दुई सन्तानकी आमालाई २ स्वर्ण : आयशाले अनि खेलमा फर्कने निर्णय गरिन्

दुई छोराका साथमा आयशा। फाइल तस्विर

काठमाडौँ- तीन वर्षअघि भारतमा आयोजित १२ औँ दक्षिण एसियाली खेलकुद-सागमा फाइनलमा पराजित भएपछि तेक्वान्दो खेलाडी आयशा शाक्यलाई लागेको थियो- मेरो उचाइ नै कम भयो। अब खेलेर काम छैन।

सोही वर्ष उनी एसियन च्याम्पियनसिपमा भाग लिइन्। नतिजा पुन सन्तोषजनक रहन सकेन। आयशाको गुनासो फेरी दोहोरियो-मेरो उचाई नै कम भयो।

उनलाई लाग्छ- उचाई अग्लो हुनुको फाइदा प्रतिद्धन्द्धीले लिएका थिए।

खेलमा अब कम मन जानु पछाडी अर्को कारण पनि थियो- आयशा घर गृहस्थी सम्हाल्न थालिसकेकी थिइन्। पहिलो सन्तान ४ वर्ष लागि सकेको थियो। घर व्यवहारले दिनदिनै गाँज्दै थियो।

त्यसको अर्को वर्ष आयशाको दोस्रो सन्तान भयो। उनी थप घर व्यवहारमा फसिन्। त्यसपछि उनी लामो समय खेल बाहिर रहिन्। गत चैतमा आठौँ राष्ट्रिय खेलकुद हुँदै थियो।

आयशाका श्रीमान अर्थात कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले नेपाल आर्मी क्लबको तेक्वान्दो टोली हेरिरहेका थिए। तेक्वान्दोमा पहिलोपटक समावेश गरिएको पुम्से स्पर्धामा आर्मीलाई खेलाडी पुर्‍याउन हम्महम्मे भयो। दीपकको अनुहार आयशातर्फ फर्कियो। सोधे – खेल्छौँ त ?

पुम्से, कराँतेको काता स्पर्धाजस्तै थियो जसमा प्रतिद्धन्द्धीसँग जुध्नु पर्थेन। एक्लै प्रदर्शन गर्नु पर्ने थियो। आ-आफ्नो पालोमा हरेकले प्रदर्शन गरेपछि जसको बढी अंक आउँछ त्यही अगाडि बढ्थ्यो।  दीपकले आयशालाई कर गरे। आयशाले नाइ भन्न सकिनन्।

किनभने उनले कसैसँग भिडनुपर्ने थिएन। नत उचाईकै चिन्ता गर्नु पर्ने थियो। आयशाले तयारी सुरु गरिन्। पुम्से खेल्न थालेपछि आयशाको रहर अझ बढ्यो- अन्तर्राष्ट्रिय पदक जित्ने। ‘ मैले लगभग खेल्न छाडिसकेको थिएँ। तर फेरी खेलमा फर्किएँ’, आयशाले भनिन्।

अनि उनले निर्णय गरिन- १३ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुने।

उनै आयशाले सोमबार १३ औँ सागमा महिला एकल पुम्सेमा स्वर्ण जितिन्। सौरभकुमार ओझासँग मिलेर पेयर पुम्सेमा अर्को स्वर्ण पदक थपिन्। स्वर्ण जिते लगत्तै उनि एरिना बाहिर निस्केर श्रीमान विष्टसँग अंगालो मारिन्। दुवै जना भाव विह्लल भए।

‘ बच्चा भएपछि यस्तो सफलता पाउन गाह्रो हुन्छ। आज मेरो सपना पुरा भएजस्तो भएको छ’, ३२ वर्षे आयशा मुस्कुराइन्।

करिब १४ वर्षअघि आयशाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा एसियन च्याम्पियनसिप खेलेको थिइन्। सन् २००६ मा उनले एसियन गेम्स र १० ‍औँ साग खेलिन्। एसियन गेम्समा कास्य जितिन्, दीपक विष्टसँगै।

१० औँ सागमा रजत हात पारिन्। दीपकले स्वर्ण जितेका थिए। सन् २०१० मा आयोजित ११ औँ सागमा दीपक र आयशा दुवैले स्वर्ण पदक जितेका थिए। सागमा दीपकको चार स्वर्ण पुरा भएको थियो।

सोमबार दुई स्वर्ण जितेर आयशाले बैकुण्ठ मानन्धरसँग बराबरी गरेकी छिन्। यसअघि दीपकबाहेक सागमा सबैभन्दा बढी स्वर्ण जित्ने बैकुण्ठ मात्र थिए। अब बैकुण्ठ र आयशाको नाम सँगै आउने छ। आयशाको नाममा सागमा दुई वटा रजत पदक पनि हुनेछन्।

आयशा राष्ट्रिय खेलकुद परिषद्-राखेपकी जागिरे प्रशिक्षक पनि हुन्।

 

 

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्