नेपालगञ्‍ज-नेपालगञ्जमा ‘खुद्रा’ (साना तिना) चोरले आतंक नै मच्चाएका छन्।

साना चोर (कम उमेर) अनि खुद्रा चोरीबाट प्रहरी पनि हैरान रहेको छ । १३÷१४ वर्षका बालकहरुले एकै दिन नौ वटासम्म सटर फोरेर चोरी गरेका छन्।

साना चोरका ‘गुरु’ ठूलो हुने गरेका छन् । कतिपय त गुरु नै १८ वर्ष भन्दा मुनिका छन्। उनीहरुमा १८ वर्ष भन्दा मुनिका बालबालिकालाई ‘कारबाही हुँदैन’ भन्ने बुझाई रहेको पाइन्छ।

पसल मात्रै होइन, घरकै सानातिना सामानसमेत चोरी हुने गरेका छन्। चाडबाड या घरखाली रहेको बेलामा गरगहना र नगद चोरी हुनु यहाँको लागि नौलो होइन।

नेपालगञ्जमा बढी चोरी हुनुमा लागु औषधी प्रयोगकर्ताको ‘बिगबिगी’ले गर्दा नै हो।लागु औषधि खाने पैसा ‘जोहो’ गर्न उनीहरु चोरी कर्ममा लागेको पाइन्छ। प्रहरीमा आएको बढ्दो निवेदन र पक्राउ परेकाहरुको तथ्यांकले यस्तो देखाउँछ।

अब चोरी कसरी नियन्त्रण गर्ने ? बाँके प्रहरीले नयाँ योजना अघि सारेको छ – कम्युनिटी साइरन । ४०÷५० घरलाई समेटेर ठाउँ–ठाउँमा कम्युनिटी साइरन जडान गर्न सकेमा चोरी नियन्त्रण हुने प्रहरीले निष्कर्ष निकालेको छ।

कम्युनिटी साइरन जोडेपछि एउटा ‘कोड’ नम्बर राखिन्छ । त्यो कोडमा कसैले पनि डायल गर्ने बित्तिकै टोलभरी र प्रहरीकहाँ बज्छ । जस्तो कसैको घरमा चोरी भयो। त्यो एकजनाले देख्यो भने उसले कोड नम्बर डायल गरिदिन सक्छ। त्यसपछि टोलभरी र प्रहरीकहाँ साइरन बज्छ। अनि, चोरलाई पक्राउ गर्न सकिन्छ । साइरन बजेपछि टोलभरीकै मान्छे बाटोमा निस्किन्छन्। चोर भाग्न पाउँदैन।

कम्युनिटी साइरन राख्दा एक जनालाई दुई हजारसम्मको आर्थिक भार पर्छ । बाँके प्रहरीले नेपालगञ्जका २३ वटा नै वडाका प्रमुखहरुलाई एकै ठाउँमा राखेर यस विषयमा छलफल गरिसकेको छ।

नुवाकोटका राम–लक्ष्मण दाजुभाईले यसबारेमा सहजीकरण गरेका थिए । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले चोरी नियन्त्रणका लागि कम्युनिटी साइरन जडानबारेमा छलफल चलाइरहेको बताए।

विकसित मुलुकमा दुई प्रकारका साइरन जडान हुन्छन् – होम र कम्युनिटी साइरन। कम्युनिटी साइरन काठमाडौंमा जडान गरिएको छ । नेपालगञ्जमा पनि कम्युनिटी साइरन जडान गर्ने बित्तिकै सानाठूला चोरी नियन्त्रणमा आउने विश्वास गरिएको छ।

बाँके प्रहरीले ‘जीपीएस सिस्टम’ को अवधारणा पनि अघि सारेको छ । यातायात समितिका पदाधिकारीहरुलाई यसबारेमा छलफल चलाएको छ। जीपीएस सिस्टम अर्थात गाडीमा ट्रयाकिङ गर्ने बित्तिकै त्यो गाडी कहाँ छ भन्ने पत्ता लाग्छ । यसो गर्दा दुर्घटनापछि गाडी नम्बर पत्ता नलाग्ने समस्या समाधान हुन्छ।

आठ हजारजति खर्च गर्दा गाडीमा ट्रयाकिङ गर्न सकिन्छ। कुनै अभिभावकले आफ्नो छोराछोरी कहाँ जान्छन् भन्ने थाहा पाउन गाडीमा ट्रयाकिङ गर्न सक्छन्। जस्तो, काठमाडौंमा प्रहरीले गुण्डा नाइकेलाई ट्रयाकिङ गरेको थियो । यसो गर्दा ऊ कहाँ जान्छ, कसलाई भेट्छ सबै थाहा हुन्छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी सिंहले कम्युनिटी साइरन र गाडीमा ट्रयाकिङ सिस्टम गराउन सकेमा चोरीलगायतका अपराध र दुर्घटनापछि गाडी नम्बर थाहा नपाएर हुने अन्यौल हट्ने बताए । ‘जनप्रतिनिधि, यातायात व्यवसायीहरु सकारात्मक हुनुहुन्छ । दुवै काम हुन्छ भन्नेमा म विश्वस्त छु, डीएसपी सिंहले भने, ‘यी दुई काम हुँदा प्रहरीलाई धेरै राहत हुन्छ ।’

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्