इण्डो-प्यासिफिक रणनीतिको ऐतिहासिक पृष्ठभूमि 

झन्डै अढाइ सय वर्षअघि  २९ डिसेम्बर १७७४ मा अमेरिकी अखवार दी न्युयोर्क गजेटेयरमा जर्ज वाशिंगटनको  एउटा ऐतिहासिक पत्र छापिएको थियो।

पत्रमा उनले  वलियो जलसेना, हातहतियार, पैसा बेगर कुनै देश  कसरी साहसपूर्वक आफ्नो रक्षा गरेर विश्व समुदाय माझ सम्मानित र सुरक्षित रहन सक्दछ भनेर प्रश्न गरेका थिए। (

स्मरणीय छ उनै जर्ज वाशिंगटन पछि गएर अमेरिकाका प्रथम प्रधान सेनापति र राष्ट्रपति समेत भए।

१५ जुलाई १७८०मा अमेरिकी सेनाको प्रधान सेनापतिको हैसियतमा फ्रान्सको अमेरिकी महादेशमा तैनाथ सबै फ्रेन्च सेनाका सेनापति काउन्ट रोशम्बुलाई सम्वोधन गर्दै लेखिएको पत्रमा जर्ज वाशिगटनले भनेका छन् – जुनसुकै अवस्थामाका हरेक सैन्य अभियानमा जल सेनाको श्रेष्ठतानै निर्णायक हुन्छ। त्यस्तो जल सेनाले नै कुनै पनि युद्धमा विजयलाई सुनिश्चित गराउँछ र त्यो सैन्य नीतिको प्रमुख सिद्धान्त हो। (

उनै रोशम्बु र जर्ज वाशिंगटनको संयुक्त सैन्य अभियानले  महानतम ब्रिटिस सेनापतिहरूमा गणना हुने चार्ल्स कर्नवालिस नेतृत्वको ब्रिटिस सेनालाई आत्मसमर्पण गर्न वाध्य पारेको थियो र त्यसले  अमेरिकाको स्वतन्त्रतालाई सुनिश्चित गरायो।

पाँच वटा विभिन्न समुद्रमा २२ वटा पृथक जल सेना सहभागी  उक्त युद्धमा कुनै पनि जल युद्धमा भन्दा बढी युद्धपोतहरू संलग्न थिए र बेलायत, फ्रान्स र अमेरिकाको लागि सो युद्ध रणनीतिकरूपमा  सबैभन्दा महत्वपूर्ण  थियो।

अमेरिकी  जल सेना सम्वन्धी प्रारम्भिक   दस्तावेजहरू सङ्कलन भएको ‘नेभल डक्युमेन्ट्स् अफ दी अमेरिकन रिभोल्युसन’ का  लागि  जुलाई ४, १९६३मा लेखिएको आफ्नो भूमिकामा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले लेखेका छन्-  आफ्नो  स्वतन्त्रता युद्ध अवधिमा दुवै महासागरका विभिन्न मोर्चामा  फ्रान्स, स्पेन र नेदरल्याण्डस् जस्ता मुलुकहरूले  ब्रिटिश जलसेना  विरूद्ध अमेरिकाको पक्षमा नलडिदिएका भए  अमेरिकाको स्वतन्त्रता  र विजय सम्भव  थिएन।

साथै अर्को महत्वपूर्ण पक्ष के रहेको छ भने इटाली लगायतका युरोपियन मुलुकका अन्वेषक र जलसेना अधिकारीहरूले आफ्ना मुलुकका लागि व्यापारको सम्भावना  र  उपनिवेशको खोजी गर्ने क्रममा अमेरिका पत्ता लगाएका थिए। अर्थात् युरोपेली अन्वेषकहरूको दशकौँ लामो जल अभियानकै क्रममा अमेरिका पत्ता लागेको थियो।  त्यो एक किसिमको समुद्र मन्थन नै थियो।

हिन्दु धर्मग्रन्थहरूमा समुद्र मन्थनको सुन्दर वर्णन छ। जस अनुसार दुर्वासा ऋषिले श्राप दिएका कारण इन्द्र श्रीसम्पत्ति अर्थात लक्ष्मी विहीन भए।  चरम गरिवीमा पुगे। भगवान विष्णुले समुद्र मन्थनद्वारा पुन श्रीसम्पत्ति लगायत सम्पूर्ण सामर्थ्य,शक्ति र समृद्धिका कारक वस्तु र रत्नहरू प्राप्त गर्न सकिने तर समुद्र मन्थन जस्तो महान कार्य  देवताहरूको मात्रै बसको कार्य नभएकोले दानवहरूसँग मिलेर मात्रै समुद्र मन्थन गर्नसकिने बताए।

त्यस पछि देवता र दानवको वीचमा सम्झौता भयो। समुद्र मन्थन सम्पन्न भयो।

समुद्र मन्थनको क्रममा पीडा, कष्ट, जोखिमका लामा वर्णन छ पुराणहरूमा। तर समुद्र मन्थनबाट पनि पहिला सारा ब्रह्माण्डलाई  नष्ट पार्न सक्ने  हलाहल विष नै निस्कियो।

भगवान शिवले त्यसलाई आफ्नो कण्ठमा धारण गरेर जसोतसो व्यवस्थापन गरिदिनुभयो, त्यसपछि समुद्रबाट इच्छा माफिकको बस्तु प्रदान गर्ने कामधेनु गाई, कल्पवृक्ष,  सम्पूर्ण औषधीय जडिबुटी र वनष्पति सहित धन्वन्तरी वैद्य,अमृत, लक्ष्मी, चन्द्रमा श्रेष्ठ र असामान्य गति र शक्तिलाई प्रतिनिधित्व गर्ने  उच्चैश्रवा घोडा, ऐरावत हात्ती , हरेक किसिमको सङ्कट र विपदाबाट मुक्ति दिने कौश्तुभ मणि,मोहको प्रतीक वारुणी मदिरा र अपूर्व सुन्दरी रम्भा अप्सरा आदि प्राप्त भए।

भन्न खोजेको, समुद्र सारा श्री-सम्पत्ति,सुन्दरता, कल्याण,शक्ति, सामर्थ्य, मोह,युद्ध ,शान्ति, विग्रह, विनाश सबैको स्रोत हो।

देवता दानव सबैको आश्रय स्थल थियो।

विश्व मानव समुदाय, जीव जन्तु , वनष्पति सवैकालागि समुद्र जीवनको अजस्र श्रोत हो।

राष्ट्रहरूको शक्ति , समृद्धि र अस्तित्व रक्षाको आधार हो।

हिन्द महासागर क्षेत्रको विगतको महाशक्ति  भारत


इतिहासमा प्रवेश गरौँ  ! वैदिक सभ्यता, हरप्पा सभ्यता र सिन्धु घाँटीको सभ्यताका युगहरूमा भारत एउटा विशाल जल शक्ति थियो।

पश्चिम एसिया हुँदै दक्षिण र दक्षिण पूर्व एसियाका मुलुकहरूमा भारतको प्रभुत्व स्थापित थियो।

नेपालमा जन्मिएका  राजकुमार सिद्दार्थ भारतमा गएर बुद्धत्व प्राप्त गरे र भारतबाटनै जापानदेखि चीनसम्म बुद्ध धर्मको विस्तार भयो र त्यसमा भारतको राजनीतिक प्रभाव, विकसित जल यातायात र परिवहन  प्रणालीको योगदान रहेको बुझ्न सकिन्छ।

वैदिक साहित्यमा पनि समुद्री यात्रा र जहाजहरूबारे उल्लेख भएको विज्ञहरू बताउँछन्।  इसा पूर्वको तेस्रो सताव्दीमा सिकन्दर र चन्द्र गुप्त मौर्यवीच भएको जल युद्धको वर्णन इतिहासमा पाइन्छ।

सिन्धु नदी र  अरव सागरको मिलन बिन्दुमा रहेको पाटला बन्दरगाह प्राचीन भारतको प्रमुख सामुद्रिक बन्दरगाहमा गनिन्थ्यो,  युरोप र भारतवीचको मूख्य व्यापारिक केन्द्र  थियो।

विश्वका  प्रतिष्ठित विश्व विद्यालयहरूमा गणना हुने बेल्जियमको  गेन्ट विद्यालयका प्राचीन इतिहास सम्बन्धी अनुषन्धानकर्ता

ब्राम फकोनियर अनुसार इसाको प्रथम शताव्दीमा हिन्द महासागरको बाटो ग्रीस र रोमको भारतसँगको व्यापार उत्कर्षमा थियो  ()

र वर्तमान पान्डिचेरी निकटको अरिकामेडु रोमन व्यापारको मूख्य बन्दरगाह थियो।

इसापूर्व ३० मा  इजिप्टमाथि रोमन साम्राज्य स्थापना भएपछि नील नदी र रक्त सागर हुँदै हिन्द माहासागर भएर हुने व्यापारमा एक सय २० भन्दा बढी जहाजहरू भारत ओहोर दोहोरगर्ने गरेकोबारे इसापूर्व प्रथम शताव्दीका ग्रीसका नामी भूगोलविद स्ट्राबोलाई उद्धृत गर्दै विभिन्न अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। ()

इस्वी  संवत आरम्भ हुनु अघि भारत संसारकै सबैभन्दा समृद्ध र शक्तिशाली मुलुक थियो र भारतीयहरूको प्रति व्यक्ति आय संसारमा नै सबैभन्दा बढी थियो।

सन् १००० सम्म पनि भारतको त्यस्तो उपलव्धि कायम थियो। म्याडिसनको अध्ययनलाई आधार मानी विख्यात ब्रिटिस अर्थविद डेभिड स्मिथले उल्लेख गरे अनुसार सन् १००० ताका  विश्व अर्थतन्त्रमा  भारत र चीनको मात्रै योगदान ५२ प्रतिशत थियो र त्यसमा पनि भारतको हिस्सा २९ प्रतिशत र चीनको २३ प्रतिशत थियो। जबकि त्यतिखेर पश्चिम युरोपको त्यस्तो योगदान केवल नौ प्रतिशत थियो। (

युरोपमा पुनर्जागरणको युग आरम्भ हुनु अघिसम्म पनि विश्व अर्थतन्त्रमा भारत र चीनको हिस्सा ५० प्रतिशत भन्दा बढी थियो। () स्पष्ट छ भारतको त्यो उपलव्धिमा मूल योगदान उसको समुद्री शक्ति र समुद्रको बाटो हुने व्यापारको थियो।

प्राचीन रोमका विख्यात लेखक, प्रशासक तथा सैन्य कमाण्डर प्लिनी () लाई आधार मानी रोमिला थापरले उल्लेख गरे अनुसार त्यतिखेरका भारतीय जहाजहरू ७५ टन सम्मका थिए। अन्य लेखकहरूले त्यो भन्दा धेरै ठूला भारतीय  जहाजहरू रहेका र तिनमा सात सय मानिस सम्मले यात्रा गर्न सक्ने उल्लेख गरेका छन्। (

एक अमेरिकी अन्वेषक र अध्येता थोम्पसन गुन्नारको पुस्तक ‘अमेरिकन डिस्कभरी आवर मल्टिकल्चरल हेरिटेजलाई उद्धृत गर्दै विभिन्न लेखकहरुले दिएको जानकारी अनुसार कुनै भारतीय जहाज त  सात सय मानिसका सिट क्षमताका र  एक हजार  टन सम्मका थिए।

भारतीय जहाजहरू बलिया काठबाट बन्ने भएकाले  अत्यन्त मजबुत हुने र कम्तीमा ३० बर्ष सम्म खप्ने तर युरोपियन जहाजहरू कमलो काठबाट बन्ने भएकाले १२ वर्ष भन्दा बढी नटिक्ने  खालका थिए। ()

चीनबाट आफ्नो मुलुक इटाली फर्किने क्रममा सन् १२९० मा भारत आइपुगेका विख्यात समुद्री यात्री मार्कोपोलोलाई उद्धृत गर्दै एक लेखकले दिएको जानकारी अनुसार काठमा फलामका किलाहरू ठोकेर बनाइएको दुई तले भारतीय जहाजहरू चार हजार क्विन्टल सम्मका भार वहन गर्ने क्षमताका थिए। त्यस्ता जहाजहरूमा तीन सय नाविकहरूले काम गर्थे।  यात्रीहरूकालागि तिनमा सम्पूर्ण सुविधाहरू सहितका अनेकौं कक्ष थिए। (१०)

भारत  चीन नै सताव्दीयौँसम्म विश्वका शक्तिशाली   समृद्ध राष्ट्र रहे 


सताव्दियौँसम्म मलाया, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेसिया, श्रीलंका लगायतका भूभाग र त्यहाँको जल क्षेत्रमा भारतीय प्रभुत्व कायम रह्यो।

बङ्गाल, गुजरात, तामिलनाडु, आन्ध्र, केरला र उडिसाका तटवर्ती क्षेत्रहरूमा जहाजहरू निर्माण, मरम्मत हुन्थ्यो। त्यहाँबाट चीन, दक्षिणपूर्व एसिया, पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरू र अरव मुलुकहरू युरोपसम्म जहाजहरूको ओहरदोहर हुने गर्दथ्यो। अंडमान और निकोबार द्वीप प्रमुख व्यापारिक बिन्दुको रूपमा थियो।

माथि पनि उल्लेख गरिसकिएको छ – सताव्दीयौँसम्म भारत विश्वको समृद्ध देश थियो। त्यसैले भारतसँगको व्यापारमा भएको तीब्र प्रतिष्पर्धाका कारण मध्यपूर्व र मध्य एसिया हुँदै प्राचीन रेसम मार्गबाट गरिने व्यापारमा युरोपेलीहरूलाई बाटोमा पर्ने मुस्लिम मुलुकहरूमा आक्रमण हुने, सताइने भएपछि पोर्चुगलका राजा मेनुअल प्रथमले आफ्ना निकटका नातेदार तर अत्यन्त साहसी अन्वेषक भास्को डिगामालाई भारतजाने  समुद्री मार्ग पत्ता लगाउन आग्रह गरे।

जुलाई ८, १४९७मा भास्को डी गामाले  एक सय ७० जना सहयोगी र नाविकहरुको साथमा चारवटा जहाजमा लिस्बनबाट यात्रा शुरु गरे। सिङ्गो अफ्रिकी महादेशलाई परिक्रमा गर्दै हिन्द महासागरमा प्रवेश गरे र मे २० १४९८मा केरलाको कोलिक्कोटमा आइपुगे।

१४९९ मा उनी पोर्चुगल फर्किँदा उनले तीन सय दिन त समुद्रमै बिताएका थिए। उक्त यात्राको क्रममा उनले ३९ हजार किलोमिटरको  यात्रा तय गरेका थिए। (११)

एक सय ७० जनामा केवल ५४ जना मात्रै घर फर्किन सफल भए बाँकी यात्रा अवधिमा नै  रोगव्याधी आदि विभिन्न कारणले  मृत्युवरण गर्न वाध्य भएका थिए।

तीमध्ये स्वयम् भास्को  डी गामाका भाइ पाओलो पनि थिए।

चीनियाँहरूले त युरोपियनहरू भन्दा सयौँ बर्ष  अघि नै  अस्ट्रेलिया,  अफ्रीका,दक्षिण र उत्तर  अमेरिका, उत्तरी र दक्षिणी ध्रुव प्रदेशमा  पुगिसकेर विश्वको फन्को मारिसकेका थिए। युरोपियनहरूले भन्दा सयौँ वर्ष अघि  उनीहरूले बनाएको विश्वको नक्सा एकदम सही र सटीक थियो भनेर एक ब्रिटिस लेखक र पूर्व जल सेना अधिकारीले आफ्नो एउटा विश्व प्रशिद्ध पुस्तकमा दावी गरेका छन् ।(१२)

पन्ध्रौँ सताव्दीको आरम्भताका नै हिन्द महासागरका भारत र श्रीलंकादेखि केनिया र सोमालिया लगायतका ३३ मुलुकहरूका तट क्षेत्रमा चीनियाँहरूको व्यापक र आक्रामक उपस्थिति रहने गरेको थियो।

सन् १४०५ देखि १४३३ सम्ममा चीनियाँ जलसेना  प्रमुख झेङ् हीले सत्तरी जहाजमा २७ हजार सैनिकको नेतृत्व गरेर सात पटक हिन्द महासागर वारपार गरेका थिए।(१३ ती जहाजहरू एक सय ५० मिटर भन्दा लामा र  सो सताव्दीको अन्त्यतिर  पोर्चुगिजहरूले प्रयोग गर्ने गरेका जहाज भन्दा पाँच गुणा बढी भारवहन क्षमताका थिए। (१४

जुन अवशरको समयको महत्व बुझाउने उद्देस्यले ग्याभिन मेञ्जिजले सो अवशर सम्पन्न भएको वर्षबाट  नै आफ्नो पुस्तकको नामकरण गरे सो वर्ष अर्थात  चीनियाँ नयाँ वर्ष १४२१को फेब्रुवरी २ तारिखका दिन   एसिया, अफ्रिका र अरव मुलुकका गरेर २८ वटा मुलुकका राष्ट्र र सरकार प्रमुखहरू चीनियाँ सम्राट झु दीको राज्याभिषेकको अवशरमा उनलाई बधाई र शुभकामना दिन आएका थिए।

उक्त समारोहमा रोम, ब्रिटेन, फ्रान्स र पोर्चुगलका सम्राटहरूलाई आमन्त्रण गरिएको थिएन।

त्यस्तो  निमन्त्रणा नगरिनुको कारण चीनियाँ सम्राटको दृष्टिमा  ती मुलुकहरूको कुनै महत्व नहुनु थियो। उनको विचारमा ती मुलुकहरू न व्यापारका लागि कुनै गतिला सामान उत्पादन गर्ने गर्थे न कुनै  महत्वपूर्ण वैज्ञानिक ज्ञान र  आविष्कारकै लागि परिचित थिए। (१५

भारत  चीन अस्ताए ,युरोप  अमेरिका उदाए


त्यही चीन पछि आएर एकातिर भियतनाममा भएको सैनिक अभियानमा प्राप्त असफलता अर्कोतिर समुद्री अभियानको खर्च आदि कारणले आफूलाई समुद्री शक्ति भन्दा महाद्वीपिय शक्तिको परिचयमा सन्तोष गर्न लाग्यो र हिन्द महासागर र पश्चिम प्रशान्त महासागर युरोपीय प्रभुत्वको लागि खुला भयो। (१६

त्यस्तो प्रभुत्वले चीन, दक्षिण पूर्व एसिया र दक्षिण एसियामा युरोपियन मुलुकहरूको औपनिवेशिक शासनलाई स्थापना गर्‍यो। हिन्द महासागर र पश्चिम प्रशान्त महासागरमा युरोपियन मुलुकहरूको समुद्री गतिविधिमा विस्तार हुँदै जाँदा भारत र चीन आन्तरिक रूपमा कमजोर हुँदै गए।

उता युरोपका मुलुकहरूले औद्योगीकरणलाई तीब्रता दिए।  राज्यको कर सङ्कलन गर्ने  क्षमतामा अत्यधिक वृद्धि  गरे  र सङ्कलित राजस्वलाई सैन्य उद्योगमा अर्थात नयाँ र आधुनिक हातहतियारको विकास र उत्पादनमा  व्यापक लगानी गरे।

युद्ध र  सैनिक अभियानद्वारा नयाँ नयाँ मुलुकमाथि विजय प्राप्त गर्नु र तिनलाई उपनिवेश बनाएर अझ बढी कर सङ्कलन गर्नु र राज्यको सैन्य क्षमतामा अझ बढी बढोत्तरी  गर्नु उनीहरूको मूल राज्य नीति बन्न गयो।

त्यसैको परिणाम १४९२ देखि १९१४को अवधिमा युरोपियनहरूले संसारको ८४ प्रतिशत भूभागमा आफ्नो उपनिवेश र प्रभुत्व स्थापना गरे। (१७

ती मुलुकहरूले  इस्ट इन्डिया कम्पनी र डच इस्ट इन्डिया कम्पनी जस्ता व्यापारिक प्रतिष्ठानहरूलाई आफ्ना व्यापारिक जहाजहरूमा त्यस्ता  बन्दुक र तोपहरूले सुसज्जित गरेर सैनिकहरूलाई  सुरक्षा अधिकारीको रूपमा उपयोग गर्ने स्वतन्त्रता प्रदान गरेका थिए।

समुद्र विश्व व्यापारको मूल आधार त हुँदै हो,अत्याधुनिक जेट प्रणालीको विकास भइसकेको  र अन्तरिक्ष  युद्धको स्थिति  आइसकेको अवस्थामा पनि मुलुकको जलसेनाको शक्ति र सामर्थ्यले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा निर्णायक भूमिका खेलिरहेको मात्रै छैन विगतका कुनै पनि समयको तुलनामा  त्यसको महत्वमा झन् वृद्धि हुँदै आइरहेको छ।

समुद्रमा आफ्नोराष्ट्रिय हित सुरक्षित र सुनिश्चित गर्न मात्रै नभएर  मुलुकको हवाई र स्थल सेनाको  निर्णायक सफलताकोलागि पनि विश्वको प्रमुख जल क्षेत्रमा प्रभुत्व स्थापना हरेक ठूला र शक्तिशाली  मुलुकको प्रमुख रणनीतिक लक्ष रहने गरेको छ।

पन्ध्रौँ र सोह्रौँ सताव्दीमा पोर्चुगल र स्पेन समुद्री शक्तिकै कारण विश्वशक्ति बनेका थिए।

सत्रौँ सताव्दीमा नेदरल्यान्ड्स र फ्रान्स विश्वका प्रमुख जल शक्ति थिए।

अठारौँ सताव्दी र उन्डाइसौँ सताव्दीको आरम्भका वर्षहरूमा फ्रान्स, उन्डाइसौँ सताव्दीको अन्त्य र वीसौँ सताव्दीको शुरूका वर्षहरूमा जर्मनी विश्वको प्रमुख जल शक्तिको रूपमा प्रतिष्ठित थियो।

तर वेलायत  सत्रौँ सताव्दीको अन्तिम वर्षहरू देखि वीसौँ सताव्दीको दोस्रो दशकसम्म विश्वको प्रमुख र सर्वशक्तिमान जल शक्ति थियो।

सवै समुद्रहरूमा उसको प्रभुत्व रहेकैले ऊ प्रमुख विश्व शक्ति बनेर  संसारको सवैभन्दा ठूलो भूभागमा आफ्नो उपनिवेश स्थापना गर्न सफल भएको  थियो।

दोस्रो विश्व युद्धको अवधिदेखि अट्लान्टिक र प्रशान्त महासागरको प्रमुख जल शक्तिकोरूपमा  अमेरिका स्थापित भयो। क्रमश: हिन्द  महासागरको जल क्षेत्रमा समेत उसको उपस्थिति बढ्दै गयो र अन्तत: आज ऊ विश्वका तीन वटै महासागर,तिनका वरिपरीका जल क्षेत्रका साथै  उत्तरी र दक्षिणी सागरमा समेत निर्णायक हैसियतमा उपस्थित छ र विश्वको सर्वशक्तिमान राष्ट्रको भूमिका र हैसियत प्राप्त छ।

क्रमशः

सन्दर्भ सूची 

(१) साम विलिस – दी स्ट्रगल फर सी पावर दी रोयल नेभी भर्सस दी वर्ल्ड , अट्लान्टिक बुक्स-लन्डन,२०१५ पृष्ठ एक्स एक्स एक्स वन

(२)  साम विलिस, ऐजन

(३) ब्राम फ़कोनियर- ग्रिको-रोमन मर्चेन्ट्स  इन दी इन्डियन ओसन : रिभिलिङ अ मल्टिकल्चरल ट्रेड, २०१२

४ ) सीअन म्याकग्रेल: अर्ली सिप्स एण्ड सी फेयरिङ्: वाटर ट्रान्सपोर्ट बियण्ड युरोप,पेन एण्ड सोर्ड, २०१५, पृष्ठ ४९

(५) डेभिड स्मिथ -दी ड्रयागन एण्ड दी एलिफन्ट :चाइना इन्डिया एण्ड दी न्यु वर्ल्ड अर्डर, प्रोफाइल बुक्स, २००७, पृष्ठ १३

(६)  डेभिड स्मिथ ऐजन पृष्ठ १४

(७) इसाको प्रथम सताव्दी मै प्लिनी दी एल्डर नाउले चर्चित प्राचीन रोमका एक सफल प्रशासक,

सैनिक कमाण्डर, विख्यात प्रकृतिविद र प्रकृति दार्शनिक थिए I

अन्य अनेकौँ पुस्तकहरूका अतिरिक्त ३७ खण्डमा ठेलीमा लेखिएको  उनको नेचुरल हिस्ट्रीमा भूगोल, इतिहास,

दर्शन, युद्ध शास्त्र, समुद्री विज्ञान,दर्शन शास्त्र, मानव शास्त्र, खनिज  तथा भूगर्भ विज्ञान, औषधि विज्ञानहरुकाबारे विशद वर्णन गरिएको छ।

सन् १८५५ देखि ल्याटिनबाट अङ्ग्रेजीमा अनुवाद भएर प्रकाशित हुन थालेको नेचुरल  हिस्ट्री वास्तवमा इन्साइक्लोपेडिया नै थियो।

सोही नेचुरल हिस्ट्रीको एच र्याकह्याम एम.ए.द्वारा अनुदित र हार्वर्ड युनिभर्सिटी प्रेस म्यासाच्युसेट्स क्याम्ब्रिज  र विलियम हाइनमान लिमिटेड लन्डनद्वारा सन् १९४२मा प्रकाशित पुस्तकको भोल्युम २ बुक  ६ को पृष्ठ ३८० देखि ४७० सम्म भारत, श्रीलंका र हिन्द महासागरको बारेमा विशद वर्णन गरिएको छ ।

(८) रोमीला थापर अ हिस्ट्री अफ इन्डिया, भोल्युम एक , पेङ्गुइन बुक्स,१९९० पृष्ठ ११३-११४

(९) भाइस एडमिरल  राजेश्वर नाथ, इन्डियन डिफेन्स रिभ्यु , भोल्युम २२ .  २  अप्रिल जुन २००७

(१०) स्टेफेन  न्याप इन्डियाज एनसिन्ट म्यारिटाइम हिस्ट्री, पार्ट वन, प्रज्ञान्त डट कम, मे ३, २०१७

(११) डब्ल्यु डब्ल्यु डब्ल्यु हिस्ट्री डट  कमबाट नोभेम्वर २०, २०१९मा उद्धृत गरिएको

(१२) ग्याभिन मेञ्जिज – १४२१ दी यर चाइना डिस्कभर्ड दी वर्ल्ड , ब्यान्टम बुक्स, २००३ , पृष्ठ ३२-३३

(१३) रोब्बी  रोबर्टसन – दी थ्री वेभ्स अफ ग्लोबलाइजेसन  अ हिस्ट्री अफ अ डिभेलपिङ् ग्लोबल कन्सस्नेस् , जेड बुक्स लन्डन , २००३ पृष्ठ ६९

(१४) रोब्बी  रोबर्टसन,ऐजन पृष्ठ

(१५) ग्याभिन मेञ्जिज, पूर्वोक्त पुस्तक पृष्ठ ४५

(१६) रोब्बी  रोबर्टसन,ऐजन पृष्ठ

(१७) फिलिप टी हफ्म्यान – हाउ युरोप कँक्वेर्ड दी वर्ल्ड – दी स्पोइल्स अफ अ सिङ्गल माइन्डेड फोकस अन  वार, फरेन अफियर्स, अक्टोवर ७, २०१५।

हफ्म्यानले संक्षेपमा  फरेन अफियर्सको माथि उल्लेखित लेखमा र   प्रिन्सटन विश्व विद्यालयबाट  सन् २०१५मा प्रकाशित उनको  चर्चित पुस्तक – ‘ह्वाई  डिड युरोप कंवेर्ड दी वर्ल्ड’मा त्यसलाई सविस्तार उल्लेख गरेका छन्।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्