आइएफआरसीको महासचिवमा नियुक्त भए नेपालका जगन चापागाईँ

काठमाडौँ – नेपालका मानवीय सहायताकर्मी तथा रेड क्रस रेड क्रेसेन्टका वरिष्ठ अधिकारी जगन चापागाईँ रेड क्रस र रेड क्रेसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिवमा नियुक्त भएका छन् ।

यसअघि उनी आइएफआरसीको उपमहासचिवमा कार्यरत थिए । आएफआरसीको प्रशासकीय निकायको मंगलबार बसेको बिस्तारित बैठकले चापागाईँलाई नयाँ महासचिवमा नियुक्त गरेको हो ।

इन्जिनियरिङ्ग गरेका चापागाईँले विभिन्न पदमा रहेर रेड क्रस रेड क्रेसेन्टमा २५ वर्ष बिताइसकेका छन्।

विभिन्न नेतृत्वदायी भूमिकामा रहेर उनले आईएफआरसीको सहायता र विकास प्रयासलाई विश्वव्यापी रुपमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

महासचिवमा चापागाईँलाई नियुक्त गरेको घोषणा गर्दै आईएफआरसीका अध्यक्ष फ्रान्सिस्को रोक्काले भनेका छन्, ‘जगन चापागाईँलाई हाम्रो नयाँ महासचिवमा नियुक्त भएको घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौँ । उहाँमा रेड क्रस र रेड क्रेसेन्टबारे गहन जानकारी छ । हाम्रो अभियानमा स्वयम् सेवकका रुपमा यात्रा सुरु गरेका उहाँले यो पदको नयाँ गरिमा कायम गर्नु हुनेछ भन्ने आश छ ।’

विश्वका १९० देशमा रेड क्रस तथा रेड क्रेसेन्टको सञ्जाल रहेको छ र यति बिस्तारित मानवीय सहायता संस्थाको महासचिवमा नेपाली जगन चापागाईँ नियुक्त भएका हुन् ।

माध्यामिक तह पढ्दै गर्दा २०३७ सालतिर जुनियर रेडक्रस सर्कलमा आबद्ध भएबाट सुरु भएको जगनको मानवकल्याणकारी यात्रा अहिले महासचिवमा पुगेको हो ।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्