डिस्चार्ज भए प्रधानमन्त्री ओली

ओलीले अस्पतालमा पटकपटक सुने नवीन के भट्टराईको गीत ‘ए झरी नझरीदेऊ यसरी….’

डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली। तस्बिर: बर्षा शाह

काठमाडौँ- १० दिनको अस्पताल बसाइपछि बिहीबार दिउँसो डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओलीको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ।

आइसियुबाटै डिस्चार्ज भएर घर फर्केका केपी ओलीलाई चिकित्सकहरुले कम्तीमा एक साता आराम गर्न सुझाए पनि उनले भने आजै साँझदेखि काममा थाल्ने जानकारी दिएका छन्।

अस्पताल बसाइका क्रममा ओलीले कयौँपटक गायक नवीन के भट्टराईले गाएको ‘ए झरी नझरिदेऊ यसरी… ‘ बोलको गीत सुनेको जानकारीसमेत चिकित्सकहरुले दिएका छन्।

उनी बिहीबार दिउँसो ३ बजे डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएर जाँदै गर्दा ओलीले हाँस्दै भने- ‘म स्वास्थ्यमा सुधार भएर राम्रो भएर अस्पतालबाट डिस्चार्ज भएर घर जाँदै छु।’

एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा यही मंसिर १० गते भर्ना भएका ओली स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि बिहीबार बालुवाटार फर्केका हुन्। उनलाई केहीबेरअघि अस्पतालमै गएर राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरेकी थिइन्।

चिकित्सकले उनलाई थप संक्रमणबाट जोगाउन केही दिन अझै अस्पताल राख्ने सोच बनाएपनि ओलीले बालुवाटारमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि उनलाई बिहीबार नै डिस्चार्ज गरिएको हो।

ओलीको भर्ना भएकै दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने भोलिपल्टसम्म भेन्टिलेटरमा राखिएको थियो । उनलाई संक्रमणबाट जोगाउन अस्पतालबसाई अवधिभर आईसीयुमै राखेर उपचार गरिएको छ। उनी बिहीबार आइसीयुबाटै बालुवाटार फर्केका छन्।

एपेन्डिसाइटिसको उपचार भए पनि ओलीले नियमित डायलासिस गर्नुपर्ने अवस्था कायमै छ।

प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले गत कार्तिक १३ गतेदेखि नियमितरुपमा डायलासिस गर्दै आएका छन्। र, उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणबारे चिकित्सकले सल्लाह गरिरहेका छन्।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्