उपनिर्वाचनबारे साझा पार्टी–हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो ओर्लिनुपर्छ

डा. सूर्यराज आचार्य।

काठमाडौँ – साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले सोमबार एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गरेका हुन् ।

साथै मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

प्रतिकूलताका बाबजुद पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

साझा पार्टीले छिटै ‘साझा भुईंयात्रा’ को देशव्यापी राजनीतिक जागरण र नागरिक सम्वादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू