धरानमा कांग्रेसले कसरी भत्कायो कम्युनिष्टको लालकिल्ला?

विराटनगर – धरान १८ निवासी नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई दोश्रो प्रयासमा सफलता मिलेको छ। यसअघि २०७४ सालमा स्वं. तारा सुब्बासँग ४ हजार बढि मतले हार व्यहोरेका राईले दोश्रो पटकको उम्मेद्वारीमा नेकपाका प्रकाश राईलाई  २ हजार ७ सय ९५  मतले पराजित गरेका छन्।

यसअघि एकपटक पराजित युवा उम्मेद्वार तिलक राईले स्थानीयबाट हारकै सान्त्वना समेत पाएका छन्। बहुदलपछि तत्कालिन एमालेको गढका रुपमा चिनिएको धरानमा तिलक राई चारतारे झण्डा फहराउन सफल भए।

कहाँ चुक्यो नेकपा धरानमा ?


२०४८ सालको प्रजातन्त्र स्थापनादेखि नै पर्यटकीय नगरी धरान लाल किल्लाको रुपमा रहँदै आएको थियो। विगतमा एमालेको बर्चश्व रहेको धरानमा विकासका नाममा सिमीत काम सत्ता हाक्ने दलहरुबाट भएको बुझाइ जनतामा रहेको छ।

सोही बुझाई चिर्न यसपटक नेपाली कांग्रेस सफल भएको छ। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत धरानवासीले एमालेलाई मत दिएका थिए। तथापी धरानमा जित हात पारेका मेयर तारा सुब्बाको निधन र उपमहानगरभित्रको असन्तुष्टिको फाइदा कांग्रेसलाई पुगेको बताइन्छ। धरानमा लामो समयदेखि पत्रकारीतामा सक्रिय हर्ष सुब्बाको बुझाईमा पछिल्लोसमय एक भएको नेकपाकै कारण धरानमा कांग्रेसको जित भएको हो।

उनको बुझाईमा हिजोको दिन एमालेले बर्चश्व राखेको धरानमा माओवादीसँग एकता भएपछि तल्लोतहका कार्यकर्ता भने अन्योलमा रहेका थिए। ‘माथिल्लो तहमा दुईपार्टीबीच एकता भएपनि तल्लो कार्यकर्तामा भने अझै अन्योल देखियो, भोट हाल्ने विषयमा समेत स्पस्टता देखिएन’, उनी भन्छन्।

अन्योलताकाबीच नेपाली कांग्रेसमा थपिएको नयाँ मत माओवादीको भएको उनको तर्क छ। ‘बजार तथा सुकुम्बासी क्षेत्रमा माओवादीसँग स्थानीयको ठूलो आश थियो, तर पार्टीले धरानमा जित हासिल गरेपछि स्थनीयले धरानका वडा तथा नगरपालिकामा जुन आशा गरेका थिए त्यो पाउन सकेनन’्, सुब्बाको भनाइ छ।

त्यसैगरि, उपमहानगरपालिकाभित्र पनि वडाध्यक्षहरुको असन्तुष्टिले कांग्रेसको पक्षमा काम गरेको छ। नेकपाको गढका रुपमा चिनिएका वडा नम्बर १९, १७, १६ मा नेपाली कांग्रेसले मत अग्रता बनाउनु नै त्यसकै एक पक्ष देखिन्छ। स्थानीय तहमा, अपारदर्शीता, करको सन्दर्भ, नागरिकता बनाउने, घर नक्साका काम लगायतले वडामा स्थानीयको असन्तुष्टि रहँदै आएको छ। जसमा नेकपाको कार्यशैलीले सहजता दिलाउन सकेको छैन। विगतको चुनावमा समेत सुकुम्बासी, विकासको नारा दिएको नेकपाले धरानका लागि खासै काम गर्न नसकेको सुब्बाको भनाइ छ।

२०७४ सालको निर्वाचनमा धरानको २० वटा वडामध्ये नेपाली कांग्रेसले १, २, ५, १४ र १८ मा जित हात पारेपनि नगर कार्यपालिका र नगरसभा दुवैमा अल्पमतमा रहेको छ। तथापी कांग्रेसको जितले धरानवासीले नयाँ परिवर्तन चाहेको किशोर राई बताँउछन्।

धरानमा २ दशक बढि लामो समयदेखि बुढासुब्बा गोल्डकप आयोजना गराउदै आएका पूर्व नगरसभापति राईले भने, ‘नेकपाले हिजोको दिनमा धरानबासीको आकांक्षालाई नारामा मात्र सिमीत राखेको थियो। अब त्यो हुँदैन। अबको अढाइ वर्ष धरानको आमुल परिवर्तन, राजनीति विकास र सम्बृद्धिका लागि नयाँ परिवर्तनसहित कांग्रेस आएको छ।’

धरानका उद्योगी सरोज श्रेष्ठ पनि करका विषयमा समर्थन गर्छन। स्थानीय तहमा करको बृद्धिका कारण धेरैमा असुन्तष्टि रहेको बताएका उनले भने, ‘करको दायरा बढाउनुपर्नेमा उपमहानगरले ध्यान दिन सकेको छैन। जनतामा करको विषयमा स्पस्ट बुझाउन उपमहानगरले सकेन, त्यसको परिणाम धरानवासीले नयाँ पक्षको साथ खोजेका हुन ।’

टिकट वितरणमा विवाद


धरानमा मेयरको टिकट वितरणका क्रममा समेत विवाद उत्पन्न भएको थियो। धेरै आकांक्षीको बीचबाट वडा नम्बर १८ का प्रकाश राईले टिकटमा बाजी मारेका थिए। सो क्रममा आन्तरिक विवादमा नेकपा रुमलिएको थियो।

टिकट वितरणका क्रममा तत्कालिन एमालेतर्फबाट प्रकाश राई, विजय राई, माओवादीतर्फबाट अइन्द्र विक्रम बेघा, पूर्वनगर प्रमुख मनोजकुमार मेयान्ग्बो, अशोक राई लगायतको आकांक्षा रहेको थियो। नगर कमिटिले टिकटका विषयमा विवाद मिलाउन नसक्दा त्यसको निर्णय पार्टी तहबाट भएको थियो।

जसमा प्रदेश कमिटिका सदस्य विजय राई र जिल्ला सदस्य प्रकाश राई रहेका थिए। सोही विवादमा समेत कार्यकर्ता अलमलमा परेको देखिन्छ।

मतदातामा रुचीको अभाव


अर्कोतर्फ हेर्दा धरानको उपनिर्वाचनमा स्थानीयको समेत रुची कम देखिएको छ। लामो समयदेखि धरानमा बर्चश्व कायम गरेको तत्कालिन एमाले र एकीकरणपछिको नेकपाले यसपटक पनि आफ्नो जितलाई सहज रुपमा लिएको थियो।

१३ हजार भन्दा बढि नयाँ मतदाता संख्या थप हुदाँसमेत जनतामा नेकपाले खासै प्रभाव पार्न सकेको देखिएन। मतदान केन्द्रसम्म धेरैलाई पुराउन नसक्नुपनि नेकपाको हारको कडी भएको स्थानीयको भनाइ छ।

यसपटक कुल मतदाता संख्यामा १३ हजार ५ सय ७१ मत नयाँ थप भएको थियो। यसपटकको धरानमा कुल ९२ हजार ८ सय ५३ जना मतदाता रहेका थिए। जसमा ५५ हजार ११ मतसहित ५९ दशमलव २४५ प्रतिशत मत खसेको थियो। अघिल्लो निर्वाचनमा ७९ हजार २ सय ८२ मत रहेको थियो। जतिबेला ५३ हजार ५ सय ४७ मत खसेको थियो।

कार्यशैलीमा असन्तुष्टि


हाल धरान उपमहानगरपालिकामा उपमेयर मञ्जु भण्डारीसहित वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० नेकपाको पक्षमा रहेको छ। तथापी गएको करिब अढाइवर्षमा नेकपाले जनताको काममा आफूलाई सही रुपमा उपस्थित गराउन सकेन्। बर्चश्व रहेको वडाका कार्यशैलीले जनतामा प्रभाव पार्न सकेको देखिएन। सोही कारण विगतमा एमालेले भारी मतअन्तरले जित हात पारेको स्थान, वडामा समेत यसपटक कांग्रेसको बलियो उपस्थिती देखिएको छ।

यसैले पनि गएको निर्वाचनपछि जित हात पारेका वडामा समेत नेकपाले आप्mनो प्रभाव कायम राख्न सकेनन्। पालिकाभित्रै बहुमत बलियो भएपनि जनताको पक्षमा बालियो रुपमा उपस्थित हुन सकिरहेको थिएन।

अर्कोतर्फ कांग्रेसका तिलक राईले पटकपटक पालिकाभित्रको कमीकमजोरी सुधार्ने, पारदर्शी बनाउने तथा वडाध्यक्षको कामकार्वाहीमा छलफल गर्दै अघि बढ्ने बताउदै आएका थिए। राईले वडाभित्र कामकार्वाहीका लागि पार्टीगत रुपमा कुनै हस्तक्षेप नगर्ने उल्लेख गरेका थिए।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्