नेपालगञ्‍ज-चिसो बढ्दो छ। घाम प्यारो लाग्ने दिन शुरु भइसकेको छ। जानकी गाउँपालिका–३, बन्जारे गाउँको आधारभूत विद्यालयको चौरमा विद्यार्थीहरु पढिरहेका छन्। घामको मज्जा पनि लिदैछन्।

चौरमा पढिरहेका विद्यार्थीको ‘गोलाकार’ आकार सानो देखिन्थ्यो। ठूलो गाउँमा रहेको स्कूलमा विद्यार्थी किन थोरै ? जोकोहीलाई उत्सुकता लाग्न सक्छ। नेपालगञ्ज बजारदेखि मुश्किलले चार किलोमिटर टाढा रहेको यो स्कूलमा विद्यार्थी संख्या त ठिकै रहेछ। दैनिक आउनेको संख्या रजिष्टरको भन्दा फरक हुँदोरहेछ।

प्रधानाध्यापक आदित्यकुमार बर्माका अनुसार, २ सय ४५ जना विद्यार्थी छन्। बालविकासमा २६, कक्षा १ मा ३२, २ कक्षामा २७, ३ कक्षामा ३४, ४ कक्षामा २८, ५ कक्षामा ३१, ६ कक्षामा १८, ७ कक्षामा ११ र ८ कक्षामा १२ जना विद्यार्थी छन्।

प्रधानाध्यापक बर्माले भने जति विद्यार्थी ‘कक्षा कोठा’मा त देखिएनन्। चौरमा बसेका सानो समूहले स्कूलको रजिष्टरको संख्यालाई गिज्याइरहेको थियो। १२ जना रहेको आठ कक्षामा जादा ७ जना, ३१ जना रहेको पाँच कक्षामा जादा १५ जना विद्यार्थी भेटिए। रजिष्टरको संख्या र कक्षा कोठाको उपस्थिति आधाआधी नै फरक थियो।

किन सबै विद्यार्थीहरु स्कूल आउदैनन् ? प्रधानाध्यापक बर्माले प्रष्ट रुपमा भने, भर्ना भएकाहरु सबै कक्षामा उपस्थित हुँदैनन्। उनीहरु वर्षमा कम्तीमा दुई पटक स्कूलमा आउँछन्। त्यो भनेको छात्राबृत्ति वितरण हुँदा र परीक्षामा।’

प्रधानाध्यापक बर्माका अनुसार, आमाबुवा काम गर्न खेतमा जादा बालबालिकाहरु स्कूल नआएर घर कुर्न बस्छन्। रोपाई, धान काट्ने बेला होस् या आमा माइती जादा बालबालिका स्कूल आउँदैनन्। विद्यार्थीलाई नियमित गराउन साह्रै गाह्रो छ।

स्कूलको गेटमै रहेको घरलाई देखाउदै प्रधानाध्यापक बर्मा भन्दै थिए कि ती बच्चाहरु भर्ना त भएका छन्। तर, स्कूल आउँदैनन्। नयाँ शैक्षिक सत्र शुरु हुनु अघि विद्यार्थी, व्यवस्थापन समितिका साथै गाउँका अगुवाहरु बाजागाजाका साथ घरघरमा पुगेर उमेर समूहका विद्यार्थीलाई भर्ना गर्ने गर्दछन्।

यसरी भर्ना भएका विद्यार्थी भने ‘गोल’ नै हुने गरेका छन्। बीचैमा कक्षा छोड्ने (ड्रपआउट) पनि धेरै छैन, बन्जारे गाउँमा। खाली नियमित नआउने समस्या ठूलो रहेको छ।

मधेसी समुदाय बाहुल्य रहेको स्कूलमा नियमित स्कूल नआउने समस्या अरु समुदायको भन्दा बढी नै रहेको छ। जिल्लाको दक्षिणभेगका स्कूलमा यस्तो समस्या बढी रहेको छ।

जान्नेबुझ्ने र हुनेखाने धनीवर्गले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र गरीवले सकेसम्म छोराछोरीलाई भर्ना नै नगर्ने र गरिहाले पनि नियमित पठाएको पाइदैन। सरकारले उमेर समूहका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने अभियानहरु चलाउदा बालबालिका विद्यालय त प्रवेश गर्छन् तर टिकाउ हुने गरेको छैन।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्