१० दिनको अस्पताल बसाइपछि आज प्रधानमन्त्रीको डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ– १० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो ३ बजे डिस्चार्ज हुने भएका छन्।

एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि बिहीबार बालुवाटार फर्किन लागेका हुन्।

चिकित्सकले उनलाई थप संक्रमणबाट जोगाउन केही दिन अझै अस्पताल राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उनलाई बिहीबार नै डिस्चार्ज गरिन लागेको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसबारे ट्वीटमार्फत औपचारिक जानकारी दिएका छन्।

ओलीको भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । उनलाई संक्रमणबाट जोगाउन अस्पतालबसाई अवधिभर आईसीयुमै राखेर उपचार गरिएको छ। उनी बिहीबार आइसीयुबाटै बालुवाटार जाँदैछन्।

एपेन्डिसाइटिसको उपचार भए पनि ओलीले नियमित डायलासिस गर्नुपर्ने अवस्था कायमै छ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले गत कार्तिक १३ गतेदेखि नियमितरुपमा डायलासिस गर्दै आएका छन्। र, उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणबारे चिकित्सकले सल्लाह गरिरहेका छन्।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू