पोखरामा लोपोन्मुख बाजाको सम्मेलन हुने

पोखरा – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एवं हिमाली सांस्कृतिक परिवारको सहकार्यमा आयोजनामा पोखरा लोपोन्मुख बाजा सम्मेलन हुने भएको छ ।

मङ्सिर २० र २१ गते हुने सो सम्मेलनका माध्यमबाट नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उद्देश्य रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रचलित एवं लोपोन्मुख बाजा प्रदर्शनी, कार्यपत्र प्रस्तुति, अन्तक्र्रियाका साथै बाजाका धुन प्रस्तुत गरिने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले जानकारी दिए ।

सम्मेलनमा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै तेर्सापट्टि ताया मचा समितिले नेवारी धुन, मृदा, झ्याली, ता र लोपोन्मुख बाजा ढल्कीको प्रस्तुति गर्ने, भलकमान गन्धर्व साराङ्गी पाठशाला कास्कीले गाईने धुन, डाँफेचरी, आर बाजा, साराङ्गी, मादल, मुजुरा प्रस्तुति गरिने हिमाली सांस्कृतिक परिवारका सचिव श्रीजङ्ग गुरुङले जानकारी गराए ।

त्यस्तै लमजुङ जिल्लाको प्रतिनिधित्व गर्दै दुधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्याली बाजा प्रस्तुत गर्ने, मनाङ जिल्लामा बजाई बाजाको प्रतिनिधित्व गर्दै बौद्ध अर्घौ सदन पोखराले लामा बाजा र बौद्ध धुन, तमु प्ये ल्हु सङ्घले लमजुङ, कास्की, गोर्खा, स्याङ्जाको प्रतिनिधित्व गर्दै पच्य, क्याप्री, झाँक्रीको बाजा धुन, ढ्याङ्ग्रो, शङ्ख र झ्यालीसहित प्रस्तुति गर्ने बाजा सम्मेलन संयोजक तेज केसीले बताए ।

मुस्ताङ जिल्लाको प्रतिनिधित्व गर्दै हिमालय ग्रुपको प्रस्तुति कर्म फारम, सेब्रु धुन, टुङ्ना, सारङ्गी, बाँसुरी, ह्याङ्जे, ढग्ने बाजाको प्रस्तुति, बाग्लुङ पर्वतको पञ्चै बाजा समूहले लोपोन्मुख धुन र बाजा सनाही, नरसिंह, दमाह, ढोलकी, ट्याम्को बजाउने भएको छ भने नवलपुर थारु समूहले थारु संस्कृति धुन, मानर र मुजुर वाद्यवादन प्रस्तुति गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यस्तै स्याङ्जा जिल्लाको प्रतिनिधित्व गर्दै सिर्सेकोट नौथुम तमु समाजले ढिलो भाका, पातको धुन प्रस्तुति गर्नेछ । तनहुँ जिल्लाको प्रतिनिधित्व गर्दै लामामगर समाज घाँसीकुवाले कौडा धुनसँगै खैंजडी, झ्याली र मुजुरा, तथा स्याङ्जाको जुनेली भजन कीर्तन समूहले भजन प्रस्तुति गर्ने हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिए ।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्