विजय सभामा विद्याको प्रतिबद्धता: चुनावमा गरेको वाचा भुल्ने छैन

पोखरा- उप-निर्वाचनमा कास्की-२बाट प्रतिनिधि सभामा निर्वाचित विद्या भट्टराईले आफूले जनतामाझ गरेको प्रतिवद्धता नभुल्ने वाचा गरेकी छन् ।

सोमबार आयोजित विजय सभामा बोल्दै विद्याले पार्टीले अघि सारेका र आफूले चुनावका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने सुनाइन् ।

‘यो क्षेत्रमा जनतालाई आवश्यक विकास निर्माणका काम प्रतिबद्ध भएर पूरा गर्छौं,’ उनले भनिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा जुट्न दिएको हौसलाले पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिनेछु ।’

उनले विजयी बनाउन मतदात गर्ने मतदातालाई धन्यवाद दिँदै जितको आफू एउटा पात्र मात्र रहेको बताइन् । ‘मतदाताले पार्टीलाई विश्वास गर्नुभयो । मत दिनुभयो,’ उनले भनिन्, ‘म एउटा पात्रमात्र हो, जित तपाईहरु सबैको हो ।’

सभामा उनले दिवंगत श्रीमान् रवीन्द्र अधिकारीप्रति श्रद्धा व्यक्त गरिन्। उनले भनिन्–‘हामीले पीडाका बाबजुद निर्वाचन सम्पन्न गरेका छौं, आरोह अवरोह तोड्दै जित हाँसिल गरका छौं ।’

विद्यालाई मन्त्री बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ


सभामा बोल्दै नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय, प्रदेश र संघीय सरकारले अघि सारेका एजेन्डालाई जनताले अनुमोदन गरेको बताए ।

पार्टी एकतापछिको सन्देश उपनिर्वाचनको नतिजाले दिलाएको उनको भनाई छ । मतदाता र पार्टीको सहयोगमा चुनाव जिताएको प्रतिनिधिलाई उचित जिम्मेवारी दिनुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।

‘वैचारिक, कार्यशैली एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश गण्डकी प्रदेशले दिएको छ,’ उनले भने, ‘यस्तो सन्देश दिने गण्डकी प्रदेश कमिटीलाई, जिल्ला कमिटीहरुलाई पुरस्कृत गर्नुपर्छ । सम्मानित गर्नुपर्छ । उनीहरुको कुरा सुन्दिनुपर्छ । त्यो कुरा भनेको हामीले जिताएर पठाएको मान्छेलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ ।’

नेताहरुको निर्णय, निर्देशन सही मानेर पालना गरिरहेको सुनाउँदै मुख्यमन्त्री गुरुङले उपयुक्त प्रतिनिधि सभाको उपयुक्त जिम्मेवारी मन्त्री नै भएको सुनाए । निर्वाचनका क्रममा उम्मेदवारले गरेका प्रतिबद्धता र पार्टीका एजेन्डलाई प्रदेश सरकारको तर्फबाट पुरै सहयोग गर्ने वाचा मुख्यमन्त्रीले गरे ।

महानगर, प्रदेश र संघीय सरकारकै समन्वयमा प्रतिनिधि सभाका सदस्यले आफ्ना प्रतिबद्धता पूरा गर्न सक्ने भन्दै विद्याको योजनालाई सार्थक लागु गर्न सहयोगको कुनै कमी नगर्ने मुख्यमन्त्री गुरुङले विश्वास दिलाए ।

सभामा गण्डकी प्रदेश सह–इन्चार्ज एवं कास्की १ का संघीय सांसद खगराज अधिकारी, अध्यक्ष हितराज पान्डे, कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले सम्बोधन गरेका थिए ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्