फोटो फिचर

विवाहपञ्‍चमीको अन्तिम दिन खीर खुवाएर मनाइयो रामकलेवा

जनकपुरधाम- प्रत्येक वर्ष झै यस वर्ष पनि विवाहपञ्चमीको अन्तिम दिन सोमबार रामकलेवा सम्पन्न भएको छ। प्रत्येक वर्ष झै यस वर्ष पनि जानकी मन्दिरमा विवाह सम्पन्न भएपछि जानकी रामको भइन्। विवाहपछि मिथिलाञ्चलमा मौहक भन्ने विधि हुन्छ।

मौहकमा बेहुलालाई खीर खुवाउने परम्परा रहेको छ। मौहक अर्थात राम कलेवा विधि समेत जनकपुरधाममा विवाहपञ्चमी महोत्सव अन्तर्गत सम्पन्न भएको छ।

जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाईले खीर ग्रहण गरे। राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई खीर खुवाइयो।

मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुध्न तथा अयोध्यावासीलाई जिस्काएका थिए ।

खीरके अनादर नहि करियौ यौ दुलहा
खीरके अनादर नहि करियौ
खीरके उपरमे बरफी राखल अछि
कोहवरमे मिलत असर्फी यौ दुलहा
खीरके अनादर नहि करियौ यौ दुलहा

मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ। रामले खीर खान नमानेपछि मिथिला नारीहरु गाउँछन्।

संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार घडी मिलए हजार
बिना अर्थक मनोरथ पुरबै कोना

संगी पुछियौ ग दुलहा रुसल छथि किए
जनकपुरसन बजार सुट मिलए हजार
संगी पुछियौ ग!!!

राजा जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भगवान रामलाई कोशेली दिएपछि खीर खान शुरु गरेपछि फेरि गीत गाउने महिलाहरुको टोलीले गाए।

खीर खाउ यौ दुलहा, खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन गालके फुलाउ यौ दुलहा
मैया पुछत बौवा दुबर छी किए
अहाँ अपन साउसके नाम नहि हँसाउ यौ दुलहा
खीर खाउ यौ दुलहा!!!

रघुवर चारै भाईका साथै अयोध्याबाट आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो । जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरे।

सो हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो। रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसाद आदि दिएर विदाई गरिएको छ। यससँगै यस वर्षको लागि साताव्यापी महोत्सव विवाहपञ्चमी सम्पन्न भएको छ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगरदर्शन भएको थियो। त्यस्तै दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर छठौँ दिन स्वयंवर तथा शुभविवाह र सातौ दिन रामकलेवा भएको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू