नेपाली महिला खेलाडीकाे बहादुरी

इतिहासमा सेटसमेत नहारेको भारतलाई जब लाग्यो- खेल हार्न पनि सकिन्छ

तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौँ- अन्तिममा नतिजा स्वभाविक आयो- भारत स्वर्ण विजेता बन्यो, नेपालले रजत जित्यो। तर,  यो फाइनल भारतीय महिला भलिबलले वर्षौसम्म भुल्ने छैन।

अझ नेपाली महिला भलिबलले त इतिहासमै बिर्सने छैन। कतिपय  खेलको नतिजा हार–जितमा मात्र सिमित हुँदैन।

कसरी हार्‍यो र कसरी जित्यो भन्ने पनि अर्थपूर्ण हुन जान्छ। हार्ने अनुमान गरिएका खेलमा जित्दा–जित्दै हार्नेहरुको कथा त्यसरी लेखिँदैन, जसरी हार्ने अनुमान गरिएका खेलमा सजिलै हार्नेहरुको कथा लेखिन्छ।

अनि सजिलै जित्ने अनुमान गरिएका खेलमा जित्नेहरुको कथा पनि त्यसरी लेखिँदैन जसरी ती खेलमा कठिन जित हात पार्नेहरुको कथा लेखिन्छ।

समूहगत चरण र सेमिफाइनलका सबै खेलमा सोझो सेटमा जित हात पारेको भारतीय महिला भलिबलको टोली लगभग निर्विकल्पसमेत थियो- स्वर्ण विजेताका रुपमा।

फाइनलमा भारतको भेट त्यस्तो टोलीसँग थियो जोसँग उसले खेल हार्नु त परै जाओस् इतिहासमा एक सेटसमेत गुमाएको थिएन।

त्यसमा पनि भर्खरै, समूहगत चरणमा नेपालमाथि नै भारतले सोझो सेटमा जित हात पारेको थियो।

अर्को गौरवशाली इतिहास भारतसामु कस्तो थियो भने उसले सन् १९९१ मा आयोजित पाँचाै साफ गेम्सयता उसले प्रतियोगिताको महिला भलिबलमा स्वर्ण गुमाउनु त परै जाओस् एक खेल पनि हारेको थिएन। प्रतियोगितामा अन्तिमपटक भारतले श्रीलंकासँग हार ब्यहोरेको थियो।

त्यसयता हरेक पटक महिला भलिबलमा भारतको निकटतम प्रतिद्वन्दी श्रीलंका नै रह्यो। भारतमा आयोजित १२ औँ साग महिला भलिबलमा भारतले फाइनलमा श्रीलंकासँग एक सेट गुमाएर स्वर्ण जितेको थियो। त्यसपछि एसियन च्याम्पियनसिपमा श्रीलंकाले भारतलाई पाँच सेट खेल्न बाध्य बनाएको थियो।

त्यही श्रीलंकालाई सेमिफाइनलमा सोझो सेटमा हराएर नेपालले यसपटक फाइनल पुग्दै ऐतिहासिक  सफलता हात पार्दा घरेलु टोलीको मनोबल त बढेकै थियो। साथमा, नेपाललाई घरेलु मैदान र समर्थकको बलियो साथ हुन्छ भन्नेप्रति झिनो रुपमा सचेत थियो।

अनुमान बमोजिम नै, त्रिभपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्-राखेप कभर्डहलमा मंगलबार अपरान्ह सुरु भएको फाइनलमा भारतले पहिलो सेट जितेर सुखद् सुरुवात गर्‍यो।

२५-१७ को सेट त्यति प्रतिस्पर्धात्मक मानिँदैन भलिबलमा। थप दुई सेट जित्दा भारतलाई स्वर्ण निश्चित हुने थियो। तर त्यसपछिका लगातार दुई सेट गुमायो। अब एक सेट जिते नेपालको स्वर्ण पक्का थियो।  चौथो सेटमा भारत सोच्न बाध्य थियो- खेल हार्न पनि सकिन्छ।

कसरी भयो ? के भयो ?


पहिलो सेटमा,  सुरुवातमा २-० ले अगाडि बढेको नेपालविरुद्ध भारत लगातार तीन अंक जोड्दै अगाडि बढेको थियो। त्यसपछि भारतले ३-६ को अग्रता बनाएको थियो।  सेटमा फर्कने नेपालको प्रयास देखिए पनि भारत लगातार हावी भयो। ६-६ को स्थितिमा पुगेको नेपाल त्यसपछि १३-८ ले पछाडि पर्‍यो। भारतको यही अग्रता नेपाललाई भारी भयो। २०-१२ ले अगाडि बढेपछि पहिलो सेट भारतको पक्षमा लगभग देखिएको  थियो।

दोस्रो सेटमा पनि सुरुवाती अंक लिएको नेपाल त्यसपछि ४-१ ले अगाडि बढेको थियो। भारतलाई सेटमा फर्कन सजिलो भएन। पुनरागमन गर्दै सेटलाई ३-४ को स्थितिमा त  पुग्यो तर फेरी ४-७ ले पछाडि पर्‍यो। यसपछि भने नेपालको गतिलाई रोक्न भारत सफल भएको थियो। सुरुको ८ अंकपछि भारतले पहिलोपटक अग्रता लियो।

२ अंकले अग्रता लियो।  १२ अंकमा पुगेर भारतलाई नेपालले भेटेन मात्र, त्यसपछि अग्रता पनि लियो। १५ अंकसम्म नेपालको अग्रता रहेपनि सोही अवस्थामा भारतले नेपाललाई भेट्यो। भारतले अनि एक अंकको अग्रता लियो। तर फेरी १६-१६ को बराबरी भयो। अनि, नेपालले एक अंकको अग्रता लियो। फेरी पनि १७-१७ को बराबरी भयो।

एक अंकको अग्रता लियो त्यसपछि नेपालले पनि। यसपछि भने नेपालले अग्रता १, २,  ३, ४ अंकले फराकिलो बनाउँदै लग्यो। कुनै समय नेपाल २२-१८ को स्थितिमा थियो। तर भारतले पुनरागमनको प्रयास देखायो।

नेपालले थप एक अंकमात्र जोड्दा भारतले अन्तर एक अंकमा मात्र झारिसकेको थियो। नेपालले एक अंक जोडेर सेट प्वाइन्टमा पुगेको थियो। भारतले एक अंक जोडेर खेललाई रोमान्चक बनायो।

सरस्वती चौधरीको प्रहार विपक्षीले उठाउन नसकेपछि खेल हेर्न उपस्थित उपराष्ट्रपति नन्दबहादुर पुनसहितले उठेर नेपाली टोलीलाई बधाई दिए। भारतीय महिला भलिबल टोलिविरुद्ध नेपालले इतिहासमै पहिलोपटक सेट जितेको क्षण थियो त्यो।

त्यसमा पनि अघिल्लो सेटमा सहजै पराजित भएको नेपाली महिला खेलाडीको बहादुरीपूर्ण प्रदर्शन दर्शकका रुपमा उपस्थित सबैलाई आ-आफ्नो ठाउँबाट उठाउन पर्याप्त थियो।

अनि घाइते भारतीय कप्तान उत्रिन्


अब नेपालले बलियो भारतविरुद्ध कुनै सेटमा १, २, ३, ४ अंकको अग्रता मात्र होइन सेट जित्न पनि जानेको थियो। त्यसैले दर्शक मात्र होइन खेलाडीको मनोबल पनि उच्च देखिएको थियो। टोलीले सेट नै हारेपछि घाइते भएपनि भारतीय कप्तान निर्मलाले कोर्टमा उत्रने निर्णय गरिन्।

तर, नेपालले पुन सेटमा अग्रता लियो। २-० ले अगाडि बढेको नेपालविरुद्ध लगातार २ अंक जोड्दै भारत बराबरीमा पुग्यो। त्यसपछि भारतले सात अंकसम्म अग्रता लियो। तर २ अंकभन्दा फराकिलो हुन सकेन। अब अग्रता लिने पालो नेपालको आएजस्तै भयो। नेपाल ९-७ ले अगाडि बढ्यो। तर १३ अंकसम्म एक अंकभन्दा बढीको अग्रता हुन सकेन दुवै टोलीको।

बीचमा नेपालले २ अंकको अग्रता लिएपनि उक्त सेट १७-१७ को स्थितिमा देखियो। यसपछि नेपालले लगातार तीन अंक जोडेर २०-१७ ले अगाडि बढ्यो। त्यसपछि भारतले एक अंक जोड्यो भने नेपालले लगातार दुई अंक। नेपाल ४ अंकले अगाडि बढ्यो। नेपाललाई २४ अंकमा रोकेर भारतले लगातार तीन अंक जोडेपनि उक्त सेट २१-२५ ले गुमायो।

अघिसम्म सेटको जितले खुसी भएको नेपाली टोली अब स्वर्ण जित्न सक्ने दिशामा देखिएको थियो। उता भारतीय खेलाडी र अफिसियल निराश देखिन्थे। त्यस्तो केही हुन सकिरहेको थिएन जुन उनिहरु चाहन्थे।

अब नेपाल स्वर्णका लागि एक सेट जितबाट मात्र टाढा थियो। घरेलु दर्शकको हुटिङ चर्कँदो थियो। अघिल्ला तीनवटै सेटमा सुरुको अंक जोडेको नेपाल यसपटक असफल भयो। कतिसम्म ८ अंकसम्म भारतकै अग्रता थियो, एक पटक मात्र दुई अंकको, बाँकी सबै एक अंकको।

दुवै टोली १४-१४ को स्थितिमा पुग्नुअघि त्यसबीचमा दुवै टोलीले एक अंकभन्दा बढीको अग्रता लिन सकेका थिएनन्। तर नेपाललाई  स्वर्ण जित्न ११ अंक चाहिने अवस्थामा भारतलाई पछाडि पार्न त के भेट्न पनि घरेलु टोलीले सकेन।

भारतले १८ अंक जोडेको अवस्थामा नेपालले लगातार दुई अंक जोडेर अंक दूरी एक अंकमा मात्र झारेको थियो। भारतले लगातार तीन अंक जोडेर अग्रता चार अंकमा पुर्‍यायो। त्यसपछि नेपाल-भारतको अंक दूरी तीन अंकभन्दा कम हुन सकेन।

अन्तत नेपालले यो सेट २०-२५ ले गुमायो अनि खेलको निर्णय पाँचौ सेटमा पुग्यो। यो नतिजाले भारतीय खेलाडीहरु खुसी त भएका थिए तर निश्चित हुन सकेका थिएनन्।

निर्णायक सेट नेपालका लागि विर्सनलायक रह्यो। प्रश्न सर्वत्र थियो- यो त्यही टोली खेलिरहेको छ जसले भारतसँग लगातार दुई सेट जितेको थियो? नेपालले अंक नजोड्दै भारत ३-० ले अगाडि बढेको थियो। अनि नेपालले एक अंक जोड्यो तर भारतले कम्तिमा ४ अंकको अग्रता लगातार कायम राख्यो।

जब उसले नवौँ अंक हात पार्‍यो, वाम अर्प गरिरहेका भारतीय खेलाडीहरु बल्ल चिच्याउन थालेका थिए- इन्डिया…इन्डिया।

अन्तत: भारतले निर्णायक सेट १५-६ ले जित्दै स्वर्ण जित्ने इतिहास कायम राख्न सफल भयो।

विडम्बना के भने पाँच सेटसम्म खेलिरहँदा नेपालका प्राय एउटै अनुहार कोर्टमा डटिरहे। भारतले भने पछिल्ला दुई सेटमा व्यापक खेलाडी परिवर्तन गरेको थियो। जो खेलाडी आएपनि टोलीको अघिल्लो प्रदर्शन खस्किन दिएनन्।

जेहाेस् नेपालकाे हारमा पनि खुशी छ। दर्शक खुशी छन्। भारतजस्ताे प्रतिद्वन्दीकाे मनपनि जितेकाे छ, अनि साग महिला भलिबलमा पहिलाे पटक फाइनल पुगेसँगै रजत पदक पनि।

तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्