उपनिर्वाचनको नतिजा समिक्षा

कास्कीमा नेकपा विजयी, कतिपय ठाउँमा नेकपालाई धक्का दिँदै कांग्रेस

भक्तपुर–१ ‘क’को उपचुनावमा विजयी नेपाली कांग्रेसका कृष्णलाल भडेँल।

काठमाडौँ– प्रतिनिधिसभा, राष्ट्रियसभा र स्थानीय तहको रिक्त उपनिर्वाचनमा प्रमुख प्रतिपक्ष कांग्रेसले केही ठाउँमा विजयी हुँदै केही ठाउँमा तुलनात्मक रुपले दुई वर्षअघिको आम निर्वाचनको नतिजामा भन्दा सुधार गरेको छ।

आइतबार अपरान्ह चार बजेसम्म कास्की सहित उपनिर्वाचन भएका ५२ पद मध्ये ४४ वटाको मतगणना सकिएको छ। त्यसमध्ये सत्तारुढ नेकपाले २६ र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले १२ स्थानमा जित हात पारेको छ। कांग्रेसले कतिपय नेकपाको गढ भत्काउन सफल भएको हो।

उपनिर्वाचनमा कास्की–२ बाट दिवंगत रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई एक मात्र संघीय प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। भट्टराईले २४ हजार तीन सय ९४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएका छन्।

तर यसअघि तत्कालिन एमालेले जित हाँसिल गरेको भक्तपुर क्षेत्र नम्बर–१ ‘क’मा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले नेकपाका देवीप्रसाद ढकाललाई पछि पारेका छन्। भँडेलले १३ हजार ४ सय ४९ मत ल्याउँदा ढकालले ११ हजार २ सय मत प्राप्त गरेका छन्।

दाङ क्षेत्र नम्बर–३ प्रदेशसभा ‘ख’ मा नेकपाकी विमला खत्रीले १४ हजार ५ सय ७८ मतका साथ अग्रस्थानमा र कांग्रेसका केशवराज शर्माले ११ हजार एक सय ९४ मत पाउँदा उनीहरुबीच तीन हजार तीन सय ८४ मतान्तर छ।

तर तत्कालिन एमालेले जितेको दाङको घोराई उप–माहानगरपालिका १६ वडाका अध्यक्षमा कांग्रेसका ताराबहादुर डाँगी विजयी भएका छन्।

बाग्लुङ क्षेत्र नम्बर–२ प्रदेशसभा ‘ख’मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले दुई हजार एक सय ९७ नम्बर मतका साथ अग्र स्थानमा छन् भने कांग्रेसका जितबहादुर शेरचन २० हजार चार सय ६ मतका साथ दोस्रो स्थानमा छन्।

उता धरान उप–महानगरपालिकाको मेयरको उप निर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। जारी मतगणनामा कांग्रेसका तिलक राई सात सय सात मतले अघि छन्। राईले ११ हजार ८ सय २७ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईले ११ हजार एक सय २० मत ल्याएका छन्।

यसअघि उक्त उप–महानगरपालिकाको मेयरमा तत्कालिन एमालेका तर्फबाट तारा सुब्बाले जित हाँसिल गरेका थिए।

महोत्तरी पिपर गाउँपालीका अध्यक्षमा नेकपाका विक्रम चौधरीले समाजवादी पार्टीका रामजानकी यादवलाई पछि पार्दै जित हासिल गरेका छन्।

मतपरिणाम अनुसार नेकपाले कांग्रेसबाट सात वटा वडा अध्यक्ष खोस्दा कांग्रेसले नेकपाबाट ६ वटा वडा अध्यक्ष र एक प्रदेश सभा सदस्य खाेस्न सफल भएको हो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संसदीय निर्वाचन क्षेत्र मानिएको चितवन भरतपुर १६ मा कांग्रेसका अमृतराज हमाल विजयी भएका छन्। त्यसअघि नेकपाले त्यो वडामा जितेको थियो।

बैतडीको दोगडा केदारको वडा नम्बर चारमा कांग्रेसका सुरेश प्रसाद भट्टले जितेका छन्।

पाँचथरको हिलीहाङको वडा नम्बर सातमा कांग्रेसका तिलविक्रम इधिनगो विजयी भएका छन्। त्यहाँ अघिल्लो चुनावमा नेकपाले जित हासिल गरेको थियो।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन्। त्यो क्षेत्र नेकपाको पकट मानिन्थ्यो।

मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा कांग्रेसका नायराणप्रसाद शाह विजयी भएका छन्। त्यसअघि उक्त क्षेत्रमा नेकपाले जित हासिल गरेको थियो।

यता नेकपाले पहिले जित हासिल गरेको अर्घाखाँचीको मालारानी तीनमा कांग्रेसका शोभाकर खनालले जितेका छन्।

प्रचार–प्रसारमा अघि देखिए पनि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पनि कतै जित हासिल गर्न सकेन। त्यसलाई अझ मेहनत गर्नु पर्ने सन्देशका रुपमा लिएको उक्त पार्टीले बुझेको छ।

पार्टीका संयोजक मिश्रले ट्वीट गरेका छन्,‘ पार्टीले छोटो समयमा जे गर्यो त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ। साथसाथै, मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ।’

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्