१३ औँ सागको टिकट बिक्रीमा इसेवाको एकाधिकार

काठमाडौँ-१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अनलाइन टिकट इसेवाबाट मात्र किन्न सकिने भएको छ। काठमाडौँमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवामार्फत् खरिद गर्नुपर्ने व्यवस्था मिलाइएको छ। इसेवा प्रधानमन्त्रीका प्रविधि सल्लाहकार असगर अलिले चलाउँछन्। उनी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल निकट मानिन्छन्।

राष्ट्रिय खेलकुद परिषदले टिकट बिक्रीका लागि इसेवासँग सहकार्य गरेको हो । दशरथ रंगशालामा हुने पुरुष फुटबलका समूह चरणका खेलमा साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क निर्धारण गरिएको छ ।

सेमिफाइनल र फाइनल खेलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार शुल्क हुने बताइएको छ । टिकट बिक्रीबाट संकलित रकमको १५ प्रतिशत इसेवाले कमिसन पाउनेछ ।

टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा साग डट इसेवा डटकम डट एनपीमा गएर टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्वारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्ने कम्पनीले जनाएको छ।

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्