सफल प्रेम, विवाह अनि स्वस्थ सन्तान

एचआइभी संक्रमणपछि उनको जीवनमा घाम लाग्यो

काठमाडाैँ – ‘मलाई हरेक दिन साँझ औषधि खान छोरीले सम्झाउँछिन्’ यति भनिरहँदा उनको अनुहार खुशीले उज्यालो बनेको थियो । खुशी रोगको होइन, छोरीले गर्ने ख्यालको थियो । उनले आफ्नो बारेमा छोरीलाई सबै कुरा बताइसकेका छन्।

धेरै कुरा उनले बुझेकी छन्, केही अझै बुझ्दै छिन्। ११ वर्षकी अर्पिता कक्षा ६ मा पढ्छिन्। उनी जे छन्, त्यसलाई अर्पिताले स्वाकारेकी छन्। त्यसैले त उनी सधैँ पानीको गिलास हातमा लिएर प्यारो बाबाको छेउमा आउँछिन् र औषधि खान सम्झाउँछिन्।

उनलाई छोरी र श्रीमतीको साथ अनि उनीहरुको मायाले हौस्याएको छ। आफू जस्तै व्यक्तिहरुका लागि लागि केही गर्नु पर्छ भन्ने थप उर्जा दिएको छ। विभिन्न अभियानमा आवद्ध भइरहेका छन्। आफूले जे भोग्नु पर्यो त्यो अरु कसैले पनि भाग्नु नपरोस् भन्ने सोचका साथ लागि परेका छन्।

धरानका ४३ वर्षीय खगेन्द्र खड्काले २१ वर्ष आगाडि आफू एचआईभी संक्रमित भएको थाहा पाए। संक्रमित हुँदा उनीलाई एचआईभीको बारेमा खासै केही जानकारी थिएन। एचआईभीको बारेमा उनलाई केही थाहा थियो भने त्यो मात्र ‘मृत्यु’ थियो।

उनले आफू संक्रमित भएको थाहा पाएपछि जसरी पनि मर्नु नै छ, भन्ने लागेको थियो। त्यो बेला उनी २२ वर्षका थिए। आफू संक्रमित भइसकेपछि उनीलाई अब मृत्यु बाहेक केही छैन भन्ने लाग्न थाल्यो। उनी मृत्युलाई कुरेर बस्न थाले। तर उनले कुरिरहेको मृत्युले उनलाई रोजेन। बरु सुधारको बाटो देखायो।

संक्रमणको कारण


कलिलै उमेरमा घर परिवारबाट टाढिएका उनलाई मर्नु कुनै नौलो कुरा लागेन। ११ वर्षको उमेरमा खगेन्द्रले बुवा गुमाए। बुवाको मृत्युपछि आमाले खगेन्द्र र उनका तीन भाइ–बहिनीलाई छोडेर हिँडिन्।

भाइबहिनीको जिम्मेवारी उनको काँधमा आयो। त्यो जिम्मेवारीले उनलाई बेस्सरी थिच्यो। सम्हाल्न गाह्रो भयो। जसका कारण मानसिक तनावमा फस्दै गए। खगेन्द्रले त्यही तनावबाट उम्कन लागु औषधको प्रयोग गर्न थाले। लागु औषधको प्रयोग उनलाई तनाव केहीबेर भए पनि भुलाउने सजिलो माध्यम बन्यो। तर तनाव भुलाउने माध्यम दलदल बन्यो।

बिस्तारै त्यही दलदलमा फस्दै गए। अनि औषधिको डोज बढ्दै गयो। डोज बढाउनु बाहेक अन्य कुनै विकल्प थिएन उनीसँग। अन्त्यमा, उनी सुई प्रयोग गर्न थाले। खगेन्द्र आफू जस्तै अन्य लागु पदार्थ सेवनकर्ता सँगै बसेर शरीरका नसाहरुमा सुई घोच्न थाले।

एक जनाले प्रयोग गरेको सुई उनीहरु १० जनासम्मले प्रयोग गर्थे। सुईबाट रोपिँदै बगेको नसाले उनलाई लठ्ठ बनाउँथ्यो। उनी त्यही नसामा लठिन्थे। नसामै झुमिन्थे। हरबखत नसाकै नियन्त्रणमा रहन्थे। निदाउनका लागि नसा चाहिन्थ्यो। नसा सेवन गर्न नपाए स्वासै रोकिएला जस्तो हुन्थ्यो।

एक थोप सेवन गर्न नपाउँदा शरीर कट्कटी दुख्न सुरु गर्थ्यो । राति नसा लिएर सुत्थे त बिहान उठ्ने बित्तिकै नसामै झुम्थे उनी। उनलाई कहिले र कुनबेला एचआईभी भयो पत्तै भएन। उनको जीवन नसामै चलिरहेको थियो। २०५६ सालमा विभिन्न जिल्लाहरुमा न्यू एरा नामक एक संस्थाले कुलतमा फसेका व्यक्तिहरुको रगत परीक्षण गर्यो।

जसमा उनी पनि सहभागी भए। परीक्षणका लागि दिएको रगतमा एचआईभी पोजेटिभ देखियो।

संक्रमण पछि…


एचआईभी एउटा अवस्था हो। यो लाग्दैमा कुनै मान्छे मरिहाल्छ भन्ने हुँदैन। तर यो कुरा खगेन्द्रलाई थाहा थिएन। न त उनलाई कुनै पश्चाताप भयो, न कुनै दुःख। परिवारबाट टाढा भएका कारण उनलाई आफू संक्रमित भएकोमा कुनै वास्ता भएन।

संक्रमित भएका व्यक्ति प्रति हुने विभेदका बारेमा उनी पूर्ण रुपमा अन्जान थिए। त्यसैले उनले आफू प्रति हुने विभेदको बारेमा सोच्न भ्याएनन्। र कहिल्यै सोचेनन् पनि।

उसो त उनी त्यो समयमा एचआईभीको बारेमा कुनै प्रकारले जानकार थिएनन्। जानेका थिए त केवल मर्ने रोग भनेर। केही रेडियो, टेलिभिजनमा कार्यक्रम सुनेका थिए। त्यही बेला उनले प्राणघातक रोग भन्ने बुझेका थिए। त्यसैले त उनलाई मृत्युदेखि डर लागेन। मृत्युवरणका लागि अझै नसामा झुम्न थाले।

त्यो समय उनले कहिल्यै पनि सोचेनन्, कि संक्रमित भइसकेपछि लामो समयसम्म पनि जीवन यापन गर्न सकिन्छ । उनले एउटा प्रण गरे। मर्नु नै छ भने लागु पदार्थ सेवन गरेरै मर्छु।

आफू संक्रमित भएको उनले न त परिवारलाई भने न त साथीभाइलाई नै। संक्रमित भएको थाहा पाएको ४ वर्षसम्म आफ्नै छाती भित्र दफ्नाएर राखिरहे। उनी भन्छन्, ‘लागु पदार्थ सेवन गर्नेहरुको परिवारले उनीहरुलाई कहिल्यै राम्रो ठान्दैनन्, उनीहरु यो कहिले मर्छ भनेर मृत्युलाई करिरहेका हुन्छन्।’

यस्तै अवस्थामा परिवारलाई आफ्नो ठानेर संक्रमणको बारेमा भन्नु उचित ठानेनन् उनले पनि।

लागु औषधबाट पुनर्स्थापना केन्द्रको बाटो


उनी ८ महिना १७ दिन पुनर्स्थापना केन्द्रमा बसे। जहाँ बसेर उनी सुध्रिए । त्यहीँ बसेर उनले १४ महिना स्वयमसेवा गर्ने मौका पाए। केही समय पछि उनी धरान पोजेटिभ समूह नामक एचआईभी संक्रमितहरुकको संस्थामा आवद्ध भए र सोही संस्थामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै काम गर्न थाले ।

सोही समयमा उनले आफूले आफैलाई नजिकबाट नियाल्ने मौका पाएँ। आफैलाई चिने। आफूलाई बुझे। आफूले अञ्जानमा गरेको पाप पखाल्न चाहे। अर्थात आफू एचआईभी संक्रमित भएको थाहा हुँदा हँदै पनि उनले आफ्ना साथीहरुसँग सुई साटासाट गरेर नसा सेवन गरेका थिए। त्यसको पाप उनी धुन चाहन्थे ।

नरेशराज श्रेष्ठलाई उनी आफ्नो प्रेरणाको स्रोत मान्छन्, जो एचआईभी संक्रमित थिए। तर पनि अन्य व्यक्ति सरह जीवन यापन गरिरहेका थिए। उनले यही क्षेत्रमा सामाजिक कार्य गरिरहेको देख्दा उनी नरेशराजको काम प्रति मोहित भए। त्यही बेला मात्र उनले थाहा पाए, एचआईभी संक्रमित भएका व्यक्ति पनि लामो समयसम्म जीवन यापन गर्न सक्ने रहेछन्।

मनमा पलाएको बाँच्ने रहर


जब मानिसलाई मृत्युदेखि डर लाग्छ, तब मात्र उसलाई भित्रैदेखि बाँच्ने इच्छा जाग्छ। उनलाई पनि त्यो इच्छा जाग्यो। लागु पदार्थ सेवन गरेरै मर्छु भन्ने सोच बोकेर आगाडि बढेका उनीलाई त्यो एक दिनले जीवित तुल्याएको छ।

नसामा हुँदा आफू झगडालु स्वभावको भएको उनले बताए। उनले भने, ‘लागु पदार्थ सेवन गर्ने त्यस्तै हुन्छन्, झगडा गर्ने, अरुको खोसेर खाने, म पनि त्यस्तै थिएँ।’
त्यही झगडा गर्ने क्रममा एक व्यक्तिले खगेन्द्रको ढाडमा छुरी हाने। उनको ढाडमा घाउ भयो।

सुरुसुरुमा औषधि गर्न दिएको रुपैयाँले उनले उही लागु पदार्थ प्रयोग गरिरहे। उपचार गरेनन्। उनको घाउ पाक्दै गयो। निको हुनै कुनै छाँटकाँट देखिएन। उनी उभिन नसक्ने भए। अब बल्ल उनलाई आफ्नो गल्तीको महसुस भयो। मृत्युसँग डराए उनी। मनमा बाँच्न पाए हुन्थ्यो भन्ने रहर पलायो।

अन्जानमा भएको गल्ती…


उनीमा चेतना थिएन। जसले गर्दा आफूले प्रयोग गरेको सुई अरुलाई पनि प्रयोग गर्न दिए। उनको समूह जसले नशाबाट नसा लिन्थे, उनीहरु मध्ये अधिकाशं एचआईभी संक्रमित थिए। लागु औषध सेवनकर्तामा कुनै किसिमको प्रतिसोध नहुने उनले बताए। उनी भन्छन्, ‘त्यो बेला हामी नसामा डुबेका हुन्छौँ, के सही के गतल छुट्याउन सक्दैनौँ।’

त्यसैले उनीहरु अरुलाई हानी पुगोस् भन्ने तरिकाले सुई साटासाट गर्ने गर्दैनन्। अरुबाट उनीमा सर्यो। र उनीबाट पनि अरुमा सर्यो। जुन गल्ती उनीबाट अन्जानमा भयो।

सफलताको साथी…


मायाको कुनै परिभाषा नहुने उनी बताउँछन्। उनी सुध्रिए। लागु पदार्थ त्यागे। उनले नयाँ जीवन पाएको अनुभुती गरे। उनको बोली आचरण सबै परिवर्तन भयो। उनीमा आएको यही परिर्वतनले खगेन्द्र प्रति उर्मिला आकर्षित भइन्।

उर्मिलाले खगेन्द्र सुध्रिनु अगाडि र पछाडिको दुवै व्यवहार देखेकी थिइन्। यति मात्र होइन उर्मिलालाई खगेन्द्र एचआईभी संक्रामित हुन्, भन्ने समेत थाहा थियो। उर्मिलाले खगेन्द्रलाई स्वकारिन्। खगेन्द्रसँगै जीवन जिउने वाचा गरिन्।

उनीहरु २०६२ सालमा विवाह बन्धनमा बाँधिए। तर उर्मिलाको परिवारले उनीहरुलाई स्वकार्न मानेन। उनीहरु केही समय लुकेर बसे। खगेन्द्रलाई उर्मिलाको परिवारले एक लागु औषध सेवनकर्ता भनेर चिन्ने गरेको थियो। तर बिस्तारै उर्मिलाको परिवारले खगेन्द्रलाई बुझ्दै गयो।

उनीमा आएको परिवर्तनले उनीहरुलाई रोक्न सकेन। उनलाई स्वीकार गरेरै छोडे। विवाह गरेको ८ वर्षको प्रतिक्षा पछि खगेन्द्र र उर्मिलाको फेरि अर्को पटक २०७० सालमा माइतीले उनीहरुको विवाह गरिदियो।

खगेन्द्र मुसुक्क मुस्कुराउँदै भने, ‘हाम्रो दुईपटक बिहे भयो, पहिला हामी आफैले गर्यौँ, पछि माइतीको तर्फबाट उहाँहरुले गरिदिनु भयो।’ उर्मिला एचआइभी संक्रमित होइनन्।

खगेन्द्र र उर्मिलाकी एक छोरी छिन्। चिकित्सकको सल्लाह लिए। निरन्तर चिकित्सकको निगरानीमा बसे। प्रिभेन्सन टू मदर एण्ड चाइल्ड ट्रान्समिसनस् (पीएमटीसिटी) अर्थात आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथाम उपचार पद्धतिबाट उर्मिलाले छोरी जन्माइन् । छोरी अहिले ११ वर्षकी भइन्।

२१ वर्ष अगाडिको खगेन्द्रलाई सम्झँदा


विगतलाई फर्केर हेर्दा खगेन्द्रलाई सपना जस्तो लाग्छ। त्यो क्षण सम्झँदा उनका आँखा रसाउँछन्। कहिल्यै आफू यो अवस्थामा पुगुँला भनेर कल्पनासम्म पनि नगरेको बताए। २१ वर्ष आगाडि आफैले आफैलाई धिक्कार्दै बस्नु पर्ने अवस्था थियो।

तर अहिले उनी जिल्लाबाट राष्ट्रिय स्तरमा आएर काम गरिरहेका छन्। उनको सोच परिर्वतन भएको छ। लागु पदार्थरहित जीवन बाँच्न थालेका छन्। १७ वर्ष भयो समाजमा खुलेर हिँड्न थालेको । आफू जस्तै संक्रमितहरुका लागि केही गर्नु पर्छ भन्ने सोच लिएर अगाडि बढेका छन्।

उनी राष्ट्रिय एचआईभी/एड्स महासंघको कोषाध्यक्ष भएर काम गरिरहेका छन्। ६० वटा साइटलाई हेरेर बसिरहेका छन्। संक्रमित व्यक्तिहरुको प्रतिनिधित्व गरिरहेका छन्।

उनले थपे, ‘म खुशी छु, म मात्र होइन मेरो पहिलाको बानी देखेर वाक्क हुनेहरु अहिलेको मेरो अवस्था देखेर खुशी भएका छन्।’ खगेन्द्र आफू मात्र पुनर्स्थापित भएनन्। उनले कुलतमा फसेका व्यक्तिहरुलाई सुधार केन्द्रमा पुर्याएर उनीहरुलाई नयाँ जीवन दान गरेका छन्।

अहिले आफू एचआईभी संक्रमित भन्न हिच्किचाउँदैनन्, गर्वका साथ उनी आफ्नो वास्तविक्ता सबैलाई बताइदिन्छन्।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्