आफै गाडी चलाएर मन्दिर पुगे पूर्वराजा ज्ञानेन्द्र, पर्रोहाधाममा पूजाआजा

बुटवल-पूर्वराजा ज्ञानेन्द्र शाहले रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वरधाममा पूजाअर्चना गरेका छन्। परमेश्वरधाममा शाहले षोडशोपचार पूजा गरेको मन्दिरका पुजारी चन्द्र नेपालले जानकारी दिए।

उनका अनुसार षोडशोपचार पूजा भनेको आह्वान, आशन, पाध्य, अध्य, आचमनिय, पुनर्आचमनिय, पञ्चामृत, शुद्ध जल, अक्षता, धुप दीप, वस्त्र, जनैसुपारी तामुल लगायत आरती सहित गरिने पूजा हो।

यो पूजा गर्नाले शिव खुशी हुने विश्वास गरिन्छ। करीब १० मिनेट मन्दिरमा पूजा गरेका शाहलाई पूजारीहरू चन्द्र नेपाल, विष्णु ज्ञवालीले पूजा गराएका थिए।

पर्रोहाधाममा शिव स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ। शाह आफै गाडी चलाएर मन्दिरसम्म पुगेका थिए।

पर्रोहा पुग्नुअघि स्थानीय समर्थकले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” जस्ता नारा लगाएका थिए। उनलाई स्वागत गर्न स्थानीय फूलमाला लिएर बसेका थिए।

रूपन्देहीको तिलोत्तमास्थित टाईगर प्यालेस रिसोर्टमा बसेका शाहले मंगलबार मर्चवारीमाई मन्दिर मर्चवार, बुधबार भगवती मन्दिर तानसेन पाल्पा, बिहीबार पशुपति मन्दिर गोरूसिंगे कपिलवस्तु र शुक्रबार पाल्ही भगवती मन्दिर नवलपरासीमा पूजा गर्ने कार्यक्रम रहेको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्