स्थानीय निर्वाचनपछिको साढे २ वर्ष

नेकपा र कांग्रेसले पोखराका ११ वडामा कुनमा नतिजा सुधारे, कुनमा बिगारे?

पोखरा – प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र कास्की २ मा पोखरा महानगरपालिकाभित्रका ११ वडा छन् । तिनै वडाका ४५ हजार ५ सय ४६ कुल मतको ५२.२७ प्रतिशतले २१ उम्मेदवारमध्ये पहिलो भई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भइसकेकी छन् । विगतका निर्वाचनमा जस्तै उपनिर्वाचनमा पनि कांग्रेस दोस्रो स्थानमा रह्यो ।

दलीय प्रतिस्पर्धामा विगतका निर्वाचनमा जस्तै यो उपनिर्वाचनमा विशेष गरी वडागत रुपमा नेकपा र कांग्रेसले प्राप्त गरेको मतलाई लिएर विभिन्न बहस हुन थालेका छन् । २०७४ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ११ वडामध्ये ८ वटा वडामा नेकपा (पूर्व एमाले) का तर्फबाट वडाध्यक्ष छन् । बाँकी ३ वडामा कांग्रेसका वडाध्यक्ष छन् ।

स्थानीय निर्वाचनदेखि उपनिर्वाचनसम्म आइपुग्दाको अवधी साढे दुई वर्षमा कुन वडामा कुन दलले आफ्नो पक्षमा मतदाता रिझाउन सफल भए उपनिर्वाचनको नतिजाले प्रष्ट पारेको छ ।

स्थानीय निर्वाचनमा खसेको मतको आधारमा हेर्न हो भने पनि जितेकै वडामा समेत नेकपाले पछिल्लो नतिजामा आएर आफ्नो मत सुधार गर्न सकेन । कांग्रेसले आफ्नो पकड क्षेत्र मानिएको वडा नै गुमाउनु परेको छ ।

कांग्रेसले स्थानीय निर्वाचनका क्रममा कास्की २ का ११ वडामध्ये वडा ४, ९ र ११ मा आफ्नो पकड क्षेत्रको रुपमा चिनाएको थियो । पोखरा ९ को वडाध्यक्ष कांग्रेसका रामराज लामिछाने छन् ।

पछिल्लो नजिताले वडा नम्बर ९ का मतदाता कांग्रेसले गुमाएको छ । स्थानीय निर्वाचनमा नेकपाको भन्दा १ सय ९२ मत आफ्नो पक्षमा बढी ल्याई कांग्रेसले वडाध्यक्ष जितेको थियो । पछिल्लो नतिजामा नेकपाले ३ सय ७० मतले कांग्रेसलाई उछिनेको छ । अपेक्षा गरेअनुसारको नतिजा नआएकै कारण वडा ९ की उमाकुमारी ठकुरीले कांग्रेस वडा सभापतिबाट राजीनामा समेत दिइसकेकी छन् ।

कांग्रेसको पकडकै रुपमा चिनिएको वडा ४ मा भने स्थानीय तह निर्वाचनमा भन्दा उपनिर्वाचनमा नेकपासँगको मतान्तर बढेको छ । स्थानीय तहमा कांग्रेसका वडाध्यक्ष उम्मेदवार शंकर बास्तोलाले १ सय ८५ मतले नेकपालाई पछि पारेका थिए । पछिल्लो नतिजामा ४ सय ४६ मतले कांग्रेसको अग्रता छ । ११ वटै वडामध्ये कांग्रेसले उल्लेखनीय सुधार गरेको वडा ४ नम्बर हो ।

औसतमा केही मत जोड्ने काम वडा ११ मा पनि भएको छ । पछिल्लो उपनिर्वाचनमा पहिलेको भन्दा ४१ मत कांग्रेसले आफ्नैमा बढाएको छ । पूर्व एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनिसकेपछिको उपनिर्वाचनमा पनि कांग्रेसले आफ्ना पकडका केही वडामा संरक्षण गरेको मतले स्थानीय निर्वाचनमा ठूलै योगदान गर्ने छ ।

मत सुधार संकेतका हिसाबले वडा नम्बर ८ मा कांग्रेसको उपलब्धि देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षकी उम्मेदवार शारदा गिरी नेकपाका रुद्र बरालसँग १ सय ४० मतले पछाडि परेकी थिइन् । उपनिर्वाचनमा भने जम्मा १९ मतले कांग्रेस पछि छ । तर खसेको मतका आधारमा हेर्ने हो भने नेकपाको औसत मतदाता घटेको देखिँदैन । स्थानीय निर्वाचनका बेला उक्त वडामा ४ हजार २२ मत खसेको थियो । उपनिर्वाचनका क्रममा ३ हजार ९ सय २९ मतमात्रै खसेको छ ।

समग्र कास्की २ मा बढेको १ हजार २ सय बढी मतदाता सबै वडामा बाँडिएका छन् । त्यसआधारलाई मान्ने हो भने पनि अधिक खस्न सक्ने मत संख्या र हाल दलले पाएको मतको संख्याले आगामी निर्वाचनको नतिजालाई ठोकुवा गर्न सक्ने छैन ।

बाँकी वडामा भने नेकपाको मतान्तर अघिल्लो निर्वाचनमा भन्दा भारी देखिएको छ । उक्त वडाहरुमा कांग्रेसको उपस्थिति झनै कमजोर देखिन्छ । वडा ३३ मा स्थानीय निर्वाचनमा ३ सय ८२ मत मात्रै मतान्तर रहेको नेकपाको हाल बढाएर १ हजार १ सय ६१ पुगेको छ ।

मतान्तर बढाउने क्रममा वडा २१, २०, १६, १५, ७, मा नेकपाको उपस्थितिमा सुधार हुँदै गएको छ । वडा १७ मा भने नेकपाको मत खसेको मतको तुलनामा औसत नै देखिन्छ । कांग्रेसले उक्त वडामा आफ्नो पक्षमा भने मत बढाएको छ ।

समीक्षा गर्दै दल

निर्वाचन परिणाम लिएर नेकपा उत्साही छ, भने कांग्रेस आफ्ना कमजोरी तल्लो इकाई कमिटीदेखि नै समीक्षा गर्ने क्रममा छ ।

समग्रमा क्षेत्रगत नजिता आफ्नो पक्षमा आए पनि वडागत नतिजा केलाउँदा गम्भीर समीक्षा गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापा बताउँछन् ।

‘एउटा कुरा मत कम खसेको छ । दोस्रो कुरा हाम्रा केही कमी कमजोरी पनि होलान्, तेस्रो कुरा सत्ता, सरकार र स्थानीय तहप्रतिको आक्रोश पनि होला’ उनले भने, ‘मतान्तरमा फरक नभए पनि केही वडा जस्तै ४ मा खासै प्रोग्रेस भएको देखिएन ।’

विपक्षी उम्मेदवारको प्रभावले गर्दा पनि केही वडामा नेकपाले सोचेजस्तो नतिजा ल्याउन नसकेको अध्यक्ष थापाको भनाई छ । तर वडा नम्बर ८ मा नेकपाले ठूलो मत गुमाउने आंकलन गरे पनि झिनो मतान्तर कायम गरेको उनले बताए । उपनिर्वाचनको सम्पूर्ण समीक्षाको रिपोर्ट चाँडै बुझाउन वडा कमिटीलाई निर्देशन दिइसकेको उनले सुनाए ।

सत्ताको दुरुपयोग गर्दै प्रहरी कर्मचारी हेरफेरमा दस्तक्षेप गरेका कारण कांग्रेसको उल्लेखनीय मतको सुधारमा अवरोध भएको कास्की कांग्रेस सभापति कृष्ण केसीको आरोप छ ।

‘सरकारको संयन्त्रले भ्याएसम्म आन्तरिक धाँधलीको तयारी गरेको अवस्था देखियो’ उनले भने, ‘हामी चुनाव व्यवस्थित ढंगले सञ्चालन गर्दै गर्दा पनि अन्तमा राज्यको पक्षबाट राज्य संयन्त्रको दुरुपयोग भयो । त्यसलाई हामीले रोक्न सकेनौं । निष्पक्ष ढंगले जनताले मत दिन पाएको भए यो खालको मतान्तर हुन्थेन भन्ने हाम्रो बुझाइ हो ।’

वडा नम्बर ३३ र २१ मा रवीन्द्रको जन्मथलो र प्रभाव क्षेत्र भएका कारण नेकपाको प्रभाव क्षेत्रमा अनपेक्षित मत घटेको कांग्रेस सभापति केसीले बताए ।

समग्र चुनावी नतिजा आफ्नो पक्षमा नआए पनि गत स्थानीय निर्वाचनमा भन्दा केही वडामा मत संरक्षण गर्दै सुधार पनि भएको उनले बताए ।

‘११ वटै इकाईका पनि तल्लो तहसम्म गएर समीक्षा गर्ने निर्णय गरेका छौं । मत सुधार भएको स्थिति पनि देखिएको छ,’ उनले भने, ‘जहाँ धेरै मत विविध कारणले प्रभावित हुन्थे, त्यहाँ बिस्फोटका घटना भएका छन् ।’

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्