दक्षिण एसियाली खेलकुदमा नेपालको २० वर्षयताकै उत्कृष्ट नतिजा

फाइल तस्बिर

काठमाडौँ-नेपालले दक्षिण एसियाली खेलकुद-सागमा २० वर्षयताकै उत्कृष्ट नतिजा निकालेको छ।

नेपालले घरेलु मैदानमा जारी १३औँ सागको दोस्रो दिनको खेल समाप्तीमा १५ स्वर्ण जितेको छ। सन् १९९९ यता साग खेलकुदमा नेपालले यतिधेरै स्वर्ण पदक जित्न सकेको थिएन।

२० वर्षअघि घरेलु मैदानमा आयोजित आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। नेपालले नवौँ सागमा सात स्वर्ण, १०औँ सागमा सात स्वर्ण, ११ औँ सागमा ८ स्वर्ण र १२ औँ सागमा ३ स्वर्ण पदक जितेको थियो।

आठौँ साफमा नेपालले तेक्वान्दो र कराँतेमा समान १४ स्वर्ण जितेको थियो। बक्सिङमा २ र पौडीमा एउटा स्वर्ण प्राप्त भएको थियो। त्यतिबेला सागमा तेक्वान्दो र कराँते दुवैलाई पहिलोपटक समावेश गरिएको थियो।

२० वर्षपछि घर फर्किएको सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो। कराँतेको पहिलो दिन ९ स्वर्ण विजेताको टुंगो लाग्दा नेपालले सात स्वर्ण र दुई रजत पदक जित्यो। अर्थात हरेक स्पर्धामा नेपाल फाइनल पुग्यो।

पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र पुरुष टिमकातामा मन्डेकाजीसहित महसुस तामाङ र प्रविन मानन्धरको टोलीले स्वर्ण जित्यो। महिला टिम कातामा नेपालका निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको टोलीले नेपाललाई स्वर्ण दिलायो। महिला एकल कातामा नेपालकी चन्चला दनुवार रजतमा सिमित भइन्। उनलाई पाकिस्तानी खेलाडीलाई फाइनलमा हराएकी थिइन्।

महिला कुमुतेको ४५ केजीभन्दा कम तौल समूहमा नेपालकी कुसुम खड्काले स्वर्ण जितिन्। पुरुष कुमुते ८४ केजीभन्दा माथीको तौल समूहमा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण हात पारे।

पुरुष कुमुतेकै ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङ फाइनलमा बंगलादेशी खेलाडीलाई हराएर स्वर्ण जित्न सफल भए। र महिला कुमुतेमा नेपालकी अनु अधिकारीले पनि नेपाललाई स्वर्ण दिलाइन्।

तेक्वान्दोतर्फ पुरुष एकल पुम्सेको २३-२९ वर्ष समूहमा नेपालका कमल श्रेष्ठले स्वर्ण जिते। महिला एकल पुम्सेको १७-२३ उमेर समूहमा नेपालकी सिना मादेन लिम्बु पहिलो भइन्। २३-२९ वर्ष समूहमा नेपालकी पार्वती गुरुङले पनि स्वर्ण जितिन्।

महिला एकल पुम्से २९ वर्षभन्दा माथी उमेरमा नेपालकी आयशाले स्वर्ण जितिन्। पुम्से पेयरको २९ वर्षभन्दा माथि आयशाले संजिवकुमार ओझासँग मिलेर स्वर्ण जितिन्।

महिला पुम्से टिमअन्तर्गत १७-२३ उमेर समूहमा नेपालका निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोली  तथा २३-२९ उमेर समूहमा नेपालका निता गुरुङ, संगिता क्षेत्री र शुसिला राईको टोलीले स्वर्ण पदक जिते।

१२ औँ सागमा नेपालले तेक्वान्दोमा स्वर्ण पदक जित्न सकेको थिएन। कराँतेलाई भने प्रतियोगितामै समावेश गरिएको थिएन।।

१३ औँ सागको दोस्रो दिन नेपालले ट्रायथलनमा पनि स्वर्ण पदक जितेको छ। ट्रायथलनको महिला स्पर्धामा सोनी गुरुङले स्वर्ण जितिन्।

कराँतेमा अब १० स्वर्णको निर्णय हुन बाँकी छ। तेक्वान्दोमा अब १६ स्वर्णको निर्णय हुन बाँकी छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू