ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान

ट्रम्पमाथि महाअभियोग लगाउन पर्याप्त प्रमाण–प्रतिवेदन

पदमा रहेर गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको प्यानलले बताएको छ ।

महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनका समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय स्वार्थ भन्दा माथि आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई स्थान दिएको उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावमा आफू पुनः निर्वाचित हुने पक्षमा सहयोग गर्नका लागि युक्रेनलाई महिनौँदेखि आग्रह गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

ट्रम्पले आफ्नो व्यक्तिगत स्वार्थका लागि विदेशी शक्तिलाई अमेरिकाको आन्तरिक राजनीतिमा अवैध तवरले प्रभावित पार्न आग्रह गरेको प्रतिवेदनमा उल्लेख गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले भने आफूले कुनै पनि किसिमले गैरकानूनी गतिविधि नगरेको बताउँदै आएका छन् । अनुसन्धान सम्बन्धी ड्राफ्ट प्रतिवेदन सार्वजनिक हुनु अघि राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीको नेतृत्वमा भइरहेको अनुसन्धानको आलोचना गरेका थिए । उनले अनुसन्धालाई ‘अति अराष्ट्रवादी’ को शंज्ञा दिएका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका ट्रम्प सन् २०१६ मा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् ।

प्रतिवेदन सार्वजनिक भएपछि ह्वाइट हाउसका प्रवक्ताले प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले कुनै गलत गरेको भन्ने देखाउने प्रमाण नरहेको र त्यसले उनीहरुको कुण्ठा मात्रै झल्काउने बताएका छन् ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग, न्याय प्रक्रियामा अवरोध र सदनलाई बेवास्ता वा निन्दा गरेको सहितका आरोपमा महाअभियोगको लगाउने तयारी छ ।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ। त्यसकै लागि अनुसन्धान भइरहेको हो ।
राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू