पकड क्षेत्रमा हारेपछि कांग्रेस सभापतिले दिइन् राजिनामा

पोखरा-नेपाली कांग्रेस पोखरा ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छिन्।

उपनिर्वाचनमा पोखरा ९ मा कांग्रेसले पराजय भोगेपछि नैतिकताको आधारमा राजीनामा दिएको उनले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

सभापति ठकुरीले नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसमक्ष राजीनामा दिएकी हुन् । पदबाट राजीनामा दिएको बताउँदै पार्टी र संगठनमा थप क्रियाशील भएर लाग्ने उनले बताएकी छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘जुन भरोषा र विश्वासका साथ पोखरा ९ का क्रियाशील सदस्य, नेता, मेरा अग्रजहरूले विश्वास गरेर वडा सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको थियो । मलाई लाग्छ पछिल्लो बिसम परिस्थितिमा मैले गरेका कार्य समय परिस्थिति अनुरुप उत्रिन सकिन कि ?’
राजीनामा पत्रमा उनले जिम्मेवारीभन्दा बाहिर रहेर पनि पार्टीप्रतिको निष्ठा र आस्था तथा भरोसा उत्तिकै राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

‘पोखरा ९ मा जुन मत आउनुपथ्र्यो आउन सकेन, यसमा मेरो पनि कमजोरी भयो होला, आगामी दिनमा यस्तो नहोस्’, उनले भनेकी छन् । सभापति ठकुरीले पार्टीभन्दा व्यक्ति ठूलो हुनै नसक्ने जनाएकी छन् ।

कास्की २ को सम्पन्न उपनिर्वाचनमा पोखराका ११ वटा वडा मध्ये ९ पनि एक हो । हालै सम्पन्न स्थानीय चुनावमा कांग्रेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए । तर आइतबार सार्वजनिक कास्की २ को नतिजामा वडा ९ मा कांग्रेसलाई उछिन्दै नेकपाको पक्षमा ३ सय ७० मत बढी आएको थियो ।

उक्त वडामा २ हजार ९ सय ७४ मत खस्दा नेकपाको १ हजार ५ सय ७ मत पाएको थियो भने कांग्रेसले १ हजार १ सय ३७ मत पाएको थियो । सो वडालाई कांग्रेसको पकड क्षेत्रको रुपमा चिनिन्थ्यो ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्