
पोखरा – पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन फिलिप स्मिथले सम्मानार्थ नागरिकता पाएका छन् । सोमबार गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले उनलाई काठमाडौंमा सम्मानार्थ नागरिकता दिएको हो।
शाखा अधिकृत अरुण सापकोटाले ०१/०७६/०७७ नम्बरको नागरिकता उनको नाममा जारी गरेका छन्। नेपाल सरकारको गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद बैठकले लामोसमयदेखि नेपालमै बसेर पुतली अध्ययन अनुसन्धानमा खटिएका स्मिथलाई सम्मानार्थ नागरिकता दिने निर्णय गरेको थियो। निर्णयानुसार नै स्मिथलाई नागरिकता जारी गरिएको शाखा अधिकृत सापकोटाले जानकारी दिए।
स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन्। उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । मिसन मार्फत पोखरा, गोरखा र काठमाडौंमा उनले शिक्षण गरिरहँदा पुतलीबारे अनुसन्धान एवं संग्रह गर्थे।
सोही क्रममा गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा समेत उनले पढाए। त्यहाँ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए।
सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालय काठमाडौंमा प्रकृति विज्ञान संग्रहालयको लागि स्मिथले एक दशक पुतली संग्रहको काम गरे। उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेको बताइन्छ। अध्ययन र अनुसन्धानसँगै विभिन्न प्रकाशन समेत उनले त्यसक्रममा गरे। ३० वटा भन्दा बढी वैज्ञानिक लेख र १० वटा पुस्तक प्रकाशन भएका छन्।
स्मिथ पोखरा महानगरपालिका १८ ग्यारजातीस्थितमा बस्छन्। उनीसँग लामो सयम काम गर्ने एक परिचितको नामबाट घर जग्गा किनेर बस्दै आएका हुन्। उनी बसोबास गर्दै आइरहेको ठेगाना गृहले नागरिकतामा उल्लेख गरेको छ।
नागरिकता ऐन, २०६३ अनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान छ। नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन्।