स्वरसम्राटको सम्झना

‘नारायणगोपाल र चाँदनी शाहको सम्बन्ध व्याख्या गरिएभन्दा फरक थियो’

काठमाडौँ- स्वर सम्राट नारयाण गोपालको आज २९ औँ स्मृति दिवस, उनले संसार छोडेर गएपनि आफ्नो कला मार्फत अमिट छाप छोडेका छन्। २०४७ साल मंसिर १९ गते उनले संसार छोडेपनि मनभित्र अझै मुस्कुराइरहेका छन्, गुनगुनाइरहेका छन्।

५१ वर्षको उमेरमा उनले जतिको संगत गरे उनीहरुसँग तिता मिठा अनुभव छोडेर गए, त्यसैले त जब गल्ली गल्ली हिँड्दा, यात्रा गर्दा, कोठामा बसेर गीत सुन्दा उनको स्वर गुञ्जिन्छ, तब उनीहरुलाई नोस्टाल्जिक बनाउँछ। नारायण गोपालको उपनाम पनि नाम छ, सन्की, मुडी, हक्की तर सँगै काम गरेका दिपक जंगम भने उनलाई ‘प्रोफेसनल’ भन्छन्।

‘उहाँसँग जसले पनि काम, कुरा गर्न सक्दैनथ्यो,’ जंगमले भने, ‘मन परेन भने ठाडै अस्वीकार गर्ने नारायण गोपाललाई दाँयाबाँयाको भन्दा पनि आफ्नो कामको कुराको मतलब हुन्थ्यो।’

गीतकार तथा संगीतकार दिपक जंगमले नारायण गोपालसँग ‘गीति यात्रा’ एल्बममा काम गरेका छन्। जंगम आफैले लेखेका गीतहरु ‘यति धेरै माया दिई’, ‘तिमीलाई म के भनौँ’, ‘साउनको झरी बनी’ सुपर हिट भए। अझ नारायण गोपालसँग मिलेर बनाएको गीत, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा’ ले त तहल्का मच्चायो।

यति स्मरण बताउँदासम्म जंगमको अनुहारमा एक किसिमको प्रफुल्लता छाइसकेको थियो। सोफामा बसेर गीत रेकर्ड गराउँदाको स्मरणलाई निरन्तरता दिए,

‘२०४४ सालमा नारायण गोपाल दाइ र म ‘गीति यात्रा’ को तयारीमा सँगै काम गर्दै थियौँ। म क्याम्पसमा पढाउँदै थिए, दरबारबाट मलाई फोन आएछ। हस्याङफस्याङ्ग गर्दै ‘चाँदनी शाहको फोन आएको छ’ भनेर बोलाउन आए। दरबारबाट फोन आएको भनेपछि धेरैलाई चासो बढ्यो। मेरो मन पनि ढुक्क फुल्यो। के के न भएको जस्तो भयो।’

फोनमा बोलेँ, उहाँको सचिव हुनुहुँदो रहेछ। गेहेन्द्रमानसिंहले मलाई चिन्नुहुन्थ्यो, उहाँले भन्नुभयो ‘सरकारबाट तपाईलाई गीत बक्सिएको छ। यो गीतलाई पपुलर बनाइदिनुपर्‍यो, गुलाम अलिको भन्दा पनि धेरै पपुलर अरे’ मैले भने ‘म गीत राम्रो बनाउने कोशिस गर्छु तर पपुलर त मेरो हातमा हुँदैन।’ जवाफ आयो, ‘म कुरा गर्न जान्दिन, ‘मसँग यही कुरा आयो, उहाँले जे भन्नुभयो, मैले त्यही खबर गरेँ। जे गर्नुहुन्छ, मलाई खबर गर्नुहोस्।’

जंगमले पाकिस्तानी गजकार गुलाम अलिले दिपक जंगमको संगीतमा गाएका दुईओटा गजलले धेरै प्रसिद्धि पाएको थियो। जंगमलाई यो गीत विदेशमा पनि चर्चित भएको खबर आउँथ्यो। भारतीय मुलुकमा पनि यो गीत चर्चित भएको भन्ने चर्चाले गर्दा उनलाई चाँदनी शाहको गीतलाई त्यति नै चर्चित हुन्छ भन्न गाह्रो परेको थियो।

जंगम भन्छन्, ‘फोन संवादपछि एउटा अर्थली हातमा आइपुग्यो। गीत थियो, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा।’ प्रेसर जस्तो थियो। दरबारको काम आफ्नो च्यानल मार्फत हुन्थ्यो। दरबारले रेडियो नेपाललाई मात्र काम गर्न दिन्थ्यो, पहिलो पल्ट यसरी काम आएको थियो । नाइँ भन्ने अवस्था नै थिएन। साथीभाईले पनि हौसाए।

मैले सुनेको थिए, ‘नारायण दाइको सम्बन्ध दरबारसँग राम्रो छैन, नारायण गोपाल दरबार नजिक जान चाहदैनन्।’ तर एक मात्र व्यक्ति नारायण गोपाल मात्र थिए। मैले जसरी पनि मनाउन नै पर्थ्यो। मैले ट्युन बनाएर लगेँ र भनेँ ‘दाई एउटा गीत आएको छ, गरौँ न।’

हामी गीतिकथाको तयारीमा थियौँ। सुनौँ भन्नुभयो। ‘गीत लामो भयो, गाह्रो हुन्छ’ भन्नुभयो। ट्युन सुनाएँ उहाँलाई मन परेन, फेरी अर्को दिन सुनाए, उहाँले वास्ता गर्नुभएन। फेरि बनाएर सुनाएँ, फेरि मन परेन। चार पाँच दिनसम्म लगेको लग्यै गरेपछि उहाँले मलाई सोध्नुभयो, ‘सधैँ एउटै गीत किन ल्याएको, कसको गीत हो ?’ भन्न थाले। मेलै सबै कुरा भनेपछि उनले नाइँ भनेनन्। अनि दुबैले ट्युन बनायौँ। २८ ओटा ट्युन बने। अनि अन्तिममा दुई ओटा ट्युनमा गीत रेकर्ड भयो।’

यो गीतले पनि नसोचेको सफलता पायो। त्यसपछि उनीहरु गीतीमालाको काममा व्यस्त भए।

यसरी भएको थियो भेट

आर्काइभ तस्बिर।

नारायण गोपालसँग जंगमको भेट ‘ओहो’ भन्ने खालको थिएन। जंगमले नारायण गोपाललाई पहिलो पल्ट एक प्रतियोगितामा भेटेका थिए। जंमले प्रतियोगिता जिते, नारायण गोपाल चाहिँ निर्णायक थिए।

त्यत्तिबेला जंगम नोटिस भएका थिए। पछि पुतलीसडकको नेपाल संगीत महाविद्यालयमा जंगम नारायण गोपालको भाइ मनोहरगोपाल गुरुवाचार्यसँग सँगै पढ्न थाले। गायक माणिकरत्नको भाइ पनि थिए। २०२१, २२ सालतिरको कुरा हो यो। शास्त्रीय संगीत सिक्ने क्रममा नारायण गोपालसँग भेटघाट पनि बाक्लो हुन्थ्यो। जंगम भन्छन्, ‘त्यो बेला उहाँहरु दाइ समूह, हामी भाइ समूह।’ मन्द मुस्कानमा जंगमले भने, ‘लामो समयपछि मात्र हाम्रो इन्टिमेसी भयो।’ भाइ मनोहरसँग जंगमको राम्रो सम्बन्ध भएकोले नै पारिवारिक जमघटमा पनि उनीहरु साथ साथ हुन्थे।

चिनजान धेरै अगाडि भएपनि उनीहरुले सँगै काम २०३६ सालबाट गरे। नारायाण गोपाल नाँचघरको जेनरल म्यानेजर भए, जंगम रत्न रेकर्डिङ कर्पोरेशनको। दुवैको अब संस्थागत सम्बन्ध भयो। त्यसपछि नारायण गोपालको ‘एल पी’ गर्ने योजना बन्यो, ‘एल पी’ भनेको ‘लङ्ग प्ले’ थियो। एउटा गायकले लामो समयसम्म निरन्तर गीत गाएर एउटा सिडी बनाउँथ्यो, यो कामलाई ‘रेकर्ड राख्ने’ भनेर बुझिन्थ्यो। यसले नै गायकको स्तर पहिचान हुन्थ्यो। यसपछि गायक प्रतिष्ठित हुन्थे।

२०४१ सालतिर नारायण गोपालले एल पी रेकर्ड भयो, शम्भुजित बास्कोटाको दुई ओटा, चन्दन लम्जेलको एउटा, बाँकीमा नारायण गोपालको आफैँ संगीत गरे। जम्मा १० ओटा रेकर्ड भए। ‘मलाई नसोध, कहाँ दुख्छ घाउ, प्रियसीका यादहरु, पर्खिबसे आउला भनी’ बोलका गीत यो लटमा रेकर्ड भएका हुन्। यो प्रोजेक्टको लागि दुई वर्ष लाग्यो, धेरै मेहनत भयो। गीत यहाँ रेकर्ड भएपनि डिस्क रेकर्ड जापानबाट मात्र हुन्थ्यो। यसले नारायण गोपाललाई एक किसिमको प्रसिद्धिमा पुर्‍यायो। यतिबेला दिपक जंगमको संगीतकारको पहिचान बन्दै थियो।

यसपछि म्यजिक नेपालको स्थापना भएको बखतमा नारायण गोपाललाई एउटा एल्बम निकाल्ने आग्रह आएछ। उनले दिपक जंगमलाई सँगै काम गरौँ भनेछन्। जंगमले नाइँ भनेनन् र २०४४ सालतिर उनीहरु गीति यात्राको तयारीमा लागे।

नारायण गोपाल र चाँदनी शाहको सम्बन्ध बाहिर व्याख्या भएको जस्तो सम्बन्ध थिएन

जंगमका अनुसार भएको भन्दा फरक कुराहरु बाहिर आएका छन्। ‘मैले पनि दरबारसँग नारायण दाइको सम्बन्ध नराम्रो भएको कुरा सुनेको हुँ। तर ‘एउटा मान्छेको मायाले कति’ बोलको गीत रेकर्ड गर्दा सोधेको थिएँ। उहाँले ‘मलाई त्यहाँ बोलाएका छैनन, म आफैँ त्यहाँ गएको छैन। म राजनीति गर्ने मान्छे पनि होइन। मलाई केही कुरा थाहा छैन’ भने। त्यसपछि हामीले काम गर्‍यौँ।’

संगीतकार दीपक जंगम। फाेटाे: जंगमकाे फेसबुकबाट।

गीत र कामको प्रशंसा भएपछि नारायण गोपालले नेपाली संगीतको विकासको लागि केही काम गर्न रानीलाई अनुरोध गर्ने विचार गरे। उनले रानीका सचिवलाई प्रस्ताव राखेपछि अस्वीकार भयो। ‘रानीले पुरुषलाई भेट्नुहुन्न भनेपछि नारायण गोपाल बिच्किए, त्यसपछिको अर्को काम दरबारसँग हुन सकेन।’

पछि जाडो छल्न राजारानी सुर्खेत पुगेको बेलामा नारायण गोपालको साँगीतिक कार्यक्रम भयो। रानीले प्रस्तुति हेरेपछि नमस्कार गरेर ‘तपाईँले मलाई जनताको बनाइदिनुभयो’ भनेपछि नारायण गोपाल मख्ख परेछन्। जंगमलाई काठमाडौँ फर्केपछि ‘दरबारका मान्छे बाहिर देखिएजस्ता नहुँदा रैछन्’ भनेका थिए रे। त्यसपछि अरु काम गर्ने भन्ने सल्लाह भएपनि काम पूरा हुन भने पाएन।

पछि पछि जंगमले नारायण गोपालसँग काम गर्न पाएनन्। आफ्नै काममा व्यस्त भए। र, उनको देहान्त भयो। बाबु आशागोपाल गुरुवाचार्यको प्रेरणाले गायक भएका गोपालले नेपाली संगीतको इतिहासमा अमिट छाप छोडेर गए।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्