आग्रह गर्दै तीन महिना सुधार गृहमा बसेर गइसकेको १९ औं दिनमा लागु औषधी खाएपछि उनी फेरि सुधार गृहमा आएर तीन महिना बसेका थिए ।

अभिराज क्षेत्री त नेपालगञ्जका लागु औषधीविरोधी चर्चित अभियान्ता नै हुन् । पुनर्जन्मको आठौं जन्म दिन मनाएका उनले साहारा सुधार गृह सञ्चालन गरिरहेका छन् । लागु औषधीविरुद्धमा हुने जुनसुकै कार्यक्रममा उनको उपस्थिति अनिवार्यजस्तै रहेको छ । यद्यपि, लागु औषधको दलदलमा फस्दाको उनको जीवन कहालीलाग्दो रहेको थियो ।

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्