प्रचण्ड र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेट

प्रचण्डले किन रद्द गरे चीन भ्रमण ?

काठमाडौँ-सी पथबारे अध्ययन गर्नुका साथै चिनियाँ विकासको अवलोकनका लागि भन्दै जम्बो टोलीको नेतृत्व गर्दै चीन जाने आफ्नो पूर्व घोषित कार्यक्रम रद्द गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारे चीनलाई औपचारिक जानकारी गराएका छन्।

आगामी मंसीर २४ गते तीन दिने चीन भ्रमणमा निस्कने योजनासहित त्यसबारे सार्वजनिक रुपमै जानकारी गराएका दाहालले उपचारार्थ अस्पताल भर्ना भएका पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको ‘डिस्चार्ज’ मिति घोषणा नगरिएको र हालै पार्टी सञ्चालनको कार्यकारी अधिकार पाएको अवस्थामा विदेश भ्रमण उचित नहुने ठहरका साथ चीन भ्रमणबाट पछि हटेका हुन।

दाहालको चीन भ्रमण रद्द भएको सूचना सार्वजनिक भएपछि नेपालका चिनियाँ कार्यवहाक राजदूत वाङ छिलोङ सोमबार खुमलटार पुगी दाहालसँग त्यसबारे आधिकारिक जानकारी लिएको दाहाल निकट स्रोतले देशसञ्चारलाई दियो।

‘ पहिले आफू र सचिवालयका केही सदस्य मात्रै चीन भ्रमणमा जाने बुझेर दाहालले त्यो कार्यक्रममा आफू जाने घोषणा गर्नु भएको थियो । तर पछि गन्दै जाँदा ६० जना पुग्ने अवस्था आयो । त्यति ठूलो टोली लिएर जान उहाँलाई मन लागेन । अर्को प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ । यता भर्खरै मात्रै कार्यकारी अधिकार पाएको अवस्थामा काम गरेर देखाउनु पर्ने बेला विदेश भ्रमणमा जान उचित नहुने ठानेर दाहालले चीन भ्रमण रद्द गर्नु भएको हो’, स्रोतले  भन्यो ।

दाहालले वाङलाई आफू विशेष कारणबस पूर्वघोषित मितिमा चीन भ्रमण गर्न नसकेको जानकारी गराएको बुझिएको छ।

पूर्व एमाले र पूर्व माओवादीबीच पार्टी एकता भएको झण्डै १७ महिनापछि दाहालले १२ दिन अघि अर्थात मंसिर ४ गते अध्यक्ष ओलीबाट पार्टी सञ्चानको कार्यकारी अधिकार औपचारिकरुपमा पाएका थिए।

त्यो अधिकार प्राप्त गरेको केही दिनमै दाहालले सचिवालय बैठक डाक्ने र त्यसबाट स्थायी कमिटिको बैठकको मिति तय गर्ने तयारी गरेको भनिएपनि उपनिर्वाचन लगायतमा उनी व्यस्त बन्दा बैठक बस्न सकेको छैन ।

यता ६ दिन अघि मंसिर १० गते एपेन्डिटाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारार्थ प्रधानमन्त्री ओली यतिबेला महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलरथेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

चिकित्सकहरुले अझै कम्तीमा एक साता ओली अस्पतालमै रहनु पर्ने र १० दिनपछि काममा फर्कन मिल्नेबारे तीन दिन अघि जानकारी गराएका थिए।

यता, पार्टी सञ्चालनको कार्यकारी अधिकार पाएको पहिलो पटक प्रचण्डले बैठक बोलाउने लगायत काम कसरी गर्लान भन्ने चासो पार्टी पंक्तिमा बढेको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्