१० हजार मिटरको पुरुष स्पर्धामा नेपालका दीपक अधिकारीलाई कास्य पदक

काठमाडौँ – तेह्रौँ साग अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् ।

पुरुष तर्फको स्पर्धामा बुधबार बिहान प्रतिस्पर्धा भएको हो । १० हजार मिटरको दूरी नेपालका अधिकारीले ३० मिनेट ५०.० सेकेण्डमा पूरा गरेका हुन् ।

यो स्पर्धामा भारतका शुरेश कुमारले स्वर्ण पदक जितेका छन् । उनले २९ मिनेट ३३.६१ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण पदक जितेका हुन् । यस्तै ३० मिनेट ४९.३० सेकेण्डमा दूरी पूरा गरेका श्रीलंकन धावकले रजत पदक जिते ।

यसअघि मंगलबार भएको महिला तर्फको १० हजार मिटर स्पर्धामा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् ।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्