शालिन प्रतिपक्षको भूमिका अनुमोदन भयोः कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले आफूले निर्वाह गरेको शालिन प्रतिपक्षीको भूमिकालाई जनताले अनुमोदन गरेको दाबी गरेको छ।

शनिबार ३७ जिल्लाका विभिन्न ५२ पदका लागि भएको उपचुनावबाट कांग्रेसको आत्म विश्वास बढेको निष्कर्ष निकालेको छ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुको अर्थ हो बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन।’

कांग्रेसले प्रदेशसभा १, उपमहानगर १, वडाध्यक्ष ११ सहित १३ सिटमा जित हासिल गरेको छ भने नेकपाले प्रतिनिधिभा १, प्रदेशसभा १, गाउँपालिका ४ र वडाध्यक्ष २४ सहित कुल ३० सिटमा जित निकालेको छ।

कांग्रेसले समग्रमा मत बढे पनि कतिपय क्षेत्रमा मत घट्नुलाई आन्तरिक सांगठनिक समीक्षा गहिरोसँग गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ।

‘कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ, शर्माले भने।

कांग्रेसले सरकारको अहिलेसम्मको कार्यशैली परिवर्तन गर्नुपर्ने सन्देश उपचुनावले दिएको दाबी गरेको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्