यी हुन् सागमा नेपालले पदक जितेका र पदक जित्न नसकेका खेलहरु

काठमाडौँ– नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको आशा पूरा हुने दक्षिण एसियाली खेलकुद-सागको १३ औँ संस्करणको औपचारिक उद्घाटन आइतबार साँझ दशरथ रंगशालामा हुँदैछ।

डिसेम्बर १० तारिखसम्म सन्चालन हुने प्रतियोगितामा २८ खेलमा तीन सय १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा नेपालका करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। महिला भलिबलमा फाइनल यात्रा तय गर्दै नेपालले प्रतियोगितामा ऐतिहासिक सफलता हात पारिसकेको छ।

नेपाल यसअघि साग भलिबलमा फाइनल पुग्न सकेको थिएन। घरेलु मैदानमा आयोजना भइरहेको प्रतियोगितामा नेपाल विभिन्न खेलमा ऐतिहासिक सफलता र पदक जित्ने प्रयासमा छ।

नेपालले हालसम्म भएका  साग (तत्कालिन साफ गेम्स)मा एथ्लेटिक्स, बक्सिङ, कराँते, भारत्तोलन, फुटबल, पौडी, टेबलटेनिस, कुस्ती, सुटिङ, जुडो, उसु, ब्याडमिन्टन, स्क्वास, भलिबल, कबड्डी, आर्चरी, ट्रायथलन , खो खो र  हक्कीमा पदक जितेको छ।

नेपालले ब्याडमिन्टन, भलिबल, स्क्वास, ट्रायथलन, खो-खो, हक्की, कबड्डी र आर्चरीमा स्वर्ण पदक जित्न सकेको छैन। यीमध्ये पनि भलिबल, स्क्वास, ब्याडमिन्टन, खो खो,  हक्कीलगायत खेलमा कास्यभन्दा माथि पुग्न सकेको छैन।

१२ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्यसहित कुल ६० पदक जितेर सहभागी ८ टोलीमा छैटौँ स्थानमा रहेको थियो। अफगानिस्तान यसपटक सहभागी छैन।

नेपालले १२ औँ सागमा पुरुष फुटबल, महिला उसु र महिला जुडोमा स्वर्णपदक जितेको थियो। तेक्वान्दोमा सात, उसुमा १०, जुडोमा २ तथा महिला फुटबल, पौडी, ट्रायथलन र भारत्तोलनमा एक–एक रजत जितेको थियो।

जुडोमा ६,  पौडी, बक्सिङ, भारत्तोलन र तेक्वान्दोमा ३/३, कुस्तीमा २, खो खोमा महिला र पुरुष टिम दुवैमा एक–एक तथा महिला भलिबल र टेबल टेनिसको पुरुष टिम इभेन्ट्समा कास्य पदक जितेको थियो।

पुरुष उसु, महिला ट्रायथलन, टेबल टेनिसको महिला डबल्स, पुरुष आर्चरी, पुरुष एथ्लेटिक्स र ब्याडमिन्टनमा पनि एक–एक कास्य पदक पाएको थियो। महिला हक्की टिम र महिला कबड्डी टोलीले पनि कास्य दिलाएको थियो।

तेक्वान्दोसहित मार्सल आर्ट्सका कराँते, जुडो, कुस्ती,  बक्सिङ, उसुमा सेमिफाइनलबाट बाहिरिने दुवैलाई कास्य दिने गरिन्छ। ब्याडमिन्टन, फेन्सिङ, साइक्लिङ, कबड्डी, खो-खो, स्क्वास, टेबल टेनिस र  लन टेनिसमा पनि सेमिफाइनलबाट बाहिरिने दुवै खेलाडीले कास्य पदक पाउने गर्छन्।

लामो समयपछि र ऐतिहासिक सफलता


पौडीमा नेपालले पहिलो पटक एकल स्पर्धामा पदक जितेको थियो। गौरिका सिंहले महिलाको चार सय मिटर फ्रिस्टाइल तथा एक सय र २ सय मिटर ब्याक स्ट्रोकमा कास्य जितेकी थिइन्। गौरिकाले अर्को एक इभेन्टमा नेपाललाई रजत पदक पनि दिलाएकी थिइन्।

नेपालले आठौँ साफ गेम्समा पौडीको महिला चार सय मिटर रिलेमा स्वर्ण पदक जितेको थियो। तर त्यसअघि र त्यसपछि कुनैपनि नेपाली पौडी खेलाडीले एकल स्पर्धामा पदक जित्न सकेका थिएनन्। प्रथम साफ गेम्समा नेपालले पौडीमा तीनवटा कास्य जितेको थियो।

त्यसपछि एकैपटक आठौँ साफ गेम्समा आएर पदक जितेको थियो, स्वर्णका रुपमा। त्यतिबेला नेपालले एउटा कास्य पनि जितेको थियो। त्यसयता १० औँ साफ गेम्समा मात्र नेपालले पौडीमा पदक जितेको थियो, कास्यका रुपमा।  रिलेमा पुरुष टोलीले उक्त सफलता दिलाएका थिए।

यसैगरि पुरुष फुटबलमा नेपालले २३ वर्षपछि स्वर्ण जितेको थियो। सन् १९९३ पछि पहिलोपटक साग पुरुष फुटबलमा स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई हराएको थियो। सन् १९९९ को साफ गेम्स फुटबलमा फाइनल पुगेपनि स्वर्ण जित्न असफल भएको थियो।

नेपालले सन् १९८४ मा आयोजित पहिलो साफ गेम्समा पनि स्वर्ण जितेको थियो। यसैगरि नंशलदेवी तामाङ साग ब्याडमिन्टनको एकल स्पर्धामा पदक जित्ने दोस्रो नेपाली खेलाडी भएकी थिइन्। त्यसअघि १० औँ सागमा सुमिना श्रेष्ठले एकल स्पर्धामा कास्य जितेकी थिइन्।

नेपालले साग ब्याडमिन्टनमा पदक जितेको त्यो पहिलोपटक थियो। त्यतिबेला नेपालले थप दुई वटा कास्य जितेको थियो ब्याडमिन्टनमा।  नंशलले पनि गत संस्करणमा महिला एकल स्पर्धामा कास्य जितेकी थिइन्। यसैगरि ट्रायथलनको टिम इभेन्ट्समा पहिलो सहभागितामै नेपालले रजत पदक जितेको थियो।

रोजा केसीले एकल स्पर्धामा कास्य जितेकी थिइन्। टिम स्पर्धामा समेत रहेकी रोजा यसपटक नेपाली टोलीमा छैनन्। यसैगरि जुडोमा सन् १९९५ पछि पहिलोपटक स्वर्ण जितेको थियो अर्थात सातौँ साफ गेम्सपछि। सन् २००६ मा आयोजित १० औँ साफ गेम्समा नेपाली जुडो खेलाडीले रजतसम्म जितेका थिए। त्यसयता रजत पदक पनि जित्न सकेको थिएन।

स्वर्णका आकांक्षीहरु


लगातार रजत पदकमा सिमित भइरहेको महिला फुटबल टोली यसपटक स्वर्ण जित्ने प्रयासमा छ। सन् २०१० मा आयोजित ११ औँ सागमा पहिलोपटक समावेश गरिएको महिला फुटबलमा नेपालले रजत जितेको थियो। गत साग महिला फुटबलमा पनि नेपाली टोली रजतमै सिमित भएको थियो।

दुवै पटक नेपालले फाइनलमा भारतसँग हार व्यहोरेको थियो। तेक्वान्दोका वीरबहादुर महरा, आयशा शाक्य र निमा गुरुङ स्वर्ण जित्ने प्रयासमा छन्। गत साग तेक्वान्दोमा तीनै जना खेलाडी रजतमा सिमित भएका थिए। यीमध्ये आयशाले ११ औँ सागमा स्वर्ण र १० औँ सागमा रजत जितेकी थिइन्। उनी एसियाली खेलकुदकी कास्य पदक विजेता पनि हुन्।

गत संस्करणमा रजत जितेकी जुडोकी मनिता श्रेष्ठ प्रधान यसपटक स्वर्ण जित्ने प्रयास गर्नेछिन्। गत सागमा स्वर्ण जितेकी जुडोकी फुपु ल्हामु खत्री यसपटक टोलीमा छैनन्।  गत संस्करणमा रजत जितेकी जुडोकी लिला अधिकारी पनि टोलीमा छैनन्। गत सागमा १० रजत जितेका उसु खेलाडीमध्ये धेरै यसपटक पनि टोलीमा छन्। स्वर्ण जितेकी निमा घर्तिमगर पनि टोलीमा छन्।

उसुबाट नेपालले केही स्वर्ण पदकको अपेक्षा गरेको छ। कराँते भने १२ औँ सागमा समावेश थिएन। ११ औँ सागमा स्वर्ण र  रजत पदक जितेका कराँते खेलाडीहरु यसपटक पनि खेल्दैछन्। अनु अधिकारी र विनोद शाक्य दुवै जना ११ औँ सागका क्रमश रजत र स्वर्ण पदक विजेता हुन्। त्यतिबेला नेपालले कराँतेमा तीन स्वर्ण जितेको थियो। विनोद शाक्य १० औँ सागका कास्य पदक विजेता हुन्।

बक्सिङमा ८ औँ सागपछि नेपाल पहिलो पटक स्वर्ण जित्ने प्रयासमा छ। आठौँ साग बक्सिङमा २ स्वर्ण र पाँच रजत जितेको नेपालले नवौँमा  एक रजत र चार कास्य जितेको थियो। १० औँमा चार कास्य, ११ औँमा एक रजत र एक कास्य जितेको नेपालले १२ औँ साग बक्सिङमा तीन कास्य जितेको थियो।

त्यतिबेला कास्य जितेका दीपक श्रेष्ठ र मिनु गुरुङ अहिले नेपाली टोलीमा छन्। टोलीमा रहेका अरु कसैले पनि यसअघि सागमा पदक जितेका छैनन्। एथलेटिक्स, भारत्तोलन लगायत खेलमा पनि नेपाल स्वर्णका लागि प्रयाश गर्ने छ।

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्