सानाे छँदा आमाबाट सिकेकाे सीपलाई निरन्तरता दिँदै सुरेश

दाङ– राजमार्गसँगै रहेको चिया पसल। चिया पकाउँदै गरेका सुरेश पुन मगरको हातमा ऊनीको डल्लो छ। त्यो ऊनीबाट उनले जाडोको लागि गलबन्दी बुन्दैछन्।

९–१० वर्षको छँदा सुरेशले आमाबाट यो काम सिकेका हुन्। ‘म स्कुल जान्थेँ। घरमा आमाले सधैं ऊनीबाट स्वीटर बनाउनु हुन्थ्यो। त्यो देखेर मैले पनि बनाउन थालेँ’, उनले भने, ‘सानैमा देखेर सिकेको काम अहिले पनि गर्दैछु।’

उनले घरमा बाख्रा पालेका छन् । बाख्रा ग्वाला जाँदा होस् या चिया पसलमा रहँदा खाली समयमा उनको हात खाली हुँदैन। यो काम जानेका सुरेशलाई अहिले अर्डर आउने गरेको छ।

‘बजारबाट गलबन्दी, स्वीटर बनाउने अर्डर आउँछ। त्यही अनुसार बनाउने गर्छु’, उनले भने, ‘अहिले गलबन्दीको माग बढेको छ। मेसिनले बुनेकोभन्दा हातले बुनेको गलबन्दी बलियो हुने भएपछि सबै हातैले बुनेको खोज्छन्।’

महिलाले ऊनीको धागोबाट कपडा बुनेको देखेका धेरैले सुरेशलाई प्रश्न गर्छन्, ‘महिलाले गर्ने काम किन गर्छौँ?’ तर सुरेशको एउटै जवाफ हुन्छ, ‘काम पनि महिलाले गर्ने, पुरुषले मात्रै गर्ने भन्ने छ र?’, अहिले यस्ता प्रश्न सोध्ने संख्या निकै कम छ।

बरु ऊनीको स्वीटर, गलबन्दी बनाउने अर्डर बढी आउने गरेको छ। उनले हरेक वर्ष आफूले बुनेको ऊनीको टोपी गाउँका आमा–बुवा, हजुरआमा–हजुरबुवालाई बाड्ने गर्छन्। ‘यो जाडोमा न्यानो सबैलाई चाहिन्छ। मैले बनाएको तातो टोपीहरु जेष्ठ नागरिकलाई उपहार दिने गर्छु’, उनले भने, ‘खुसी भएर आशीर्वाद दिनुहुन्छ।’

गाउँमा मात्रै होइन उनले आफ्ना टाढा बस्ने आफन्तलाई उपहारको रुपमा आफैले बुनेको कपडा पठाउने गर्छन्। ‘अरुको खुशी नै मेरो खुशी हो। आफूले जानेको कुरा अरुलाई बाड्दा खुशी लाग्छ’, उनले भने।

बजारबाट आउने अर्डरको मात्रै उनले पैसा लिन्छन्। गलबन्दी आठ सयदेखि नाै सयसम्ममा बेच्छन्। यसमा ऊनी दिनु पर्दैन। ऊन सुरेशले आफै किनेर बुन्छन्।

सुरेश एउटा स्वीटर बुनेको ज्याला १८ सय रुपैयाँ लिन्छन्। गलबन्दी तीन दिनमा तयार पार्छन् भने स्वीटर एक हप्ता समय लाग्छ। उनको चार जनाको परिवार छ। उनको काम देखेर परिवारका सबै खुशी छन्।

 

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्