सत्ताको झुण्डमा इतिहास बिर्सनेहरुको भिड 

आइतबारदेखि तेह्रौँ दक्षिण एसियाली खेलकुद सुरु भयो। एउटा भव्य समारोहमा राष्ट्रपतिले त्यही थोत्रो पुनर्निर्माण गरिएको दशरथ रंगशालामा उद्घाटन गरिन्। धेरैले लेखे र बोले। यो खेलकुदको जननी नेपाल हो भने। तर कसैले पनि यसको जस, त्यो जन्म दिन दौड धुप गर्ने व्यक्तिहरुको बारेमा लेख्न बोल्न रुचाएनन् वा इतिहास खोतल्न चाहेनन्।

धेरैलाई उनको तत्कालीन व्यवहार मन नपर्न सक्छ। तर दक्षिण एसियाली खेलकुद महासंघ र दक्षिण एसियाली खेलकुदको जन्म दिलाउने श्रेय स्वर्गीय शरदचन्द्र शाह र त्यसका संरक्षक स्वर्गीय धिरेन्द्र शाहलाई जान्छ। तत्कालीन विश्वमा व्याप्त शीतयुद्धको समयमा दक्षिण एसियाका राष्ट्रहरुलाई एकै ठाउँमा ल्याउनु ज्यादै कठिन काम थियो। यो खेल आयोजनाबाट नेपाललाई प्राप्त हुन सक्ने प्रतिष्ठाबारे राम्रो जानकारी भएका तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले शरदचन्द्र शाहलाई पूरा साथ दिएर १९८४ मा सीमित साधन श्रोतबाट टालटुल गर्दै दशरथ रंगशालामा जन्म लियो दक्षिण एसियाली खेलले। कुनै पनि अन्तर्राष्ट्रिय खेल नगरेको नेपालले ओलम्पिककै स्तरमा खेल सम्पन्न गरी नेपालको प्रतिष्ठा राखेको थियो।

राज्यका सम्पूर्ण शक्ति परिचालित थिएर साउने झरी, साँगुरो रंगशाला र सीमित भौतिक सुविधाको बाबजुद प्रथम दक्षिण एसियाली खेलकुदको उद्घाटनको झाँकी र अन्य प्रदर्शनको दक्षिण एसियाका अन्य मुलुकले समेत प्रशंसा गरेका थिए। बिष्णु गोपाल श्रेष्ठले सीमित बजेटमा उद्घाटन कार्यक्रमको भब्य झाँकी र ब्यबस्थापन मिलाएका थिए। उद्घाटन पछि माडिएको रंगशालाको मैदान फुटबल खेल्दा धान रोप्ने गराजस्तो थियो। तर एबम प्रकारेण नेपालले सफलताका साथ खेलकु्दको त्यो कुम्भमेला सम्पन्न गर्‍यो। ‍

सानो पौडी पोखरीमा पौडी प्रतियोगिता भयो। स्वर्गीय कुमार खड्ग बिक्रम शाहको समयमा निर्मित कभर्ड हलमा भारतोल्लन र बक्सिङ्ग प्रतियोगिता भए। समापन र फुटबल फाइनल अनि एथ्लेटिक्स दशरथ रंगशालामा भए।

नेपालले सीमित प्रशिक्षणमा पनि एउटा स्वर्ण प्राप्त गर्न सक्यो। तत्कालीन समयका धेरैजसोले यो संसार छोडे पनि पहिलो स्वर्ण जित्ने बैकुण्ठ मानन्धर र अन्य केही अझै सक्रिय छन्। इतिहासलाई सम्मान त छोडौँ, त्यसको नामसम्म लिन नसक्ने अहिलेको सत्ताको जमात त्यस्का इर्दगिर्दका बुद्धिजिबी अहिलेको सबै बिकास बिगत १२ बर्षमा भएको देखाउन दत्त चित्त छन्। यो जमात दक्षिण एसियाली खेलकुदको जननी नेपाल मान्छ तर त्यसलाई बास्तबिक रुपमा सार्थक पार्ने व्यक्तिहरुको उच्चारण गर्न पनि हिच्किचाउँछ।

नेपालको खेलकुद क्षेत्रलाई बर्तमान अबस्थामा ल्याउन धेरैको योगदान छ। स्वर्गीय नरशमशेर नभएको भए न क्रिकेट हुनथ्यो, न फुटबल। उनको हठमा यी दुवै खेल अघि बढेका हुन्। प्रहरीमा प्रहरी महनिरीक्षक खड्गजित बरालको चासो र संलग्नता नभएको भए फुटबल ब्यबसायिक करण हुने थिएन। जीविकोपार्जन छान्दै एक राष्ट्रिय खेलाडी कतार भासिनु पर्ने अवस्था अझै बिध्यमान छ भने ३६ बर्ष अघि खेलाडीको अवस्था कस्तो थियो होला अनुमान गर्न सकिन्छ।

खेलाडीको पीडा बुझेकोले नै ८३ बर्षीय पुर्ब शाही चिकित्सक महासेनानी डाक्टर खगेन्द्रबहादुर श्रेष्ठ अहिले खेललाई ब्यबसायिककरण गराउन लागि परेका छन्। १३ ‍ओँ दक्षिण एसियाली खेलकुद समारोह हुँदा नेपालको खेलकुदमा योगदान दिने यस्ता व्यक्तित्वको योगदानको सम्झना नगर्नु इतिहासप्रतिको बेइमानी हो।

पंचायतमा तेश्रो संशोधनले धेरै उदारता ल्याएको थियो। शरदचन्द्र शाहको व्यक्तिगत तौर तरिका जनमानसमा आलोचित थियो। पञ्चायत र राजसंस्था बिरोधीहरुका लागि शाह बिरोधको प्रतीक थिए। विरोधीहरुले शाहमार्फत राजसंस्था र पञ्चायतप्रति बितृष्णा जगाउन सक्छन् भन्ने थाहा हुँदाहुँदै पनि यत्रो ठूलो अन्तर्राष्ट्रिय खेलकुद जमघट गर्न राजा तयार थिए, सबै तामझामका। साथ अनि सम्पन्न भयो प्रथम दक्षिण एसियाली खेलकुद। यसपछि नेपालको खेलकुदले लामो फड्को मार्‍यो। सरकारको स्वामित्वको अखबार, समाचार समिति, रेडियो र भर्खर शुरु भएको टेलिभिजनमा र केहि निजी क्षेत्रका साप्ताहिकमा सीमित थियो प्रचार।

बिगत १३ बर्षमा एकछत्र शासन गर्ने अहिलेको राजनीतिक समूह इतिहासलाई अपमान गर्न रुचाउँछ। विदेशीको सहयोगमा सत्तामा स्थापित वर्तमान राजनीतिक समूह देशको इतिहास, कलासंस्कृति, धर्म र मान्यता बिमुख छ।

अमेरिकी राजनीतिशास्त्री स्यामुयल पी हनटिङ्गटनले आफ्नो पुस्तक मार्फत राजसंस्थाको उन्मूलन आफैँले लागू गर्ने आधुनिकीकरणको कारण हुन्छ भनी इरानको राजसंस्था उन्मूलनको सन्दर्भमा लेखेको किताब पढेका राजा बीरेन्द्रले अग्रगामी कदम र सुधारलाई नै रोजे। आफ्नो कुर्सी र पदलाई सबै भन्दा माथि राख्ने अहिलेको नेतृत्वले त्यो समयको समरण नगर्नु आश्चर्य जनक भने होइन। आफ्नै बुतामा आफ्नै धरातलमा हुर्केको संस्था सत्ता गौण ठान्थ्यो भन्ने कुरा त पूर्वराजा ज्ञानेन्द्रले नै शान्तिपूर्ण रुपमा दरबार छाडेर प्रस्तुत गरे। अहिलेका शासकसँग सत्ता लिन के त्यति सजिलो होला त? प्रचण्ड र प्रधानमन्त्री केपी ओलीको बर्तमान प्रतिस्पर्धाले धेरै कुरा देखाउँछ।

हुन त यो घटना नौलौ होइन। बिगत १३ बर्षमा एकछत्र शासन गर्ने अहिलेको राजनीतिक समूह इतिहासलाई अपमान गर्न रुचाउँछ। विदेशीको सहयोगमा सत्तामा स्थापित वर्तमान राजनीतिक समूह देशको इतिहास, कलासंस्कृति, धर्म र मान्यता बिमुख छ। नेपालमा सत्ता चलाउँछ नेपाल सरकार। तर नेपालको एकीकरण गर्ने पृथ्वी नारायण शाहलाई सबैभन्दा ठूलो शत्रु ठान्छ। तिनको सालिक तोड्छ अनि नेपाली भएको ढोङ गर्छ। नेपालको झण्डा बोकेर अमुक देशको बिरोध गरेर राष्ट्रबादी ठान्छ तर आफ्नो धर्म, संस्कृति भाषा र सभ्यताको अपमान गर्छ।

अहिले कालापानीको बिषय राष्ट्रियताको लागि मियो भएको छ। यो बिषय नबोले राष्ट्रघाती हुने डर छ। सत्ताधारी, बिपक्ष सबैको कालापानी सिमा बिबादले मुटु छोएको छ। तर त्यो कालापानी ल्याउन नालापानी युद्ध लड्ने वीर र वीरंगनाहरु अमरसिंह थापा, भक्ति थापा र वीर बलभद्रहरु र तिनको गाथा सुन्न उत्तराखण्डको बिद्यालय जानु पर्छ। तै पनि कालापानीकोको जुलुसमा गएर राष्ट्रबादी बनाएकै छ, बनेकै छ। कालापानीको सीमाको कुरा गर्दा नालापानी बिर्सने र नेपालको सीमाको कुरा गर्दा त्यसका परिकल्पना गर्ने र तिनलाई कार्यन्वयन गर्ने वीर र वीरंगनाको गाथा बिर्सने हो भने राजनीतिक सीमाको कुरा गर्नुको कुनै अर्थ रहँदैन। राजनीतिक रुपमा बिमति हुनु एउटा कुरा हो तर राजा महेन्द्रले बर्तमान नेपाललाई यहाँसम्म ल्याउन पुर्‍याएको योगदानको कदर नगर्नु इतिहासप्रतिको बेइमानी हो।

बर्तमान न्यायपालिकाको कुरा गर्दा न्यायाधीशहरु स्वर्गीय हरि प्रधान, नयनबहादुर खत्री, बिश्वनाथ उपाध्यायलाई र वकिलहरुमा स्वर्गीय शम्भुप्रसाद ज्ञवाली, कुसुम श्रेष्ठ, गणेशराज शर्मा, कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद पन्त, मोतिकाज़ी स्थापित र अझै वकालत जीवन व्यतीत गर्ने कृष्णप्रसाद भण्डारीलाइ नसम्झे अपुरो हुन्छ। नेपाली भाषाको कुरा गर्दा स्वर्गीय कमलमणि दीक्षितले पुर्‍याएको योगदान अब स्मरणीय छ। मदन पुस्तकालयमा आफ्नो जीवनको ठूलो समय नेपाली भाषाका पुस्तक संकलन गरेर त्यसलाई केलाउने र ब्यबस्थित गर्ने अनि संग्रह गर्ने स्वर्गीय दीक्षितको योगदानको स्मरण हिजोआज सुनिन छाडेको छ।

प्रसिद्ध इतिहासकार गिब्बोनले भने जस्तै जसले इतिहास बिर्सिन्छ, त्यो आफैँ बिलाउँछ। बिना इतिहासको अध्ययन बर्तमान र भबिष्य अन्धकार छ। समग्र नेपालको कुरा गर्ने हो भने बर्तमान नेपाल निर्माणमा योगदान गर्ने सबैको समरण आवश्यक छ। होइन भने बर्तमान सत्ताधरीहरुलाई इतिहासले सराप्ने छ। इतिहाको स्मरण बर्तमान को सम्मान हो।

(पौडेल  न्यु स्पटलाइटका सम्पादक र पूर्व खेलकुद पत्रकार हुन्।)

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्